प्रधानमन्त्री ज्यू ! हाम्रो गाउँ ट्युब मुक्त कहिले हुन्छ? (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १६ गते ८:१०

भूमिराज पिठातोली

काठमाडौं । ‘हिउँदे महिनामा सधैं ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्नुपर्छ, दर्जनौंले ज्यान गुमाइसके, फेरी कतिले ज्यान गुमाउनु् छ, थाहा छैन।’ डोटीको दिपायल सिगगढी नगरपालिका ३ बाँफीका हिक्मत साउदले डिसी नेपालसंग कुरागर्दै दुखेसो पोखे।

‘पहिले त काठको डुंगा बनाएको थियो, त्यसैबाट वार पार गथ्र्यौं, त्यसमा पनि धेरैले ज्यान गुमाइसकेका थिए।’ साउँदले भने, ‘केही वर्ष पहिले डुंगा भन्दा सजिलो ‘ट्युब’ हुन्छ भनेर ट्युब सञ्चालन गर्यौं। ट्युब सञ्चालनपछि पनि बाँफीमा दर्जन भन्दा बढीले ज्यान गुमाइसकेका छन्।’

चुनाबका बेला नेताहरु पनि त्यहि ट्युबमा ओहोरदोहोर गर्छन्। बाँफी बासीहरु त ती नेताहरु सुरक्षित नदी तरुन् भन्नका लागि एक्ला एक्ली यात्रा गराउँछन्। उनीहरुलाई आशा पनि के हुन्छ भने नेताहरुलाई त्यसरी सुरक्षित पुर्याएमा भोली झोलंगे पुलसम्म पनि बनाइदिन्छन् की भन्ने आशा हुन्छ। नेताहरु पनि भोट माग्ने बेला सधैं पुल बनाउने बचन दिएर नै चुनाब जित्ने गर्छन्।

२०० घरघुरी भएको बाँफी गाउँमा करिब ५/६ सय जनाको बस्ती छ। बाँफीबासीलाई सानोतिनो काम पर्दा दिनहुँ नदी वारपार गर्नुपर्छ। शिखर नगरपालिका २ मुडेगाउँ जोड्ने सेती नदी पारीको ट्युबमा त चुनाबको बेला ठूला ‘नेता’ भनाउँदाको सवारी हुन्छ। ३ ठाउँमा १र१ वटा ट्युब भएपनि सबै भन्दा बढी भागेश्वरबाट नै ओहोरदोहोर गर्छन्।’

 

तस्बीर : रमेश खडायतको फेसबुकबाट (स्थानीय तहको निर्वाचनमा भोट माग्दै नेताहरु) 

उद्योग वाणिज्य संघ डोटीका महासचिब दीपकबहादुर खड्काले भने, ‘नेताहरुले त दुहुनो गाई जस्तै बनाएका छन् त्यो गाउँलाई।’ भोट माग्ने बेलाका चिल्ला कुरा चुनाबपछि कहिल्यै हुँदैनन्। उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुँदा घोषणा गरेको तुइन तथा ट्युबहरुलाई बिस्थापित गरेर झोलुंगेसम्म बनाउने घोषणा गरेका प्रधानमन्त्री पनि बिर्सिए।’

बाँफीमा सेती नदी वारपार गर्नका लागि ३ वटा ट्युबहरु बनाइएका छन् जसमा गरुङ्गो सामानदेखि मान्छेलाई वारपार गराउँछन्। जब ट्युब चालक नभएको दिन त भागेश्वर नजिककैको बजारमा बास हुन्छ।’ स्थानीय हिक्मत साउँदले भने, ‘बर्षायाममा त भागेश्वरबाट बाँफी जानलाई दिपायलको पुल तर्नुपर्छ, जहाँ २ घण्टा भन्दा बढी हिड्नुपछर्।’ यो अवस्थालाई कसैले सम्झिएनन्।

गत वर्ष जिल्ला समन्वय समितिबाट झोलुंगे पुलको योजना आयो। त्यसमा ठेकेदारको कमसल कामले गर्दा प्रयोगमा नआउँदै पुल भत्कियो। पुलले मुहारमा खूशी पलाएका बाँफीबासीलाई फेरि पुल भत्किदा झनै पिरलेको छ। वर्षौंपछिको प्रयासले आएको पुल पनि बिचमै भत्किदा बाँफीबासीहरु चिन्तित बनेका छन्।

पछिल्लो समय स्थानीय सरकार तथा जनप्रतिनिधिको कुनै विश्वास लाग्दैन। उनीहरुले पुल बनाउँलान् भन्ने विश्वस्त नै छैनन्। वर्षौदेखिका ‘पुल बनाइदिन्छौं भोट देउ’ भन्ने नेताहरु आज पनि त्यहि शब्द दोहोयाइरहेका छन्। त्यसैले उनीहरुको विश्वास भने पटक्कै छैन भन्छन् स्थानीय गणेश साउँद। ‘अब हामीहरु सिर्फ प्रधानमन्त्रीलाई जबाफको पर्खाइमा छौं, त्यो ठाउँमा पुल कहिले बनाउनु हुन्छ?’ उनले भने।

बाँफीबासीहरु प्रश्न गर्छन्, ‘प्रधानमन्त्री ज्यू ! हाम्रो गाउँमा ट्युब मुक्त कहिले हुन्छ?’ गणेश साउँदले भने, ‘प्रधानमन्त्री ओलीले केही ठाउँमा त तुइनको ठाउँमा पुल बनाइ दिनुभयो रे, बाँफीमा पनि अब ट्युबको अन्त्य गरिदिए आभारी हुन्थ्यौं।’

बाँफी गाउँमा पुलको समस्या मात्र होइन, अन्य पूर्वाधारको पनि त्यस्तै समस्या छ, खानेपानी, शिक्षा, स्वास्थ र यातायातको पहुँचबाट पनि निकै टाढा छ। अरु समस्याका लागि स्थानीयले जनप्रतिनिधिका भाषण अनुसार आफ्नो ठाउँको मुहार फेर्लान् की भन्ने अपेक्षामा छौं, साउँदले भने। साभार: डिसी नेपाल

भिडियो 

 

२०७५ मंसिर १६ गते ८:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर