अफ्रिका क्षेत्रीय बैठकः विकासका अनुभव आदानप्रदान हुने

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ३ गते ७:२२

काठमाडौँ,। नेपाल र अफ्रिकाबीच विकासका अनुभव आदानप्रदान गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को तेस्रो अफ्रिका क्षेत्रीय बैठक आगामी पुसमा पूर्वीअफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा हुने भएको छ ।

‘विकासका अनुभव एक आपसमा साट्दै’ भन्ने मूल नाराका साथ हुन लागेको सो क्षेत्रीय बैठकमा अफ्रिकी विज्ञ र अफ्रिकामा कार्यरत नेपाली विज्ञद्वारा अफ्रिका क्षेत्रका विकासका अनुभव आदानप्रदान हुनेछ । बैठकमा मानव तस्करी र अफ्रिकी पर्यटन उद्योगका अनुभव र नेपालमा अफ्रिकी लगानीकर्ताको लगानी अनुभवबारे कार्यपत्र प्रस्तुत र छलफल गरिने एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी दिए । सो क्रममा नेपाली श्रमिकले अफ्रिकाका विभिन्न देशमा भोग्नु परिरहेका समस्याका बारेमा समेत छलफल हुनेछ ।

आगामी पुस १४ र १५ गते हुने उक्त बैठकमा अफ्रिकाका १७ मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्य र अन्य महादेशमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिको सहभागिता रहने सङ्घले जनाएको छ । बैठकका क्रममा अफ्रिकी र नेपाली कलाकारको सांस्कृतिक प्रस्तुतिका साथै नेपाली भाषा साहित्य गोष्ठीसमेत आयोजना गरिने एनआरएनए राष्ट्रिय समन्वय परिषद् युगान्डाले जनाएको छ ।

२०७५ मंसिर ३ गते ७:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर