पदयात्रा मार्गमा आन्तरिक पर्यटक बढ्दै

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ११ गते ५:०१

वासुदेव पौडेल

टाडापानी,। “उहिलेउहिले त यस पदमार्गमा पदयात्रा प्रयोजनका लागि आउने विदेशी मात्र हुन्थे, अहिले भने विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ”, कास्कीको घान्द्रुक–टाडापानी पदमार्गमा भेटिएका ख्रैम्राङ तामाङले भने ।

“मैले पर्यटकको सहयोगीका रूपमा काम थालेको १४ वर्ष भयो, अहिले ४३ वर्ष पुगेँ” अनुभव सुनाउँदै उनले थपे, “झण्डै ३० वर्षको अन्तरालमा चार÷पाँच वर्षयता भने पदयात्राकै लागि धेरै आन्तरिक पर्यटक आउन थालेका छन् ।” पदयात्रा मार्गमा बाह्यभन्दा आन्तरिक पर्यटक बढी आउने गरेको उनको भनाइ छ ।

पदमार्ग क्षेत्रमा होटल नहुँदा उनीहरूको खानपिन एवं समान ढुवानी आदि प्रयोजनमा भने ठूलै सङ्ख्यामा नेपाली नागरिक प्रयोग हुन्थे, तर केवल घुमफिर प्रयोजनका लागि भने होइन । पछिल्ला वर्षमा बढ्दै गएको घुमफिर संस्कृतिका कारण नेपाली पनि देशका विभिन्न भागमा घुम्ने क्रम बढेको छ । घुम्नुपर्छ भन्ने भावना विकसित हुँदै गएको पदयात्रा मार्गमा होटल व्यवसाय गर्दै आएका व्यवसायीको अनुभव छ ।

घान्द्रुक–पुनहिल पदमार्गमा पर्ने भैँसीखर्कमा होटल सञ्चालन गर्दै आउनुभएका हिलसाइड होटलकी सञ्चालिका पवित्रा गुरुङ पछिल्ला वर्षमा विदेशीको तुलनामा धेरै नेपाली पर्यटक पदयात्राका लागि आउने गरेको बताउछिन् । व्यवसायीले केही वर्षअघिसम्म विदेशी पर्यटकलाई प्राथमिकतामा राख्ने गरे पनि पछिल्लो समय भने आन्तरिक पर्यटकलाई प्राथमिकतामा राख्ने गरेका छन् । काठमाडौँबाट पुनहिलको पदयात्राका लागि आएका एनसीएम कलेज धोवीघाटका विद्यार्थी विप्लब केसीले पदमार्ग क्षेत्रमा होटल व्यवसायीले राम्रै आतिथ्यता दिएको अनुभव सुनाए ।

“होटलमा आन्तरिक पर्यटकलाई गरिने व्यवहार हामीले राम्रै पायौँ”, उनले भने । पदमार्ग क्षेत्रमा बिग्रेभत्केका बाटोलाई मर्मत गर्नु आवश्यक देखिएको उनको भनाइ छ । ठाउँठाउँमा आउने होटल एवं अन्य जानकारी दिने किसिमका सूचनापाटी राख्नुपर्ने उनको सुझाव छ । पदमार्ग क्षेत्रलाई सफा सुग्घर राख्न ठाउँठाउँमा फोहर विसर्जन गर्ने डस्विन व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकबाट शुरु हुने पदयात्रामार्गमध्ये भैँसीखर्कको उचाइ दुई हजार ४८० मिटर छ भने त्यहाँबाट माथि टाडापानीको उचाइ दुई हजार ६८० मिटर छ । यहाँ हुँदै तीन हजार २१० मिटरको पुनहिलमा पुगी पर्यटक फर्कने गर्दछन् । नेपालको पर्यटनमा पदयात्रा पर्यटनको आफ्नै विशिष्ट महत्व रहेको नेपाल पर्यटन बोर्ड पोखराका प्रशासन एवं कार्यक्रम अधिकृत प्रदीप गैरेले बताए ।

पदयात्रामा बढ्दै गएको आन्तरिक पर्यटकको आकर्षणलाई कायम राख्न पदमार्गका होटलको स्तरोन्नति, बाटो सुधार आदिमा राज्यको चासो पुग्नु अपरिहार्य भएको उनले बताए । पदयात्रामा आउने पर्यटकलाई मनोमानी शुल्क लिने प्रवृत्तिको अन्त्य गरिनु अपरिहार्य छ । विश्वको प्रख्यात पर्यटक गाइड लोन्ली प्लानेटले नेपालमा घुम्नैपर्ने १० पर्यटकीय गन्तव्यमा घान्द्रुक–पुनहिल पदमार्गलाई राखेका कारण पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण पदमार्ग क्षेत्रमा बढेको यहाँका व्यवासायी बताउँछन् । यस वर्षको दशैँपछि दैनिक ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यस पदयात्रामार्गमा आउने गरेको व्यवसायीले बताए ।

आन्तरिक पर्यटकका साथै चीन, मलेसिया, बेल्जियम, इटाली, जर्मनी, इजरायललगायतका देशबाट यस मार्गमा पदयात्रा लागि पर्यटक आउने गरेको घान्द्रुकस्थित लामा हेरिटेज रिसोर्टका व्यवस्थापक मुक्ति रानाले बताए । रानाका अनुसार दशैँपछि दैनिक ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पदयात्राका लागि आएका छन् ।

२०७५ मंसिर ११ गते ५:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर