नेकपाको विवादले उग्र रुप लियो, शीर्ष ४ नेताद्वारा बैठक बहिष्कार,स्थायी कमिटी बैठक २९ मंसिरमा

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २३ गते ४:०१

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादले उग्र रूप लिएको छ । शनिबारको सचिवालय बैठक एकैपटक शीर्ष चार नेताले बहिष्कार गरेपछि विवादले उग्र रूप लिएको हो । बैठक अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको थियो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बैठकमा आउन ढिलाइ गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिष्कार गरेका हुन् ।

नेकपाको नौ सदस्यीय सचिवालयबाट चार नेताले बहिष्कार गरे पनि बहुमत पाँच जना नेता सम्मिलित बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । चार नेताहरु निर्धारित समयमा पुगेर २० मिनेट बसेर बाहिरिएपछि मात्रै अध्यक्षद्वय बैठकका लागि पुगेका थिए । यसअघि शुक्रबार बोलाइएको बैठक प्रधानमन्त्री ओलीकै कार्यव्यस्तताका कारण स्थगित गरी शनिबार बोलाइएको थियो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले पार्टीमा सिस्टम विकास गर्नका लागि बैठक बहिष्कार गरेको बताए । आफूले आफैंलाई सचेत पार्न बैठक बहिष्कार गरेको बताउँदै उनले पार्टीलाई सिस्टममा लैजान सहयोग पुग्ने बताए । यसअघि पनि प्रधानमन्त्री ओली बैठकमा ढिला गरी पुग्ने गरेका थिए ।
‘बैठक सुरु नभए १५ मिनेट कुर्ने, नभए जानकारी गराउने सहमति भएको थियो तर प्रधानमन्त्रीबाट कुनै जानकारी नै नआएपछि हामी बाहिरियौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘यो कसैका विरुद्धमा नभई हामी स्वयंलाई सचेत पार्नका लागि हो, यसले पार्टीलाई सिस्टममा लैजान सहयोग पुग्छ ।’

निर्धारित समयमा बोलाइएको बैठकमा सहभागी नहुने तथा कार्यक्रम तोकिएको समयमा नपुग्ने नेताको शैलीविरुद्धमा यसअघि नेता श्रेष्ठले आवाज उठाउँदै आएका थिए । ललितपुरको च्यासलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली समयमा नपुगेपछि श्रेष्ठले यसअघि नै विरोध जनाइसकेका थिए ।
श्रेष्ठले नेताको यस्तो शैलीविरुद्ध आवाज उठाएपछि निर्धारित समयमै बैठक वा कार्यक्रममा पुग्ने यसअघिको सचिवालय बैठकमा सहमति भएको थियो । निर्धारित समयमा पुग्न नसकिने भए जानकारी गराउने सहमति भए पनि ती सहमति शीर्ष नेताबाटै उल्लंघन हुँदै आएको छ ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालले निर्धारित समयमा बैठक बस्नका लागि पुगे पनि प्रधानमन्त्री ओली नआएपछि आफूहरुले अपमानित महसुस गर्दै बैठक छाडेर हिँडनुपरेको बताए । आउने दिनमा तोकिएकै समयमा बैठक बस्ने र सबै नेता तोकिएकै समयमा आउने विश्वास उनले व्यक्त गरे।

शीर्ष नेताले नै बैठक बहिष्कार गर्दा सामाजिक सञ्जालमा यस विषयमा चर्चा सुरु भएको छ । पार्टीकै नेतादेखि सर्वसाधारण एवं बुद्धिजीवीहरुले यस विषयमा घोचपेचसहित चर्चा गरिरहेका छन् ।

यसैक्रममा नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमा विगतको घटना स्मरण गर्दै पोस्ट गरेका छन् । केन्द्रीय सदस्य रिजालले आफ्नो फेसबुकमा लेखेका छन्– ‘बालुवाटारको आज(शनिबार) को घटनापछि ८ वर्षअघि तत्कालीन अध्यक्ष कमरेड झलनाथ खनाल प्रम हुँदाको घटना सम्झना भएको छ । प्रवेशद्वारमा प्रहरीले ‘भित्रबाट हजुरहरूको नाम आएको छैन, भित्र सोध्छौं हजुर’ भन्दा कमरेड केपी ओली ‘यस्तो अपमान सहिँदैन’ भनेर एक मिनेटमा त्यहाँबाट फर्किनुभएको थियो र त्यसपछि जेएन कमरेड प्रम हुँदासम्म बालुवाटारमा पाइला हाल्नुभएन ।’

स्थायी कमिटी बैठक २९ मंसिरमा

नेकपा स्थायी कमिटी बैठक २९ मंसिर (आउँदो शनिबार) बस्ने निर्णय भएको छ । नेकपा सचिवालय बैठक शीर्ष चार नेताले बहिष्कार गरे पनि पाँच जना बहुमतसहितका नेताको बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापासहित बसेको बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
नेकपा महासचिव पौडेलले स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा २९ मंसिरमा बस्ने निर्णय भएको बताए । बैठक दिउँसो १ बजे बस्ने उनले बताए । ४५ सदस्यीय स्थायी कमिटीको बैठक बोलाउन माग गरे पनि पटकपटक स्थगित हुँदै आएको छ ।

यसअघि ८ र ९ भदौ, २६ र २७ भदौ, ४ र ५ कात्तिक, तथा १२ र १३ कात्तिकका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । स्थायी कमिटीका सदस्यहरुले बैठक बोलाउन पटकपटक माग गर्दै आएका छन् । पार्टी एकता, सरकार सञ्चालनलगायतका विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक माग गरिँदै आएको छ ।

शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठक २० मिनेट ढिलो भएपछि शीर्ष चार नेताले बैठक बहिष्कार गरेका थिए । क्यान्सरपीडितका तर्फबाट प्रधानमन्त्री ओलीलाई भेट्न आएको एक टोलीसँग अध्यक्षद्वय छलफलमा रहेकाले बैठक निर्धारित समयमै सुरु हुन नसकेको हो ।

नेकपाले प्रदेश कमिटीको टुंगो केही समयअघि लगाएको छ । तर, पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट, जिल्ला, स्थानीय तहका कमिटीका साथै जनवर्गीय संगठनको एकता एवं विभाग गठन गर्न अझै सकेको छैन । यी विषयका साथै सरकार सञ्चालनको विषयमा समेत स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ । राजधानी दैनिक

२०७५ मंसिर २३ गते ४:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर