इन्धनको मूल्य वृद्धिविरुद्ध भएको हिंस्रक प्रदर्शनपछि फ्रान्समा संकटकाल घोषणाको तयारी

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १७ गते ४:१०

एजेन्सी। फ्रान्समा सरकारको विरोधमा हजारौं नागरिकको हिंस्रक प्रदर्शनपछि राष्ट्रपति इम्यानुअल म्याक्रोले आकस्मिक सुरक्षा बैठकको आह्वान गरेका छन्। सरकारका प्रवक्ताले शान्ति र स्थिरता बनाइराख्नकालागि संकटकाल घोषणा गर्न सकिने जनाएको बीबीसीले उल्लेख गरेको छ। तेलका कर बढाएको विरोधमा हजारौं मानिस सडकमा उत्रिएका छन्।

धेरै जसो नागरिकले शान्तिपूर्ण आन्दोलन गरेपनि केही प्रदर्शनकारीले प्रहरीमाथि नै हिंस्रक आक्रमण गरेका थिए। शनिबार भएको यो प्रदर्शनमा १०० भन्दै धेरै मानिस घाइते भएका छन्। ती मध्ये २३ सुरक्षाकर्मी पनि गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार ४०० भन्दो धेरैलाई पक्राउ गरिएको छ। विरोध प्रदर्शनमा फ्रान्सको प्रसिद्ध स्मारक अख द ट्रियोम्फमा पनि क्षति पुगेको छ।

आइतबार साँझ राष्ट्रपति म्याक्रो अर्जेन्टिनामा आयोजित जी–२० सम्मेलनबाट फर्किएपछि ‘अख द ट्रियोम्फ’ मा भएको क्षतिको विवरण लिन पुगेका थिए। सरकारका प्रवक्ता बेंजामिन ग्रिवेअक्सले युरोप वान रेडियोसँग भने–संकलकालको विकल्प छैन। सरकार यस्तो घटना फेरि नदोहोरियोस भन्ने सुनिश्चित गर्न चाहन्छ।’

प्रदर्शनकारी को हुन्?

सबै प्रदर्शनकारी पँहेलो कपडामा थिए। उनीहरु पेट्रोलमा कर बढाएपछि निकै आक्रोशित भएका छन्। यद्यपी राष्ट्रपति म्याक्रोले भने पर्यावरणलाई ध्यानमा राखेर पेट्रोलमा कर बढाएको तर्क गरेका छन्। प्रदर्शनकारीले शहरभन्दा टाढा बस्ने र जो आफ्नो कारमा निर्भर हुन्छन् उनीहरुलाई करको भार धेरै पर्ने तर्क गरेका छन्।

प्रदर्शनकारीका कुनै पनि नेताको पहिचान हुन सकेको छैन। यो प्रदर्शनलाई सामाजिक संजालमा निकै सहयोग मिलेको छ। यो विरोध प्रदर्शनमा सहभागी कट्टर वामपन्थी र कट्टर राष्ट्रवादी भएको बताइएको छ।

योसँगै यो विरोध प्रदर्शनमा यस्ता मानिस पनि सहभागी छन् जो शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने पक्षमा छन्। १७ नोभेम्बरमा पूरै फ्रान्समा भएको प्रदर्शनमा करिव तीन लाख मानिस सहभागी भएका थिए।

राष्ट्रपति म्याक्रोले हिंस्रक विरोध प्रदर्शनप्रति असन्तुष्टि जनाएका छन्। उनले शान्ति पूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको प्रयोग गर्न आग्रह गर्दै हिंस्रक विरोध प्रदर्शन गर्नेहरु कुनै परिवर्तन गर्न नचाहने र उनीहरुको उद्देश्य अशान्ति पैदा गर्नु मात्र रहेको बताएका छन्।

फ्रान्समा डिजल कारमा प्रयोग हुने सबैभन्दा प्रमुख इन्धन हो। विगत एक वर्षमा डिजलको मूल्य २३ प्रतिशतले बृद्धि भएको छ। फ्रान्समा डिजलको मूल्य १.७ डलर प्रतिलिटर छ।

२०७५ मंसिर १७ गते ४:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर