हस्तकलाबाट आत्मनिर्भर बन्दै तराई क्षेत्रका महिला

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ३ गते ३:०४

सांकेतिक तस्बिर

निर्मला घिमिरे

काठमाडौं। केही समय अगाडि चुलो चौकामा मात्र सीमित हुने तराइवासी महिला हस्तकलाबाट आत्मनिर्भर बन्दै आएका छन्। आफ्नो परम्परा संस्कृति अनुसार विभिन्न सीप भएका महिला व्यवासायिक तालिम नै लिएर खोलामा पाइने काँस र मुज घाँसजन्य वस्तुबाट विभिन्न हस्तकलाका सामग्री बनाएर व्यापार गर्न थालेपछि व्यवसायिकतातर्फ थप अग्रसर बनेका हुन्।

तराइवासी महिलालाई काँस र मुजबाट पेनहोल्डर, फूलदानी, डाली, वास्केट, खुत्रुके, ढकनी, टोपी, झोला, गमलालगायत निकै आकर्षक सजावटका सामग्री व्यवसायिक रुपमा नै बनाउन तीन महिने तालिम विभिन्न संघ सस्थाले दिएका थिए।

उनीहरु खोलाको छेउमा पाइने काँस र मुज काटेर घरसम्म ल्याउँछन् र सुकाएर मुजबाट रेशा निकाल्ने र आवश्यकता अनुसार विभिन्न रंगले रंग्याउने र हस्तकलाका आकर्षक सामग्री तयार पार्ने गर्छन्।

दाङ देउखुरीमा घर भएकी गिता चौधरी निकै मेहनत गर्छिन्। उनीसँग हस्तकलाका विभिन्न सामग्री बनाउने आफ्नै परम्परा अनुसारको कला पनि छ तर उनले हस्तकलालाई व्यवसायिक रुप दिन तीन महिना काँस र मुजबाट विभिन्न हस्तकलाका सामग्री निमार्ण गर्ने तालिम लिइन्।

उनले घरायसी काम र खेतबारीको कृषि कामका साथसाथै हस्तकलाबाट आत्मनिर्भर बन्ने अठोट गरिन्। गिता हस्तकलाका सामान बेचेर २० हजार देखि २५ हजार सम्म आम्दानी गर्दै आएको बताउँछिन्। केही वर्ष अगाडि घरबाट बाहिर निकस्कन डराउने उनी अहिले खेत र घरको काम समेत भ्याएर हस्तकलाका सामग्री बनाउने र मेला पर्वमा बजारसम्म पुर्याउने र बेच्ने गर्छिन्। उनले हस्तकलाबाट गरेको आम्दानीले घर खर्च चलाउन र दुईवटी छोरीको पढाइलाई अगाडि बढाउन सहयोग पुग्दै आएको उनले बताइन्।

हस्तकलाबाट आएको आम्दानीले घर खर्च चलाएपनि बजारको अभावमा भने जस्तो आम्दानी हुन नसकेको उनीहरुको गुनासो छ। गिताले गुनासो पोखिन्, ‘हस्तकलाका सामग्री त बनाइन्छ तर बेच्ने बजार छैन। गाँउघरमा यस्ता सामग्री थोरै मात्रै बिक्री हुन्छन्। विदेशीहरुले धेरै मन पराए पनि विदेशसम्म सामग्री लैजान सरकारले बजारको बिस्तार गर्न सकेको छैन।’

चुलो चौकाबाट हस्तकलातर्फ आकर्षित महिला उनीहरुले खोलामा पाउने घाँसबाट यस्ता आकर्षित हस्तकलाका सामग्री बनाउन सकेकोमा निकै हर्षित छन्। तर देशमा बजार सोचेजस्तो नहुँदा गुनासो समेत गर्छन्।

कपिलवस्तु बुद्धभूमि घर बताउने तुलसी थारु ३० वर्षकी भइन्। तुलसीले २०७१ सालदेखि नै हस्तकला सामग्री निमार्णको काम गर्दै आएकी छिन्। उनले पनि काँस र मुजबाट थुप्रै आकर्षक हस्तकलाका सामग्री निमार्ण गर्दै आएकी छिन्। तुलसीले भनिन्– काँस र मुज खोलामा एक मौसममा पाइन्छ जसलाई त्यहिबेला काटेर घरसम्म ल्याउने र राम्रोसँग सुकाएर फुर्सदमा हस्तकलाका सामग्री बनाउने गर्छु।’

उनले २०७१ सालमा ३ महिने हस्तकला सम्बन्धी तालिम लिएर व्यवसायिक रुपमा हस्तकलाको काम सुरु गरेकी हुन्। सुरुमा चुलोमा मात्र सीमित भएको बताउने तुलसी आफूले बनाएका सामान हेरेर आफै मख्ख पर्छिन्। उनले दंग पर्दै भनिन्, ‘मेला तिर सबैले कतिराम्रो सामान भनेर हेरिदिँदा पनि खुसी लाग्छ।’

तुलसी पनि घर र खेतबारीको कामसँगै हस्तकलामा व्यस्त हुन्छिन्। उनले हस्तकलाबाट राम्रो आम्दानी गर्दै आएकी छिन्। समय र व्यापार अनुसार मासिक २० देखि ३० हजारसम्म आम्दानी हुने उनले बताइन्। मौसम अनुसार एक सिजनमा मात्र काँस र मुज पाइने भएता पनि महिला भने वर्षभरी काम गर्न पुग्ने काँस र मुज संकलन गरेर घरमै राख्ने र फुर्सदमा विभिन्न सामग्री बनाउने गर्छन्।

कपिलवस्तु कै अस्मिता थारु पनि मुज र काँसबाट हस्तकलाका सामग्री बनाउन खप्पीस छिन्। उनले पनि हस्तकलाका सामग्री बनाउँन एक वर्ष अगाडि तीन महिनाको तालिम लिइन्। अस्मिता पनि हस्तकलाका सामग्री बनाएर अर्डर अनुसार सामान पठाउने र मेला पर्व तिर लैजाने गर्छिन्। उनले भनिन्, ‘दुख गरेर सामान बनाउँछु बजार छैन। बजार नभएपछि घरमा बनाएर राख्दा पनि मुुसाले खाइदिने हुँदा मेहनत सबै माटोमा मिल्छ।’

उनले देशमा काम गर्न वातावरण नभएकोले युवाहरु सीप भएर पनि दुख पाउनु परेको गुनासो पोखिन्। अस्मितासँगै हस्तकलाको काममा काम गर्ने अरु तीनसय भन्दा बढी महिलाहरु पनि तालिम लिएर हस्तकलाको काममा आबद्ध रहेको उनले बताइन्।

काँस र मुजबाट बनेका सामग्री जति आकर्षक छन् त्यो भन्दा निकै कठिन् छ काँस र मुज खोलाबाट काटेर घरसम्म ल्याउँन। मुज र काँस काट्दा हात काट्न्, हातमा एलर्जी हुने र बोकेर घरसम्म ल्याउँदा जीउभरी पनि एलर्जी हुने उनीहरु नै बताउँछन्।

केही समय अगाडि घर बाट बाहिर निश्कनु हुँदैन भनेर घरभित्रै चुलो चौकामा सीमित बनाइने तराइका महिला आत्मनिर्भर तिर अगाडि बढ्नु भनेको निकै गौरवको विषय बनेको छ तर नेपालमा उनीहरुले निर्माण गरेका हस्तकलाका सामग्रीको बजार सोचेजस्तो नहुँदा यो दुखको विषय बनेको छ।

नेपालमा भन्दा विदेशमा बढी माग हुने गरेका हस्तकलाका सामग्री विदेशमा निर्यात गर्ने उपयुक्त वातावरण नहुनुले स्वरोजगारमा संलग्न युवाहरुले सरकार सामु गुनासो पोखेका छन्।डिसी नेपालबाट

२०७५ मंसिर ३ गते ३:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर