पाकिस्तानसँग न्यूजिल्याण्डको लज्जास्पद हार

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ११ गते १३:२५

दुबइ। पाकिस्तानसँगको दोस्रो टेस्टमा न्यूजिल्याण्ड लज्जास्पद ढंगले पराजित भएको छ।

दुबइमा भएको दोस्रो टेस्टको चौथो दिनमा पाकिस्तानले न्यूजिल्याण्डलाई एक इनिङ र १६ रनले पराजित गरेको हो। पहिलो इनिङमा यासिर शाह एक्लैले ८ विकेट लिएपछि फलोअनमा परेको न्यूजिल्याण्डले दोस्रो इनिङमा पनि यासिर शाह नै चम्किएपछि पाकिस्तानसँगको स्कोर बराबरीसमेत गर्न सकेन।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले पहिलो इनिङमा ५ विकेटको क्षतिमा ४१८ रन बनाएपछि आफ्नो इनिङ समाप्तीको घोषणा गरेको थियो। पाकिस्तानका लागि हरिश सोहेलले १४७, बाबर आजमले नटआउट १२७, अजहर अलीले ८१ रन बनाएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डको इनिङ यासिर शाहले ध्वस्त पारे। शाहले एक्लै ४१ रन दिँदै ८ विकेट लिएपछि न्यूजिल्याण्ड ९० रनमै अलआउट भयो। पाकिस्तानको लागि अर्को १ विकेट हसन अलीले लिएका थिए। ब्राडली वटलिङ रनआउट भए।

पाकिस्तानले न्यूजिल्याण्डलाई फलोअनमा राख्दै दोस्रो इनिङ ब्याटिङ गर्न निम्तो दियो। तर, दोस्रो इनिङमा पनि यासिर शाहले एक्लै ६ विकेट लिएपछि न्यूजिल्याण्ड ३१२ रनमै अलआउट भयो।

एक्लै १४ विकेट लिएका यासिर शाह म्यान अफ द म्याच घोषित भए। पहिलो टेस्टमा नाटकीय रुपमा न्यूजिल्याण्डसँग ४ रनले हारेको पाकिस्तानले ३ टेस्टको सिरिज बराबरी गरेको छ। सिरिजको निर्णायक तेस्रो टेस्ट डिसेम्बर ३ मा सुरु हुनेछ।

२०७५ मंसिर ११ गते १३:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर