सरकारको नौ महिनाः मौन प्रचण्डको पर्ख र हेरको नीति

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ११ गते ६:२१

दामोदर नेपाल

सरकार सही ढंगले अघि बढिरहेको छैन। आम नागरिक यसै भन्छन्। चोकचोकका चियापसलमा चर्चा छ। ‘कठिन समयमा लोकप्रिय बन्न सकेका प्रधानमन्त्री केपी शर्मा ओली सहज र शक्तिशाली प्रधानमन्त्री बनेका बेला झनै अलोकप्रिय भइरहेका छन्।’

अप्ठेरो अवस्थामा जनताको मन जित्न सक्ने प्रधानमन्त्री सहज र शक्तिसम्पन्न हुँदा झन् किन काम देखाउन सकिरहेका छैनन् उनै जानुन्। तर, सतहमै देखिएको एउटा कुरा के हो भने प्रधानमन्त्रीको टिम सही तरिकाले चलिरहेको छैन।

चलिरहेको होला तर जसरी चल्नुपर्ने थियो त्यसरी भने चलेको छैन। यदि प्रधानमन्त्रीको टिमले सही दिशा समातेको हुँदो हो त जनताले परिवर्तनको अनुभूति गर्न पाउने थिए। तर, जनताले त्यो अनुभूति गर्न पाएका छैनन्।

यो अवस्थामा नेपाली राजनीतिका एक निर्णायक पात्र आश्चर्यजनक तरिकाले मौन छन्। पछिल्लो दशक नेपाली राजनीतिमा ‘किंगमेकर’ बनेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मौनता धेरैलाई अनौठो लागेको छ। किनकि अहिले सत्तामा रहेको नेकपाभित्र उनी यस्ता पात्र हुन् जो सत्तापक्षभित्र प्रतिपक्षी भूमिकामा छन्।

पार्टीभित्र उनी प्रधानमन्त्री ओलीको समानान्तर हैसियतमा छन्। यो बेला प्रधानमन्त्री र उनको टिमले सही बाटो लिन नसक्दा उनले बोल्नुपर्ने हो। पार्टीभित्र उनी वाचडग हुन्। पार्टीमा दोस्रो अध्यक्षजस्तो आलंकारिक पद र राष्ट्रिय राजनीतिमा समेत कुनै कार्यकारी पद नलिएका प्रचण्ड किन मौन छन्।

हुन त पछिल्लो १ वर्ष प्रचण्ड पारिवारिक तनावमा रहे। उमेरमै एक्लो छोरा गुमाएको पीडाबाट अध्यक्ष प्रचण्ड अझै मुक्त हुन सकेका छैनन्। त्यसमाथि पत्नीको रोगी शरीरको उपचारमा यताउता भौंतारिनु परेको छ। पारिवारिक तनावले प्रचण्डलाई यतिसम्म थिचेको छ कि उनले छोरा प्रकाशको स्मृति दिवसमा प्रस्टै भने – तपाइँहरुको साथ नपाएको भए हाम्रो परिवार ‘विघटन’ भइसक्थ्यो।

‘विघटन’जस्तो गहन शब्द प्रचण्डले त्यसै उच्चारण गरेका होइनन्। यति हुँदाहुँदै पनि भुल्न नहुने कुरा के हो भने उनी प्रचण्ड हुन्। प्रचण्ड द किंगमेकर। उनीसँग क्षमता छ–हरेक कठिन परिस्थितिसँग जुध्ने। उमेरमै एक्लो छोरा गुमाएको केही दिनमै चुनावी अभियानमा निस्केका प्रचण्डले एक वर्षअघि नै प्रमाणित गरेका हुन्– उनी असहज परिस्थितिलाई पनि इच्छाशक्तिले जित्न सक्छन्।

अहिलेको प्रचण्डको मौनतालाई दुई उद्देश्यसँग जोडेर हेर्न सकिन्छ। पहिलो, उनी अहिलेको सरकारको यही ५ वर्षे कार्यकालभित्र प्रधानमन्त्री बन्न सक्छन्। दोस्रो, प्रधानमन्त्री बन्ने अवस्था नभएमा उनी पार्टीको अध्यक्ष बन्न सक्छन्। यो गतव्यसम्म पुग्नका लागि उनी न प्रधानमन्त्री केपी ओलीलाई चिढ्याउन चाहन्छन् न त माधवकुमार नेपाललाई नै चिढ्याउन चाहन्छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाले साथ दिएन र यो ५ वर्षे अवधिमा कार्यकारी पदमा उनी रहिरहने अवस्था भएन भने उनको विकल्पमा प्रचण्ड उदाउने संभावना छ। यस्तो अवस्थामा माधव नेपाललाई पार्टी अध्यक्ष बनाएर उनकै सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्नेछन्।

यदि प्रधानमन्त्री ओलीलाई स्वास्थ्यले साथ दियो र उनले यो ५ वर्ष कार्यकारीको रुपमै चलाउने भए भने त्यस्तो अवस्थामा प्रचण्डले ओलीसँगै पार्टी अध्यक्ष पद माग्न सक्छन्। ओलीलाई प्रधानमन्त्रीको रुपमा ५ वर्ष साथ दिने शर्तमा ओलीले पनि प्रचण्डको कुरा मान्नेछन्। किनकि अहिलेको सरकार गठन हुने बेलामा नै केही पूर्वमाओवादी नेताहरुले एक अध्यक्ष र एक प्रधानमन्त्री हुने कुरा उठाइसकेका हुन्।

त्यतिबेला पूर्व एमाले नेताहरुले यस्तो नहुने भन्दा पूर्वमाओवादी नेताहरुले ‘त्यसो भए प्रधानमन्त्री आलोपालो हुने’ भनेका थिए। ती पूर्वमाओवादी नेताहरुलाई आफ्नो पक्षमा राख्न पनि प्रधानमन्त्री ओली प्रचण्डलाई सहयोग गर्न तयार हुनेछन्।

प्रचण्ड दूरदर्शी नेता हुन्। उनले भोलिको आफ्नो राजनैतिक करिअर देखेका छन् । जीवनको उत्तरार्धमा देशको नेतृत्व गर्दै देशलाई एउटा दिशा दिएर त्यसको जस लिँदै जीवनपर्यन्त पनि स्मरणीय बन्ने उनको सोच हुन सक्छ। अर्कोतर्फ प्रचण्डसँग अहिले बोल्ने कुरा पनि छैन।

अहिलेको कठिन परिस्थितिमा प्रचण्डले ‘पर्ख र हेर’को नीति लिएका छन्। अहिले धैर्यतापूर्वक देशको राजनैतिक परिस्थिति बुझ्ने र भोलि अनुकूल परिस्थितिमा नेतृत्व लिएर जस पाउने काम गर्ने प्रचण्डको रोडम्याप देखिन्छ। डिसी नेपालबाट साभार

२०७५ मंसिर ११ गते ६:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर