किन घटेन वैदेशिक रोजगार विभागमा श्रम स्वीकृति लिनेको चाप ?
आजको खबर | प्रकाशित : २०७५ मंसिर १० गते ६:५८

काठमाडौं। वैदेशिक रोजगार विभाग ताहाचलमा सेवाग्राहीले श्रम स्वीकृति लिन घण्टौँ लाइन बस्नुपर्ने समस्या अनलाइन प्रणालीले पनि हटाउन सकेको छैन। पूर्व, अन्तिम तथा पुन श्रम स्वीकृति लिनको लागि सेवाग्राही विभागको बाहिर बाटोमा लामो लाइन बस्नुपर्ने समस्या यथावत रहेको छ।
बिहान ६/७ बजेदेखि बेलुकासम्म कामका लागि लाइन बस्ने समस्या रहेको सेवाग्राहीले बताउँदै आएका छन्। विभागमा यसरी सेवाग्राही घण्टौँ लाइन बसेर पनि काम नहुने भएपछि बिचौलियाको चलखेल बढेको विभागले जनाएको छ। ‘सेवाग्राहीलाई लाइन बस्नु पर्दैन पैसा दिएपछि हामी काम छिटो गराइदिन्छौँ’ भन्ने बिचौलियालाई विभागले पक्राउ गरी कारवाही समेत गर्दै आएको विभाग प्रमुख युवराज खतिवडाले जानकारी दिए।
विभाग प्रमुख खतिवडाले भने, ‘विभागमा विचौलियाको चलखेल हुन नदिन र सबै सेवाग्राहीको हितलाई ध्यानमा राखेर बाहिर बाटोमा घण्टौँ लाइन बस्न नपर्ने गरी नयाँ व्यवस्था गर्दैछौँ। अब सेवाग्राही श्रमस्वीकृतको लागि हामीले नयाँ विकल्प सोचिसकेका छौँ।’
उनका अनुसार विकल्पमा सेवाग्राहीलाई श्रम स्वीकृतिको मिति तोकिदिने र श्रम स्वीकृतिको लागि जुन दिनको मिति तोकिएको छ त्यही दिनका सेवाग्राही मात्र विभागमा आउने व्यववस्था गरिने भएको छ। खतिवडाका अनुसार यही मंसिर १६ गतेबाट मिति अनुसार सेवाग्राहीलाई सेवा प्रदान गर्ने व्यवस्था हुँदै छ।
चाडवाड मनाउन नेपाल आएका युवा चाडवाड लगत्तै फर्किने भएकाले अहिले वैदेशिक रोजगार विभागमा बिहानैदेखि दिनभर नै सेवाग्राहीको निकै चाप बढेको छ।
यस्ता छन् विभागमा सेवाग्राहीका गुनासा
वैदेशिक रोजगार विभाग ताहाचलमा भेटिएका मोरङका राजकुमार यादव विभागमा घण्टौँ लाइन बस्नुपर्दा गुनासो पोख्छन्। उनी वैदेशिक रोजगारको लागि कतार जान पुन श्रम स्वीकृति लिनका लागि विभागमा आएका थिए। यादवले भने, ‘अनलाइन प्रणाली भएपनि विभागमा समस्या पहिलेको जस्तै नै छ। यो भन्दा ३ वर्ष अगाडि पनि उनी यस्तै लाइनमा बसेर श्रम स्वीकृति लिएको थिएँ। विभागमा अझै केही परिवर्तन आएको रहेनछ।’
बुटवलका माधव पौडेल पनि दुवई जानको लागि पुन श्रम स्वीकृति लिनको लागि विहान ७ बजे देखि १२ बजेसम्म विभागको बाहिर लाइनमै थिए। माधव वैदेशिक रोजगारमा दुवई जान थालेको १० वर्ष भयो। दुवईमा पेन्टिङ काम गर्ने उनी भन्छन्, ‘विभागमा श्रम स्वीकृति लिन घण्टौँ लाइन बस्नुपर्ने समस्या हट्यो भनेर मिडियाले फुकेको फुक्यै थिए। समस्या भने उस्तै छ।’
श्रम स्वीकृति लिएर फर्कदै गरेका युवाहरु पनि विभागका कर्मचारीको कामसँग त्यति सन्तुष्ट देखिँदैनन्। वैदेशिक रोजगारमा जाँदा आफ्नै मुलुकमा झेल्नुपर्ने समस्याबाट सेवाग्राही चिन्तित देखिन्छन्।
विभागका कर्मचारीहरुले सेवाग्राहीलाई एक पटक घण्टौँ लाइन बसेर बल्लतल्ल काउन्टरसम्म पुगेपछि पनि एउटा गल्ती देखाएर सच्याएर आउ भन्दै पठाउने र त्यो गल्ती सच्याएर जाँदा फेरि अर्को गल्ती अर्को पटक देखाइ कामलाई लम्ब्याउने जस्ता क्रियाकलाप गर्ने गरेको विभागमा भेटिएका केही युवाहरुले गुनासो पोखेका छन्।
विभाग प्रमुख खतिवडाले भने विभागमा अब आउने मंसिर १६ गतेदेखि यस्तो समस्या नबल्झिने र श्रम स्वीकृतिको लागि आउने सबै सेवाग्राहीले सहज रुपमा श्रम स्वीकृति लिन पाउने व्यबस्था मिलाउने दाबी गरेकाछन्। डिसी नेपालबाट