भारतको लाजमर्दो राजनीतिक एजेण्डा, नेपालको लागि गम्भीर खतरा

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १८ गते ५:५१

दामोदर नेपाल

काठमाडौं। पछिल्लो समय भारतमा हनुमान निकै चर्चामा छन् । अहिले हनुमानलाई राजनैतिक एजेण्डा बनाइएको छ । यतिमात्र होइन अहिले भारतमा विकास, सामाजिक रुपान्तरण र सिद्धान्तको आधारमा चुनाव प्रचार गरिएको छैन । यहाँ त लाजमर्दो रुपमा जातीय र धार्मिक मुद्दालाई राजनैतिक एजेण्डा बनाइएको छ । अहिले यहाँ हनुमानको जातको विषयमा नेताहरु बाझाबाझ गरिरहेका छन् । राजनैतिक सम्बोधनमा शीर्ष नेताहरु हनुमान बाहुन हुन् कि दलित भन्ने विषयमा विवाद गरिरहेका छन् ।

विवादको सुरुवात उत्तर प्रदेशमा मुख्यमन्त्रीले गरेका हुन् । मठाधीशबाट मुख्यमन्त्री बनेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले एउटा भाषणमा हनुमान दलित भएको टिप्पणी गरे । लगत्तै मत विभाजित भयो । धेरै उनीविरुद्ध खनिए । यतिसम्म कि दलितहरु नै विभाजित भए । केही दलित संगठनले हनुमान मन्दिर कब्जामा लिए । उनीहरुले आफूहरु पनि हनुमान बराबर भएको भन्दै हनुमान मन्दिरमा आफूहरुले नै पूजा गर्ने र मन्दिरको आय दलित उत्थानमा खर्च गर्ने बताए । केही दलित संगठनले भने आफूहरुलाई बाँदरसँग तुलना गरेको भन्दै विरोध गरे । केहीले हनुमान ब्राह्मण भएको बताउँदै योगीको विरोध गरे ।

योगीको अभिव्यक्तिपछि कांग्रेस योगीमाथि खनियो । कांग्रेसका नेताहरुले यही मुद्दा उठाउँदै योगीसँगै भाजपामाथि धार्मिक कलंक लगाउन थाले । जवाफमा भाजपाले पनि कांग्रेसका नेताहरुलाई धार्मिक लान्छना नै लगाउन थाले । यतिसम्म कि केन्द्रीय विदेशमन्त्री सुष्मा स्वराजले कांग्रेस अध्यक्ष राहुल गान्धीको धर्म नै प्रस्ट नभएको टिप्पणी गरिन् । आमा सोनीया क्रिस्चियन समुदायकी भएका कारण सुष्माले राहुलमाथि यस्तो टिप्पणी गरेकी थिइन् ।

अहिले भारतमा चुनाव मुखमा छ । यस्ता बेलामा सबैजसो शीर्ष नेताहरुले धार्मिक र जातीय टिप्पणी गरेका छन् । नेताहरुको भाषणमा यस्ता कुराहरु आइरहेका छन् जसको राष्ट्रनिर्माणमा कुनै तुक छैन । उनीहरु मात्रै चुनाव जित्नका लागि नागरिकलाई भ्रमित र विभाजित गरिरहेका छन् । चुनाव जित्न भारतमा नेताहरु यतिसम्म तल्लो स्तरमा उत्रिएका छन् कि यसले नागरिकहरुबीच विवाद बढिरहेको छ । यो विवाद बढ्दै जाँदा यहाँ हिंसाको खतरा छ । भारतमा जातीय र धार्मिक हिंसा हुनु नौलो कुरा होइन । यहाँ यस्ता हिंसा भइरहन्छन् । पछिल्लो समय गुजराजमा भएको यस्तै हिंसामा २ हजारभन्दा धेरैको ज्यान गएको थियो ।

भारतमा जे हुन्छ त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्छ । नेपालमा जनैपूर्णिमा राखी भइसकेको छ । रंगोली बन्न थालिसकेको छ । तिहारलाई दिवाली भन्न थालिसके । यत्ति हो नेपालीले दशैंमा टिका जमरा लगाउन छाडेर रावण जलाउन थालिसकेका छैनन् । त्यो पनि नहोला भन्न सकिन्न । भारतीय संस्कृतिले नेपालमा यतिसम्म गहिरो प्रभाव पारेको छ कि भारतमा जे हुन्छ त्यो नेपालमा हुन्छ । यदि अहिलेको यो धार्मिक र जातीय मुद्दाले भारतमा हिंसाको अवस्था आयो भने त्यसले नेपालमा पनि गम्भीर प्रभाव पार्ने खतरा छ ।

नेपालमा अत्याधिक धार्मिक सहिष्णुता छ । नेपाली मुस्लिम समुदायले नेपालमा धर्मनिरपेक्षता खारेज गरेर हिन्दू राज्य बनाउनुपर्छ भन्ने वकालत गर्छन् । अहिलेसम्म नेपालमा जातीय र धार्मिक मुद्दामा कहिल्यै हिंसा भएको छैन । तर अब भारतको हिंसाले नेपालमा प्रभाव पार्यो भने के होला ? के नेपाली–नेपालीबीचको सद्भाव बाँकी रहला ? के नेपाल ४ जात छत्तीस वर्णको फूलबारी रहला रु सुन्दर फूलबारी नेपाल रणमैदान बन्न के बेर ? भारतको अति साँस्कृतिक हस्तक्षेपले अहिले नेपालको सहिष्णुतामाथि गम्भीर खतरा पैदा गरेको छ । डिसी नेपालबाट साभार

२०७५ मंसिर १८ गते ५:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर