नेपाली इतिहासका महान् हस्ती बलभद्र कुँवरकाे बारेमा पढ्नुहाेस् ,

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २५ गते १६:१५

नालापानी युद्ध त्यसबेला सात समुद्रपारबाट आएको अंग्रेजी साम्राज्य विस्तारको महत्वाकांक्षा र यस क्षेत्रमा एउटा बलियो हिमाली अधिराज्य खडा गर्ने आवश्यकता बीचको टकराव थियो। उता अंग्रेज शक्तिले ‘फुटाऊ र राज्य गर’को नीति लिएर हिन्दूस्तानमा आफ्नो कब्जा जमाइरहेको अवस्था थियो। यता त्यस शक्तिसँग जुध्न सक्ने अवस्था सिर्जना गर्न परिस्थितिले उब्जाएको आवश्यकता अनुरूप गोर्खाली शासन अन्तर्गतको नेपाल निर्माण अभियान अगाडि बढिरहेको थियो।

सूर्य अस्त नहुने साम्राज्यसँग भिड्दै स्वतन्त्र अस्तित्वको हिमाली अधिराज्य खडा गर्ने काम कम्ती हाँकपूर्ण थिएन। त्यसैले विभिन्न ठाउँमा भएका युद्धमा दुबै पक्षमा ठूलै हताहत भएका ऐतिहासिक प्रमाण पाइएका छन्। यस्तै ठूलामध्ये नालापानीमा दुई सय वर्षअघि भएको युद्ध पनि विशेष महत्वको घटना हो।

यो नालापानी युद्ध कहिले भयो भन्ने तिथिमितिका विषयमा विविध विचार देखिए तापनि अनेक स्रोतबाट प्राप्त तिथिमिति गणना गर्दा कात्तिकको १० गतेदेखि मंसिरको आधाआधीसम्म चलेको बुझिन्छ। लडाइँको वर्णन गर्ने एकजना सुवेदार जगरूप खत्रीले तात्कालीक चौतरिया बम शाहलाई लेखेको पत्रमा नालापानीको युद्ध मंसिर १२ देखि १४ गतेसम्म भएको वर्णन गरेका छन्। कतिपय स्रोतमा भने यो लडाइँ कात्तिक महिनाभित्रै भइसकेको भन्ने पनि उल्लेख छ।

नेपालको अस्तित्वका लागि घमासान युद्ध भएको दुई शताब्दी बित्दा राष्ट्र निर्माणमा लागिपरेका वीर योद्धाहरूको सम्झना हुनु स्वाभाविक हो। यस नालापानी युद्धमा अंग्रेज तर्फका सेना नायक मेजर जनरल रोलो जिलेस्पीलगायत अनेकौं योद्धाहरूको अवसान भएको थियो भने नेपालतर्फ पनि त्यतिकै नोक्सानी पुग्यो। कात्तिक १० देखि सुरू भएको यस युद्धको प्रारम्भमा अंग्रेजतर्फ हार भएको थियो।

ढुंगा र घुयत्रो चलाएर तोप, गोलाबारी र बन्दुकसँग लड्नु सजिलो थिएन। तैपनि त्यतिबेलाका वैरीहरूसँग साहसिक ढंगले नेपाली सेनाले नालापानीको युद्धमा लडेका थिए। जर्नेल जिलेस्पीको आक्रमणको प्रतिरोध गर्न नेपालतर्फबाट कप्तान बलभद्र कुँवर खटिएका थिए जसलाई हाम्रो इतिहासमा वीर वलभद्र कुँवर भनेर चिनिन्छ।

बलभद्र कुँवरबारे तात्कालीक हस्तलिखित चिठ्ठीपत्र, मोहर आदि र व्याख्यासहितका वर्णनसमेत पाइन्छन्। यस्ता स्रोतबाट दुई किसिमका धारणा देखापरेका छन्। एक पक्षका सामग्रीले बलभद्र कुँवरलाई अत्यन्त साहसी, उच्च कोटीका योद्धाका रूपमा चिनाएको छ भने अरू केही व्याख्यात्मक स्रोतमा युद्धको समाप्तिपछि लाहोर (तत्कालीन पञ्जाब)मा गई पञ्जाबकेशरी रणजीत सिंहको पक्षलाई सहायता पुर्‍याउने हेतुले गोर्खा सैन्य कम्पनी खडा गरी आफू त्यसको नायक भई बसेका हुँदा नेपालीको प्रतिष्ठा र स्वाभिमान गुमाए भन्नेजस्ता विचार पनि मुखरित नभएका होइनन्। तर, पनि बलभद्र कुँवरको अंग्रेजसँगको युद्धमा निर्वाह गरेको भूमिकालाई हेर्दा विशेष स्थान र सम्मान दिनबाट पछाडि हट्नु उचित लाग्दैन।

उनी पञ्जावको लाहोरमा गोर्खा सैनिक कम्पनीको नायक बनी पञ्जाबकेशरीको सेवामा रहेका हुनाले हामीकहाँ सैनिक क्षेत्रमा काम गर्न बाहिर जाने कामलाई ‘लाहुरे हुने’ र कुनै पनि विदेशी भूमिमा जानुलाई ‘लाहुर जाने’ भन्ने चलन चलेको प्रशंग स्मरणीय छ। पञ्जाब अन्तर्गत लड्दा पेसावर नौसेराको युद्ध, अफगानिस्तान युद्ध आदिमा बलभद्र र उनी अन्तर्गतका गोर्खालीहरूको वीरताको उल्लेख पाइन्छ। त्यसैकारण हुनसक्छ गोर्खालीलाई निडर वीरयोद्धाको रूपमा पछि अंग्रेजहरूले हिन्दूस्तानसम्मको राष्ट्रिय सेनाकै अंग बनाई स्थान दिने गरेको पाइन्छ। वलभद्रको अवसान पनि पेसावरको युद्धमा वीरताका साथ लड्दालड्दै ३४ वर्षजतिकै उमेरमा मार्च १३, १८२३ का दिन भएको थियो।

त्यसैले इतिहासमा बलभद्र कुँवर र उनका सन्ततिहरूलाई यहाँका शासकहरूले अलिक पछिल्ला कालसम्म पनि विशेष प्रबन्धका साथ जग्गाजमिन, सुविधा आदि सुविधा दिएका ऐतिहासिक प्रमाणहरू पाइएका छन्। बलभद्र कुँवरलाई उनको वीरताको कदर गर्दै देहरादुनको रिस्पना नदीे किनारमा सन् १८२४ मा अंग्रेजहरूले विशेष शिलालेख र स्तम्भ खडा गरे जसमा ‘हाम्रा सशक्त शत्रु बहादुर गोर्खाका सेना नायक बलभद्र जो किल्लापति थिए उनी पछि रणजीत सिंहको सेनामा गएका बेला यहाँ पराजीत भएका थिए’ भनेर सम्मान गरिएको देखिन्छ।

नालापानीका पहिलेका युद्धमा अंग्रेजहरूको नराम्रो हार भएपछि त्यहाँ नेपाली तर्फबाट भएका तयारी र वीरता देखेर अंग्रेजतर्फबाट विशेष योजनासाथ पुनः आक्रमण भयो। त्यस्तो विशेष र पानीको स्रोत कटाइदिनेसम्मका छलकपटपूर्ण नीति नभएका भए नेपालीतर्फकै अन्तिम विजय हुने सम्भवना देखिन्थ्यो। १८७१ कात्तिक १७ मा भएको घमासान युद्धमा जनरल रोलो जिलेस्पीको अवसानले अंग्रेजतर्फ निकै हतोत्साहित भएको थियो।

तर, अंग्रेजहरूको विशेष तयारी र जसरी पनि किल्ला कब्जा गर्ने योजना र उनीहरूको साथमा भएका विशेष किसिमका युद्ध सामग्रीको उपयोगले र घेराबन्दी गरी खाना र पानीको अभावको स्थिति सिर्जना गरेर अंग्रेजहरूले अन्तिम युद्धमा गोर्खालीलाई परास्त गर्न सफल भए। अन्तिम समयसम्म बलभद्र कुँवर र उनका साथका नेपाल पक्षका अरू सैनिक अधिकारी तथा अन्य लडाकुहरू ७०/७२ जना मात्र बाँकी हुँदा पनि अदबसाथ किल्ला बाहिर निस्किएको भन्ने तात्कालीक विवरणले नेपाल पक्षले पूरा हार स्विकार गर्नै नमानेको जस्तो बुझिन्छ।

‘हामी मरे पनि किल्लाभित्र एकैसाथ मर्छौं किल्ला छाडी जाँदैनौं बैरीहरूसँग लडेर मात्र मर्छौं’ भन्ने जस्ता अभिव्यक्ति बलभद्रले दिएका थिए भनेर इतिहासका अन्वेषकहरूले तात्कालीक विवरणका आधारमा उल्लेख गरेको देखिन्छ। बलभद्रको एउटा उद्गार ‘तिमीहरूको निमित्त किल्ला विजय गर्नु असम्भव थियो, अब म स्वयं आफ्नो इच्छाले किल्ला त्याग गर्छु’ भन्नेजस्ता प्रशंग पनि इतिहासका किताबमा पढ्न पाइन्छ। त्यस्तो कुरा तथ्यपूर्ण हो भने अवश्य पनि बलभद्र एक सम्मान लायक नेपाली बहादुर सेनापति थिए भन्न सकिन्छ। तर, यस्ता कुराको पुनर्मूल्यांकन पनि आवश्यक हुन्छ।

नालापानीको अंग्रेजसँग भएका अन्य युद्धभन्दा धेरै लामो समयसम्म रह्यो। यसकाण पनि यो युद्ध हाम्रो इतिहास अध्ययनका निमित्त महत्वपूर्ण रहेको छ। रसदपानीको अभाव र वाह्य सहयोगबाट बञ्चित भएर पनि निरन्तर एक महिनाभन्दा बढी बलभद्र कुँवरको नेतृत्वमा रहेका गोर्खालीहरूले आफ्नो संख्याभन्दा अत्यधिक संख्यामा भएका (पाँच गुणासम्म बढी भनिएको छ) आधुनिक यान्त्रिक हतियारले सुसज्जित भएकासँग अद्वितीय बहादुरी प्रस्तुत गरेको युद्ध थियो।

त्यतिबेला युद्ध पद्दतिमा सैनिक नायक तथा लडाकुका जहान परिवार पनि खलंगाभित्र रहने चलन वा परम्परा थियो। यस नालापानीको युद्धमा पनि अन्तिम समयसम्म ढुंगा, घुयत्रो चलाउँदै वाह्य शत्रुको आक्रमणबाट रगतपच्छे भएका महिला र बालबालिकाहरू पनि स्वाभिमानका साथ लडेको प्रशंग तात्कालीक अंग्रेजहरूकै विवरणबाट पनि बुझ्न सकिन्छ।

त्यसमा नेपालीका सुवेदारदेखि जवानसम्मका केटाकेटी र पीपासमेत गरी १ सय ८५ जनाजतिले वीरगति प्राप्त गरेका र कतिपय भागेर किल्ला बाहिरिएका र झण्डै दुई सयजति घाइते भएका थिए भन्ने विवरण पनि विभिन्न स्रोतमा पढ्न पाइन्छ। ज्यादै अप्ठ्यारो अवस्थामा पनि गोर्खाली सेनापतिहरूले युद्धलाई आलटाल गर्दै अल्मल्याउँदै पछाडि धकेल्न सके बर्षादको याम आइपुग्दा अंग्रेजहरूलाई भगाउन सकिन्छ भन्ने सोच बनाएका थिए। तर, अंग्रेजहरूको जसरी पनि किल्ला हत्याउने उद्देश्यले थप सैन्य सामग्रीसहितको आक्रमण र छलछामसम्मको प्रयोगले नालापानीको किल्ला अन्ततः अंग्रेजले हत्याउन सफल भएको देखिन्छ।

यस युद्धले एकातिर कति विभत्सरूपमा युद्धहरू राज्य निर्माणका क्रममा चलेका थिए र नेपाली योद्धाको तर्फबाट राज्य निर्माण, स्वाभिमान र स्वाधीनताका लागि कसरी निर्भिकतासाथ लडेका थिए स्पष्ट बुझ्न सकिन्छ। त्यसैले नालापानीको युद्ध राष्ट्रका निम्ति गरिएका समर्पण र निर्भिकताका चरम उदाहरण हो। हाम्रो नेपाली वीरताको इतिहासमा यी कहिल्यै बिर्सन नसकिने घटना हुन्। त्यसकारण दुई सय वर्षपछि पनि हाम्रा बहादुरहरूको बहादुरीलाई सम्झदा छाती गर्वले ढकमक्क हुन्छ।

यसरी निर्भिकताका साथ लडेर निर्माण गरिएको नेपाली वीरताको इतिहासलाई हामीले खासै सम्मान गर्न सकेका छैनौं। उक्त युद्धको समाप्तिभन्दा केही समयपछि नेपालले विजय गरेका एक तिहाइ भूभागहरू बडो लज्जास्पदरूपमा गुमाउन पुग्यो। यस युद्धपछि महाकाली पारिका र पश्चिम तराईतर्फका भू–भाग नेपालले गुमायो। पछि जंगबहादुर कुँवर (राणा)को अनेक कुटनीतिक प्रयासले नयाँ मुलुकका रूपमा चिनिने बाँके, बर्दिया कैलाली कञ्चनपुर आदि भू–भागहरू फिर्ता पाउन हामी सफल भयौं। तर अधिकांश भू–भाग गुमेका गुम्यै भए।

अहिले पनि त्यस इतिहासको मूल्यांकन हामीले गर्न सकेनौं भने ती योद्धाहरूका देनलाई बिर्सिएको अभियोग हामीमाथि लाग्न सक्छ। तर, अहिले सम्झनेभन्दा बिर्सनेतर्फ हाम्रा पाइलाहरू चलिरहेका छन्। अहिले हामी इतिहासका यथार्थलाई स्विकार्ने भन्दा भत्काउने वा विस्मृति लैजानेतर्फ उन्मुख छौं, जसले नेपालको भविश्यलाई उचित मार्गमा निर्देशित गर्न नसक्ने पक्का छ।

२०७५ मंसिर २५ गते १६:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर