अर्थ मन्त्रालयको तथ्याङ्कः विशिष्ट व्यक्तिले गरे कार्तिकमा मात्र ५४ लाखको भ्रमण

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १७ गते ७:१२

भूमिराज पिठातोली

काठमाडौं । ‘जनताले तिरेको कर जनताकै लागि’ ‘अनियमितता भएमा गरौं खबरदारी’ यस्ता नाराहरु बर्षौं पहिलेदेखि नै सार्वजनिक भैसकेका हुन। यसै अन्तर्गत भ्रष्टाचारी, चोरी डकैती, घुसखोरी, अनियमितता जस्ता कार्यहरुलाई खबरदारी गर्न राष्ट्रिय सूचना आयोग गठन भएको हो। तर जनतालाई सहजै प्राप्त गर्न सक्ने सूचनाहरु पनि धेरै पछि मात्र जानकारीमा आउँछन्।

जनताले तिरेको करबाट राज्य संचालन हुन्छ। राज्य संचालन गर्ने आधार नै जनताले तिरेको कर हो। तर ६० प्रतिशत भन्दा बढी राजश्व तिर्ने नागरिकलाई सूचनाको हक बारेमा जानकारी छैन।

राज्यको ढुकुटीमा जम्मा भएको रकम कसरी, कताबाट खर्च हुन्छ भन्ने कुरा अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँछ । यसै कार्तिक महिनामा मात्र प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्च मै ५३ लाख ९७ हजार ६ सय ४३ रुपैंयाँ निकाशा गरिएको छ।

जसमा भ्रमण खर्चमै सबैभन्दा बढी खर्च गर्ने अर्थ मन्त्रालय रहेको छ। अर्थ मन्त्रालयको प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्चमा मात्र ३५ लाख ७७ हजार रहेको छ। विभिन्न मितिमा अर्थ मन्त्रालयबाट कार्यक्रमबाट सहभागी हुन दैनिक भत्ता, हवाई टिकट उपलब्ध गराउन अर्थ मन्त्रालयको नाममा सो रकम बिनियोजन गरेको अर्थ मन्त्रालयकै तथ्याङ्कले देखाएको छ।

त्यस्तै रक्षा मन्त्रालयका नाममा पनि प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्चमा १३ लाख ४ हजार १० रुपैंया निकासा गरेको छ । मित्रराष्ट्र चीनको बेइजिङमा आयोजना गरिएको बेइजिङ छिङसान फोरममा सहभागी भएका उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको भ्रमण खर्च, हवाई टिकटका लागि सो रकम बिनियोजन गरिएको छ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका विशिष्ट व्यक्तिको भ्रमण खर्चमा पनि गएको महिनामा ४ लाख ८० हजार ६ सय ३३ रुपैंया खर्च गरिएको तथ्याङ्कले देखाएको छ।

कानून न्याय तथा संसदीय मामिला सचिवको फ्रान्सको पेरिसमा सम्पन्न भएको फाइन्सियल एक्सन टाक्स फोर्स बैठकमा सहभागी हुँदाको खर्चका लागि सो रकम बिनियोजन गरेको देखिएको छ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका विशिष्टका व्यक्तिले पनि ३६ हजारको भ्रमण गरेका छन्। अरु भन्दा यो मन्त्रालयको नाममा केही कम खर्च देखिएको छ। सो मन्त्रालयका विशिष्ट व्यक्तिलाई पकेट खर्चको रुपमा दिइएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र सो मन्त्रालयका सचिव चीनको संघाईमा भएको चाइना इन्टरनेशनल इम्पोट एक्स्पोमा सहभागी हुँदा ‘पकेट खर्च’ भन्ने शीर्षक उल्लेख गरी अर्थ मन्त्रालयले ३६ हजार बिनियोजन गरेको तथ्याङ्कले जनाएको छ। डिसी नेपालबाट

२०७५ मंसिर १७ गते ७:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर