सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला आयोजना बन्ने

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ६ गते १३:३६

काठमाडौँ । एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण हुने भएको छ।

करीब रु पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ। नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच आज विद्युत् खरीद सम्झौता भएको छ।

प्राधिकरणमा आज आयोजित एक समारोहमा प्राधिकरणका योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका अध्यक्ष जगत पोखरेलले हस्ताक्षर गरे।सम्झौताअनुसार उक्त आयोजनाबट उत्पादित विद्युत् बर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ।

आयोजनालाई आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कास्कीको माछापुच्छ्रे गाँउपालिकाको भराभुरी भन्ने स्थानमा आयोजना निर्माण हुनेछ। आयोजनामा स्थानीयबासीलाई समेत शेयर दिइने प्रवद्र्धक कम्पनीले जनाएको छ। बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न लुम्बिनी भिजनले सो आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड स्थापना गरेको हो।

प्रवद्र्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्ति मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरुले बढीभन्दा बढी नागरिकलाई लगानीकर्ताको रुपमा सहभागी गराएको जानकारी दिए। उनका अनुसार आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ। स्वपूँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइनेछ।

माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष कर्ण गुरुङले लामो समयदेखि बगीरहेको सेतीलाई आर्थिक विकास र समृद्धिको लक्ष्य पहिल्याउने गरी आयोजना निर्माण शुरु हुन लागेकोमा खुसी व्यक्त गर्दै गाँउपालिकाको तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरे।

आयोजनाबाट उत्पादित विद्युत् कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सवस्टेशनमा जोडिनेछ। हस्ताक्षरपछि संक्षिप्त मन्तव्य दिदै प्राधिकरणका उपकार्यकारी निर्देशक सिंहले धेरै नागरिकलाई सहभागी गराएर निर्माण गर्न लागिएको आयोजनालाई समयमै सम्पन्न गर्न आग्रह गरे। उनले आयोजनालाई प्राधिकरणको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाए।

२०७५ मंसिर ६ गते १३:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर