मुद्दाको फैसला नहुँदा हुलाकी सडकको काममा अवरोध

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २५ गते ४:५४

लहान,। लामो समयसम्म मुद्दाको फैसला नहँुदा हुलाकी राजमार्गअन्तर्गत सप्तरी कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडकखण्ड निर्माणको काम प्रभावित भएको छ ।

उक्त सडकखण्डअन्तर्गत स्वर्णपट्टीस्थित देउरी–९ (ख) को सर्वेगरी नक्साङ्कन भएकालाई छाडेर ९ (क) मा निर्माण गर्न थालिएको भन्दै जग्गाधनी जिवछ भनिने धर्मेन्द्र साहले २०७४ माघमा उच्च अदालत जनकपुर इजलास राजविराजमा दायर गरेको रिटमा अन्तिम फैसला नहुँदा सडक निर्माणमा अवरोध सिर्जना भएको हो ।

रिट दायर भएपछि अदालतले तत्काल त्यस स्थानमा सडक निर्माण काम नगर्न अन्तरिम आदेश दिएका कारण अहिले त्यहाँ काम रोकिएको उक्त सडकखण्डका कन्ट्रयाक्टर व्यवस्थापक बिनोद गौतमले जानकारी दिए ।

अदालतमा विचाराधीन मुद्दा चाँडै फैसला भएमा आउँदो चैतभित्र काम सकेर हस्तान्तरण गरिने गरी काम भइरहेको पनि उनले बताए । विसं २०७६ असार २० गतेसम्म सडक निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि २०७५ फागुनभित्रै काम सकिने गरी तीव्ररूपमा सडक निर्माणको काम भइरहेको छ । अदालतमा परेको रिटमा फैसला नआउँदा निर्माणकार्यमा समस्या भइरहेको उनको भनाइ छ ।

गत मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकको काम ५५ प्रतिशत सकिएको छ, व्यवस्थापक गौतमले भने, “सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्भर्ट निर्माण भइसकेको छ, अहिले एक हजार ४०० मिटर दाँयाबाँया फुटपातसँगै नाला निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।” ती काम सकेर माघ १५ गतेदेखि सडकको कालोपत्रेको काम शुरु गर्ने लक्ष्य रहेको उनले बताए ।

डिवा निर्माण प्रालि काठमाडौँले १७ दशमलव २८ किलोमिटर लामो (बजार क्षेत्रमा ११ र बजार बाहिर सात मिटर चौडाइ) कालोपत्रे गर्ने उक्त सडकखण्ड रु ५८ करोड तीन लाख ९७ हजारमा निर्माण ठेक्का लिएका हुन् ।

२०७५ मंसिर २५ गते ४:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर