वाइडबडी विमान खरिदमा अनियमितताको आरोप : काँग्रेसद्वारा छानविनको माग

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ४ गते १२:३३

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वाइडबडी विमान खरिदमा अनियमितता भएको दावी गर्दै छानवीन गर्न माग गरेको छ।

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिदमा ठूलो आर्थिक अनियमितता गरेको दावी गर्दै छानवीन गर्न संघीय संसदको सार्वजनिक लेखा समिति बैठकमा माग गरेका हुन्।

मंगलबार बसेको समितिको बैठकमा उनले ५० औं वर्षसम्म मुलुकलाई आर्थिक भार पर्नेगरी विमान खरिदमा अनियमितता भएको सबै संचार माध्यामले उल्लेख गरेको स्मरण गराउँदै त्यसलाई छानवीनको दायरामा ल्याउन आफ्नो पार्टीको जोडदार माग गरेको पनि समितिलाई जानकारी गराए।

काँग्रेसको हालै सम्पन्न केन्द्रिय कार्य समिति बैठकले वाइडबढि विमान खरिदमा अनियमितता भएको ठहर गरेको नेता रिजालको भनाई छ। नेता रिजालले अनियमितताको आरोप लागेको सो विषयमा समिति चुप लागेर बस्न नहुने धारणा समेत राखे। निगमले नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौं प्रतिशत ब्याजमा २४ अरव ऋण लिएर दुई वटा वाईडबढि विमान खरिद गरेको थियो।

यसैबीच, सार्वजनिक लेखा समितिले वाईडबढि विमान खरिदबारे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग छलफल गर्ने भएको छ। समितिका सभापति भरतकुमार शाहले सो विमान खरिदका सम्बन्धमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई आगामी आईतबार समितिमा बोलाउने निर्णय गरिएको जानकारी दिनु भएको हो।

समितिको मंगलबारको बैठकमा काँग्रेस सांसद डा. मिनेन्द्र रिजालले सो सम्बन्धमा छलफल गर्न जोडदार माग गरेपछि समितिले मन्त्री अधिकारीलाई छलफलका लागि आईतबार समितिको बैठकमा बोलाएको हो। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव र निगम पदाधिकारीलाई पनि बोलाउने समितिले जनाएको छ।

समितिका सभापति शाहले व्यवस्थापन पार्टनर खोजेर मात्रै विमान खरिद गर्न तत्कालीन सार्वजनिक लेखा समितिले दिएको निर्देशनविपरित काम गरेको भन्दै निगमको चर्को आलोचना पनि गरेका थिए। समितिको मंगलबारको बैठकमा चिनीलगायतका दैनिक उपभोग्य बस्तुको बजार मूल्य नियन्त्रणसम्बन्धि उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा पेश गरिएको थियो।

२०७५ मंसिर ४ गते १२:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर