साइवर अपराध : जोखिममा महिला

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २१ गते ३:१८

निर्मला घिमिरे

काठमाडौं। विश्वमा बढ्दो इन्टरनेट प्रयोगसँगै साइबर अपराधका घटना बढ्दै गएका छन्। साइवर अपराधमा पनि पुरुषको तुलनामा महिला नै जोखिममा रहेको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान महाशाखाले टेकुका अनुसार सूचना प्रविधिको व्यापक दुरुपयोग भएसँगै बढेको साइवर अपराधले निकै भयावह अवस्था सिर्जना गरेको छ। दैनिक जसो ५० भन्दाबढी साइवर अपराधका उजुरी अपराध अनुसन्धान महाशाखामा आउने गरेको प्रहरी प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।

पछिल्लो समयमा बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै महिला नै सामाजिक सञ्जालको दुरुपयोगको शिकार बन्न पुगेका उजुरी आउने गरेको प्रवक्ता उप्रेती बताउँछन्। साइवर अपराध निकै फरक र शक्तिशाली मात्र नभएर यसको प्रभाव पनि निकै गहिरो रहेको पाइएको छ।

साइवर अपराध अन्तर्गत ह्याकिङ, स्क्याम, साइवर ब्ल्याकमेल, साइबर फ्राउड, सफ्टवेयर चलचित्र वा कुनै पनि डिजिटल सामग्रीको पाइरेसी लगाएत पर्छन्।

इन्टरनेटको माध्यमबाट गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, क्रेडिट कार्ड तथा एकाउन्ट चोरी गरिने बैकिंङ कसुर अर्काको कम्प्युटर तथा नेटवर्किङमा पुर्याइने क्षति लगायतका घटना बढ्दै गएको प्रहरीले जनाएका छन्।

नेपालमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइवर, इमोलगायत विभिन्न सामाजिक सञ्जालको प्रयोग बढेसँगै इन्टरनेट जन्य अपराधमा युवाहरुको संलग्नता बढेको र यौनजन्य कसुरबाट महिला बढी मात्रामा पीडित हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ।

महिलाका तस्वीर विभिन्न अश्लिल तस्वीर वा शब्दसँग जोडेर फेसबुकका साइटमा राखिदिने, अश्लिल भिडियो खिचेर यूट्वूमा अपलोड गरिदिने, अश्लिल सामग्री इन्टरनेटमा सार्वजनिक गर्ने धम्की दिएर दुख दिने जस्ता यौनजन्य अपराधमा संलगनता बढ्दै गएको प्रहरीले जनाएको छ। फेक आइडी पनि पुरुषहरुले महिलाका नाममा खोलेर चलाउने र दुख दिने गरेको पाइएको छ। प्रहरीले अपराधमा संलग्न अपराधीलाई विद्युतीय कारोबार ऐन अनुसार कारवाही गर्दै आएको जनाएको छ।

सामाजिक सञ्जाल फेसबुकमा महिला जोखिम

नेपालमा सामाजिक सञ्जाल फेसबुकको प्रयोग बढेसँगै महिला जोखिमसमेत निकै चुलिएको छ । धेरै जसो १३ वर्षभन्दा माथि र २० वर्षभन्दा मुनिका युवतीहरु फेसबुकको जोखिममा रहेको एक तथ्यांकले देखाएको छ। फेसबुक सानै उमेरदेखि प्रयोग गर्ने र फेसबुककै माध्यमबाट उनीहरु यौन हिंसामा समेत पर्ने गरेका छन्।

काठमाडौंमा भेटिएकी १६ वर्षीया कृपा मगर ( नाम परिवर्तन ) फेसबुक मार्फत नै यौन हिंसाको शिकार बन्न पुगिन्। उनले फेसबुक चलाउन थालेको २ वर्ष भयो। फेसबुक चलाउँदा उनको एक युवकसँग कुरा हुन थाल्यो। फेसबुकमा एक्लो केटो नाम रहेका युवकले आफ्नो नाम भने राजीव रायमाझी बताएका थिए। धेरै कुरा हुन थालेपछि उनीहरुको भेटघाट हुन थाल्यो। एकदिन उनी राजीवलाई विश्वास गरेर भेट्न जाँदा एउटा होटलमा लगेर जबरजस्ती करणी गरेर ती युवकले उनलाई छाडिदिए।

त्यसपछि कृपालाई फेसबुकमा ब्लक गरेर फरार छन्। उनीहरुले कुरा गर्दा फेसबुकमा पठाएको फोटो कृपासँग रहेकोले उनले फोटो राजीवसँग गरिएको कुराकानीका आधारमा प्रहरीमा साइबर अपराधको उजुरी गरिन्।

फेसबुकमा युवतीहरुको फोटो राखेर अश्लिल शब्दहरु समेत प्रयोग गर्ने क्रम बढेको छ। टेकु प्रहरी परिसरमा भेटिएकी गुल्मी घर बताउने सरला पौडेल (नाम परिवर्तन) को फेसबुकबाट फोटो तानेर आफ्नै साथीले अश्लिल शब्द लेखेर गु्रपमा ट्याग गरिदिएको बताइन्।

उनको सामाजिक सञ्जाल मार्फत चरित्र हत्या भएकोले उनी टेकु प्रहरी परिसरसम्म उजुरी दिनका लागि आइपुगेकी थिइन्। कृपा र सरला यस्ता घटनाका प्रतिनिधि पात्रमात्र हुन्। उनी र उनीजस्ता थुप्रै युवतीमा फेसबुक प्रयोगले निकै ठूलो समस्या सिर्जना गरेको पाइएको छ। सामाजिक सञ्जाल फेसबुक प्रयोग मार्फत नेपालमा यौन हिंसा, बाल विवाह लगायतका घटना बढ्दै प्रहरीले जनाएको छ।

अदालतमा साइवर अपराधका मुद्दा

काठमाडौं जिल्ला अदालतमा पहिलो पटक २०६८ सालदेखि सामाजिक सञ्जालका पीडितहरुको मुद्दा हेर्न सुरु गरिएको थियो। मुद्दा हेर्न सुरु गरेदेखिको तथ्यांकमा हरेक वर्ष साइवर अपराधका मुद्दाहरु बढ्दै गइरहेको अदालतले जनाएको छ। जसमा पनि महिला नै ठूलो संख्यामा पीडित रहेका छन्। २०७१/०७२ को काठमाडौं जिल्ला अदालतको तथ्यांक अनुसार ६१ वटा साइवर अपराधका मुद्दा अदालतमा दर्ता भएका थिए।

जसमा ४५ वटा मुद्दा फैसला भइसकेको अदालतले जनाएको छ भने १६ वटा विचाराधीन रहेको अदालतको तथ्यांकमा उल्लेख छ। ०७२/०७३ मा अदालतमा साइबर अपराधका मुद्दा ६६ वटा दर्ता भएको तथ्यांकमा उल्लेख छ। जसमा ५० वटा मुद्धाको फैसला भएको र बाकीँ विचाराधीन रहेको उल्लेख छ। हरेक वर्ष साइवर अपराधका मुद्दाहरुको संख्या अदालतमा बढ्दै गइरहेको अदालतले जानकारी दिएको छ। डिसी नेपालबाट

२०७५ मंसिर २१ गते ३:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर