पोखरा त स्वर्गकै टुक्रा रहेछः ‘फिलिपिनो राजकुमारी’

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ६ गते १३:२६

चिप्लेढुङ्गा । सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गरेकी छिन्।

पहिलो पल्ट पोखरा आएकी उनले हिमालका दृश्य र तालले आफूलाई निकै लोभ्याएको बताइन्। उनी थाइल्याण्डका शान्तिदूत अपिनिता चाइचानसँग नेपाल आएकी हुन्। चाइचान पश्चिम मकवानपुरको मनहरी गाउँपालिका– ८ सिमपानीमा बन्दै गरेको आमाघर (मदर प्रोजेक्ट) का कार्यकारी अधिकृत हुन्।

सोही अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराको विशेष निमन्त्रणमा पोखरा आएकी डा अमोरले विश्वका विभिन्न देश घुमेको अनुभव सुनाउँदै पोखराको सौन्दर्यको वर्णन गरिन्। “एशियाको स्वीट्जरल्याण्ड भनेर चिनिने पोखरा अवर्णित शहर रहेछ। यहाँको वातावरण नै रमणीय लाग्यो। प्राकृतिक दृश्य पनि उस्तै लोभलाग्दो, मान्छे झनै सुन्दर”, उनले पोखरा आउनुअघि नै पोखराको सुन्दरताको निकै चर्चा सुनेको र यो ठाउँमा आउन तीव्र इच्छा रहेको बताइन्।

उनले अल्ट्रालाइटबाट माउण्टेनको दृश्य अवलोकन गर्ने रहर छ भन्दै मौसम कति बेला खुल्छ भनेर कुरिरहेको बताइन्। पोखराको केआइ सिंह पुल पुगेर हिमालबाट बगेको पानीलाई शरीरमा छर्कँदै नजिकै रहेको शिव मन्दिरमा पूजारीको हातबाट उनले टीकासमेत लगाइन्। उनीसँगै रहेका सामाजिक अभियानकर्मी चाइचानाले पनि पोखराका दृश्य लोभलाग्दो भएको प्रतिक्रिया दिए।

उनीहरुले पोखराको आसपास र फेवातालमा डुङ्गा चढेर बाराहीको दर्शन गरेका हुन्। हरेक धर्मले एकार्काबीच सम्बन्ध स्थापना गरेर मानवीय सेवामा लाग्न प्रेरणा दिन्छ भन्दै धर्मका नाममा मानव मानवबीच भइरहेका द्वन्द्व धर्मविरोधी भएको प्रतिक्रिया दिए।

ट्राभल प्रिन्सेसको नामले समेत प्रसिद्धि पाएकी डा मारियाले शिक्षा स्वास्थ्यबाट वञ्चित र सीमान्तकृत वर्गका क्षेत्रमा विश्वव्यापी रुपमा भ्रमण गरेर विशेष योगदान पुर्याउँदै आएकी छिन्। त्यसैगरी चाइचान पनि नमोबुद्ध क्लबका अध्यक्ष हुन्। सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएका उनी अन्तर्राष्ट्रिय महिला शान्ति समूहका शान्तिदूतसमेत हुन्।

२०७५ मंसिर ६ गते १३:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर