मंगल ग्रहबारे १० रोचक तथ्यहरु

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २५ गते ४:०७

बीबीसी । मंगल ग्रहको विस्तृत अध्ययनका लागि अमेरिकी अन्तरीक्ष संस्था नासाले प्रक्षेपण गरेको यान इनसाइट ल्यान्डर सफलतापूर्वक मंगलको सतहमा पुगेको छ ।

गत मार्च ५ तारेखमा मंगल खोज अभियानका लागि नासाले यान प्रक्षेपण गरेको थियो ।

३० करोड माईल अर्थात् ४५.८ करोड किलोमिटर दूरी तय गरी इनसाइट मंगलको सतहस्थित एलिसियम प्लानिशिया नामक विन्दुमा अवतरण गरेको छ । उक्त ठाउँ मंगल ग्रहको भूमध्य रेखाको नजिक पर्दछ ।

इनसाइट मिसनको उद्देश्य मंगल ग्रहको जमिनभित्र लुकेको रहस्यको खोजी गरी अधिक जानकारी जुटाउनु रहेको छ ।

इनसाइटले मंगल ग्रहबाट पृथ्वीमा सन्देश पठाउँदै आफू काम सुरु गर्नका लागि तयार रहेको संकेत गरेको छ । सूर्यको प्रकाश ग्रहण गर्नका लागि यानले आफ्नो सोलार प्यानल पनि फैलाइसकेको छ र आफैं चार्ज हुन सुरु गरेको छ ।

नासाको इनसाइट प्रोजेक्ट म्यानेजर टम हफम्यान भन्छन्, ‘अब इनसाइटले मज्जाले काम गर्न सक्दछ । उसले आफ्नो ब्याट्री रिचार्ज गरिरहेको छ ।’

पृथ्वीबाहेक ब्रम्हाण्डमा जिवनको अस्तित्व रहन सक्ने भनिएको रातो ग्रह मंगलका बारेमा विभिन्न रोचक कुराहरु वैज्ञानिकले पत्ता लगाइसकेका छन् । तीमध्ये १० वटा तथ्य यस्ता रहेका छन्ः

· मंगल ग्रह सूर्यभन्दा १४.२ करोड माइल टाढा छ । सूर्यसँगको दूरीको हिसाबले मंगल नजिकबाट चौथो स्थानमा रहेको छ । जबकि पृथ्वी सूर्यभन्दा ९ करोड ३० लाख माइल टाढा छ र दूरीको हिसाबले तेश्रो स्थानमा रहेको छ ।

· मंगल ग्रह पृथ्वीभन्दा आकारको हिसाबले झण्डै आधा सानो छ । यसको व्यास ४२२० माइल रहेको छ । मंगलको तौल पृथ्वीको भन्दा दश गुणा कम छ ।

· पृथ्वीमा ३ सय ६५ दिनको एक वर्ष हुन्छ । तर मंगल ग्रहमा ६ सय ८७ दिनको एक वर्ष हुन्छ । यसको मतलब मंगलले सूर्यको एकपटक परिक्रमा गर्न ६ सय ८७ दिन लगाउँछ ।

· मंगल ग्रहमा २४ घण्टा ३७ मिनेटको एक दिन हुन्छ ।

· अत्यधिक चिसो, धूलोको आँधी तथा तीव्र हुरीजस्ता प्राकृतिक प्रक्रियाहरु मंगल ग्रहमा निरन्तर भइरहन्छन् । गर्मीमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियस र जाडोमा शून्यबाट घटेर माइनस १४० डिग्री सेल्सियस सम्म पुग्दछ ।

· मंगल ग्रहमा पनि पृथ्वीमा जस्तै वर्षमा चारवटा ऋतु हुन्छन् ।

· पृथ्वी र मंगल ग्रहको गुरुत्वाकर्षण शक्तिमा भिन्नता रहेको छ । त्यसैले पृथ्वीमा १ सय पाउण्ड तौलको कुनै वस्तु मंगल ग्रहमा ३८ पाउण्डको बन्दछ ।

· पृथ्वीको उपग्रह एउटा छ, चन्द्रमा । मंगलका चाहीँ दुईवटा चन्द्रमा छन्। एउटा फाबोस र अर्को डिमोस ।

· मंगल ग्रहमा ९६ प्रतिशत कार्वनडाइअक्साइड छ । त्यस्तै १.९३ प्रतिशत आर्गन, ०.१४ प्रतिशत अक्सिजन र २ प्रतिशत नाइट्रोजन रहेको छ । साथै केही मात्रामा कार्वन मोनोअक्साइड पनि पाइएको छ ।

· पृथ्वीको सतहझैँ मंगलको सतह पनि चार पत्रले बनेको हुन्छ । क्रस्ट, मेन्टल, आउटर कोर र इनर कोर ।

२०७५ मंसिर २५ गते ४:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर