वडाध्यक्षको दादागिरीः माटाे बेच्न स्वीकृति नदिएको भन्दै अधिकृतमाथि हातपात

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २० गते १६:५३

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खड्काले आज नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पूण्यप्रसाद लुइँटेलमाथि हातपात गरेका छन् ।

वडाध्यक्ष खड्काले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत माग गरेको र प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले प्रक्रिया र नियम नपुर्याई जनप्रतिनिधि नै भए पनि स्वीकृत दिन नमिल्ने बताएपछि आक्रोशित हुँदै हातपात गरेको नगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।

यसबारेमा प्रशासकीय अधिकृत लुइँटेलले वडा अध्यक्ष जयन्द्रले इँटा भट्टालाई माटो दिन स्वीकृत माग गर्दै आएको र आफूले नगर कार्यपालिकाको निर्णयबिना सिफारिस गर्न नमिल्ने जानकारी गराएपछि अभद्र व्यवहार गरेको बताए ।

उनले त्यसपछि आफू कार्यालयबाट निस्केर मन्त्रालय गएको जानकारी दिए । नगरपालिकाका कर्मचारीका अनुसार वडाध्यक्ष खड्काले माटोको स्वीकृत नपाएपछि प्रशासकीय अधिकृत लुइँटेलको टेबुल ठटाएर अभद्र व्यवहार गर्नुको साथै पानीको बोतल प्रहार गरेका थिए । लुइँटेललाई बोतलले नलागे पनि पानीको छिट्टा भने परेको थियो ।

घटनापछि यता नगरपालिकामा कार्यरत कर्मचारीहरुले विज्ञप्ति प्रकाशित गरी वडाध्यक्षले सबै कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन् ।

सबै कर्मचारीहरुको हस्ताक्षर भएको विज्ञप्तिमा नीति, कानुन, नियम र कार्यविधि विपरीत काम गर्न जनप्रतिनिधिले नै दिएको दबाबका कारण घटना घटेकोले यस्ता गतिविधिले संघीयता कार्यान्वयनमा खटिएका कर्मचारीमा चुनौती थपिने भन्दै कर्मचारीको ज्यानको सुरक्षाको प्रत्याभूति नभएसम्म र वडा अध्यक्ष खड्काले कर्मचारीसँग औपचारिक रुपमा माफी नमागेसम्म सम्पूर्ण कर्मचारीले नगरपालिकाको काम ठप्प पार्ने उल्लेख छ ।

यसबारेमा बुझ्न पटक–पटक फोन गर्दा पनि वडाध्यक्ष खड्काले फोन उठाएनन् । यता नगर प्रमुख सोमप्रसाद मिश्रले भने घटनाका बारेमा आफूले विस्तृत जानकारी नपाएको बताए । उनले भने, ‘म आज नगरकोटको विकासको विषयमा चारवटा नगरपालिकाको बैठकका थिएँ, कार्यालयमा भएको घटनाबारे जानकारी पाएको छैन, भोलि कार्यालय पुगेपछि के हो, बुझौँला ।’ वडा अध्यक्ष खड्का नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

२०७५ मंसिर २० गते १६:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर