हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुन सक्छौँ : प्रधानमन्त्री ओली

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २१ गते १४:४०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सार्वभौम सत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता एवं शान्ति र सुरक्षामा कोही कसैसँग सम्झौता नहुने बताएका छन्।

उनले भने, “देश विकासका योजना पनि ती उल्लेखित विषयलाई सम्बोधन गर्ने र बलियो पार्ने किसिमका हुनुपर्छ ।” राष्ट्रिय योजना आयोगले आज यहाँ आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औँ योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा छिटो विकास गरिने बताए ।

विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर अघि बढ्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुन सक्छौँ । हामीलाई विकासका कुनै नयाँ कुरा आविष्कार गरिरहनुपर्दैन । अरुले गरेका आविष्कार प्रयोग गरे पुग्छ ।”

उनले १५ औँ पञ्चवर्षीय योजना २०७६÷०७७ देखि २०८०÷०८१ देश विकासका लागि नयाँ आयाम ‘टर्निङ प्वाइन्ट’ हुने चर्चा गर्दै अघिल्ला योजनाका समीक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधिमैत्री र तीव्र गतिमा अघि बढ्न सक्ने व्यावहारिक योजना बनाउनुपर्नेमा जोड दिए।

उनले स्वदेशमा रहेका फलामखानीको उत्खनन, विद्युतीय ऊर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने र पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउन १५ औँ योजना केन्द्रित गर्न योजना आयोगलाई सुझाव दिए ।

प्रधानमन्त्री ओलीले भने “विद्युत्, सौर्य र अन्य वैकल्पिक ऊर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठूलो भरथेग हुन्छ । जेट्रोपाबाट पनि इन्धनको आपूर्ति गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातिको बोट रोप्ने अभियान सञ्चालन गर्नु पर्दछ ।”

२०७५ मंसिर २१ गते १४:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर