नयाँ संविधान जारी भएपछि अङ्गीकृत नागरिकता लिने बढ्दै

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ५ गते ९:१५

लमही,। नयाँ संविधान जारी भएपछि दाङबाट अङ्गीकृत नागरिकता लिने बढ्दै गइरहेका छन् ।

२०७२ असोजमा जारी भएको नयाँ संविधानमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले अङ्गीकृत नागरिकता पाउने व्यवस्था भएपछि जिल्ला प्रशासन कार्यालय दाङले अहिलेसम्म ९१ वटा वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार आर्थिक वर्ष २०७२÷०७३ को असोजदेखि असारसम्म २६ जना, आव २०७३÷०७४ मा २१ जना, २०७४÷०७५ मा ३३ जना र चालू आवको अहिलेसम्म ११ ले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् ।

अङ्गीकृत नागरिकता लिने अधिकांश नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको जिल्ला प्रशासन कार्यालय दाङका सूचना अधिकारीसमेत रहनुभएका आचार्यले बताए । २०७३ असोज ३ मा संविधान जारी भएको संविधानले नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले अङ्गीकृत नागरिकता पाउने व्यवस्था गरेको छ । यसअघिको संविधानमा समेत यस्तो व्यवस्था थियो ।

अहिलेसम्म जिल्ला प्रशासन कार्यालय दाङले जम्मा ३९१ वटा वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा बलदेव बस्नेतले जानकारी दिए । उनका अनुसार विवाह दर्ता, पतिको नागरिकता, विदेशी नागरिकता परित्याग गरेको निस्सा वा प्रमाण, हुलाकको रजिष्ट्ररी गरेको रसिद र शपथपत्रसहितको आवेदन दिएको प्रमाणका आधारमा भारतीय महिलाले वैवाहिक अङ्गीकृत नागरिक प्राप्त गर्ने व्यवस्था रहेको छ । यी सबै प्रक्रिया पूरा गरेर आएको निवेदनलाई जिल्ला प्रशासन कार्यालय दाङले नागरिकता दिने गर्दै आएको उनको भनाइ छ ।

नयाँ संविधानले अङ्गीकृत नागरिकलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, सुरक्षा प्रमुखबाहेक जुनसुकै पदमा पुग्न पाउने अधिकारको प्रत्याभूति गरेको छ ।

अङ्गीकृत लिन यस्तो छ व्यवस्था

नेपालको संविधान २०७२ को भाग २ अनुसार नेपाली नागरिकता वंशज, अङ्गीकृत र आवासीय गरी तीन प्रकारले पाउन सकिने व्यवस्था छ । अङ्गीकृत नागरिकता पनि दुई प्रकारले पाउन सकिने व्यवस्था छ, वैवाहिक अङ्गीकृत र जन्मको आधारमा ।

नेपालको कानूनअनुसार विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाका श्रीमान्ले अङ्गीकृत नागरिकता पाउने सवालमा ती विदेशी लगातार १५ वर्ष नेपालमा बसेको हुनुपर्ने र आफ्नो देशको नागरिकता त्यागेको हुनुपर्ने विद्यमान व्यवस्था छ तथापि नेपाली पुरुषको हकमा विदेशी महिलासँग विवाह गरेको भोलिपल्टै ती विदेशी महिलाले नागरिकता पाउने प्रावधान छ ।

त्यसैगरी नेपाली आमा र विदेशी बाबुको सन्तानले अङ्गीकृत नागरिकता पाउने तर विदेशी बाबुले नेपाली नागरिकता पाइसकेको खण्डमा भने सन्तानले वंशजको आधारमा नागरिकता पाउने प्रावधान नेपालको कानूनमा छ । रासस

२०७५ मंसिर ५ गते ९:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर