छेकेन प्रहरीको धरपकडले, निर्मलालाई न्याय दिलाउन माइतीघरमा विशाल प्रदर्शन (फोटो फिचर)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १५ गते १०:२४

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब चार महिना बितिसक्यो। तरपनि अझैसम्म अपराधी भने पक्राउ पर्न सकेको छैन। छोरी निर्मलाको बाबुआमाले हत्यारालाई जतिसक्दो चाडो पत्ता लगाई कडा कारबाहीको माग गर्दै आएका छन्।

निर्मलाको न्यायका लागि भनेरै उनका बाबुआमासहित केही महिलाअधिकारकर्मीहरु अनसन समेत बसे। तर केहीदिनअघि निर्मलाको बाबुको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उनको काठमाडौंको टिचिङ अस्पतालको इमर्जेन्सी वार्डमा राखेर उपचार भइरहेको छ। चारमहिनाको अवधिमा निर्मलाको न्यायका लागि भनेरै विभिन्न कार्यक्रम तथा प्रदर्शन समेत भए। तरपनि निर्मलाको परिवारले न्याय भने पाएनन्।

निर्मलाको न्यायको माग गर्दै शनिबार पुन माइतीघरमा प्रदर्शन गरिएको छ। बलात्कार विरुद्ध राष्ट्रिय अभियान नाम दिइएको उक्त प्रदर्शनमा स्वतस्फूर्तरुपमा नागरिकहरु सहभागि थिए। प्रदर्शनका क्रममा सहभागिहरुले गृहमन्त्री रामबहादुर थापाको चर्को आलोचना समेत गरे।

उनीहरुले सरकार भेटियो न्याय भेटिएन भन्दै सरकारलाई व्यङ्ग्य समेत हाने। माईतीघरबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वरमा आएर कोण सभामा परिणत भएको थियो। कोणसभामा उनीहरुले हिजो शुक्रबार निर्मलाको लागि न्याय मागिएको पोष्टर पोलमा टाँस्ने क्रममा भएको प्रहरी हस्तक्षेपको समेत विरोध गरे। पोष्टर टाँस्ने क्रममा प्रहरीले शुक्रबार १२ जनालाई पक्राउ गरेको थियो।

२०७५ मंसिर १५ गते १०:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर