किन नियन्त्रण हुन सकेन वैदेशिक रोजगारका नाममा ठगी?

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ७ गते २:५५

निर्मला घिमिरे

काठमाडौं। वैदेशिक रोजगार विभाग बुद्धनगरमा वैदेशिक रोजगारका नाममा भएको ठगीका सम्बन्धमा पर्ने उजुरीको संख्या गत कात्तिक महिनामा घटेकोे छ। कात्तिक महिनामा दशैँ, तिहार, छठ जस्ता पर्वका कारण सार्वजनिक विदामा विभाग बन्द भएकोले पनि पीडितको उजुरी संखयामा अन्य समयको भन्दा कमी आएको विभागले जनाएको छ।

कात्तिक महिनामा व्यक्तिगत उजुरी ४३ वटा र संस्थागत उजुरी ४८ वटा मात्र परेका छन्। यस भन्दा अघिल्लो असोज महिनामा व्यक्तिगत उजुरी ८९ वटा र संस्थागत उजुरी १ सय ४२ वटा उजुरी विभागमा दर्ता गराइएको थियो। कात्तिक महिनामा ५० प्रतिशत भन्दा बढी उजुरीमा कमी भएको विभागको तथ्यांकमा उल्लेख छ।

वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागार्इँ भन्छन्, ‘वैदेशिक रोजगारका नाममा ठगी त उस्तै छ, ठगी घटिसकेको भन्न त मिल्दैन। कात्तिक महिनाको विभागको तथ्यांकमा उजुरी संख्या घट्नु भनेको चाडवाडका कारण विभाग बन्द भएर पनि हो।’ निर्देशक गुरागाँइका अनुसार विभागमा उजुरी घट्नुमा मलेशियामा कामदार नपठाउनु पनि एउटा कारण हो। मलेशिया जाने नाममा पनि थुप्रै ठगीका मुद्दाहरु आउँथे। सरकारले मलेशिया कामदार पठाउन रोक लगाएपछि मलेशियाका नाममा ठगीका उजुरी आउन छाडे।

विभागमा भने अझै पनि मलेशिया कामदार जान रोक लगाउनु भन्दा अगाडिदेखि ठगिएका पीडितका गुनासा आउन छाडेका छैनन्। कतिपय उजुरीहरु महिनौँदेखि विचाराधीन रहेको विभागले जनाएको छ। मलेशिया पठाइदिन्छु भनेर एक लाख भन्दाबढी पैसा असुलेर म्यानपावर तथा बिचौलियाले मलेशिया नपठाएको र पैसा पनि फिर्ता नदिएका उजुरी विभागमा अझै आउने गरेको विभागले जनाएको छ।

विभागका निर्देशक गुरागाँई भन्छन्, ‘उजुरी दिएको २४ घण्टा भित्र मुद्दा हामीले हेर्छौँ। ठगी गर्ने म्यानपावरलाई र विभागमा बोलाउँछौं। पीडित र पीडकलाईसँगै भेटाएर कुरा राखेका छौँ, म्यानपावरले अटेर गरेमा कारोबार रोक्का गरेका र्छौँ। म्यानपावर पनि कहाँ भाग्ला र काम गर्नै परे विभाग आउँछ। पीडितको उद्धार गर्न बाध्य हुन्छ।’

म्यानपावर कम्पनीले ठगी गरेको रकम पीडितलाई दिन अटेर गरेमा म्यानपावरको धरौटी रकमबाट कटाएर पीडितलाई दिने व्यबस्था विभागले गर्ने गरेको भएपनि यो प्रकृया लामो र झन्झटिलो हुने निर्देशक गुरागाँइ बताउँछन्।

चालु आर्थिक वर्षको ४ महिनामा व्यक्तिगत उजुरी ३ सय ८६ र संस्थागत उजुरी ४ सय ३४ गरि कुल ७ सय ५५ वटा उजुरी विभागमा परेको विभागको तथ्यांकमा उल्लेख छ। एउटा काम भनेर अर्को काममा पठाउने, काममा पठाउँने भन्दै पैसा असुलेर काममा नपठाउने, नक्कली भिसा दिने, विदेश पठाएपछि पनि काम नपाएर अलपत्र परेर वस्नुपर्ने जस्ता पुरानै प्रकृयाबाट नेपाली श्रमिकलाई बिचौलिया तथा म्यानपावर कम्पनीले नै ठग्दै आएका गुनासा विभागमा आउने गरेका छन्।

कात्तिक महिनामा मात्रै व्यक्तिगत उजुरीमा २५ करोड ३ लाख ७२ हजार रुपैयाँ ठगिएको दावी गरिएको छ। यस महिनामा विभागले ४३ लाख ७० हजार रकम विगो भराएको छ। व्यक्तिगत तर्फ कात्तिक महिनामा ४ वटा मुद्दा मात्र फरफारक ९लेनदेनको हिसाब किताव० मार्फत मिलाएको विभागको तथ्यांकमा उल्लेख छ। व्यक्तिगत तर्फ ७ वटा मुद्दा विचाराधीन छन्। ९१ लाख ८४ हजार भन्दाबढी रकम अदालतमा विगो भराएको उल्लेख छ।

संस्थागततर्फ कात्तिक महिनामा परेका ४८ वटा उजुरीमा २७ वटा मुद्दाहरु फरफारक मार्फत मिलाएको विभागको तथ्यांकमा उल्लेख छ । संस्थागत तर्फ विभागमा १ करोड ५७ लाख भन्दाबढी रकम ठगीको दावी गरिएको छ। २० लाख भन्दाबढी रकम विगो भराएको विभागको तथ्यांकमा उल्लेख छ।

चालु आर्थिक वर्षको ४ महिनामा ७ सय ५५ वटा उजुरी परेकोमा २ सय ५४ वटा जाहेरी मुद्दाहरु फरफारक गरिएको छ। अदालतमा ५९ वटा मुद्दा दायर गरिएको विभागले जनाएको छ। ४ महिनाको अबधिमा ३२ करोड भन्दा बढी रकम ठगी भएको दावी गरिएको छ। जसमा ५ करोड भन्दाबढी रकम विगो भराइएको छ। ८ करोड १७ लाख रकम अदालतमा विगो दावी गराइएको छ। विभागले जरिवाना निर्णय भने ११ लाख रुपैयाँ तोकेको छ। डिसी नेपालबाट साभार

२०७५ मंसिर ७ गते २:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर