हुवावेकी कार्यकारीलाई अदालतबाट जमानत

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २६ गते ७:३१

भ्यानकुभर, क्यानाडा,। क्यानाडाको एक अदालतले चिनीया दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई मङ्गलबार शर्त सहितको जमानत दिएको छ । अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ पर्नुभएकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो ।

अदालतले मेङमाथि ७५ लाख अमेरिकी डलर जमानत माग गरेको छ । साथै, पासपोर्ट क्यानाडेली सरकारलाई बुझाउन र विद्युतीय अनुगमन गरिने अदालतको आदेश छ ।

चीनले मेङको गिरफ्तारीलाई लिएर कडा शब्दमा भत्र्सना गर्नुका साथै चीनस्थित अमेरिका र क्यानाडाका राजदूतलाई बोलाएर बिरोध जनाएको थियो । साथै, अदालतबाट भएको शर्त सहितको जमानतप्रति पनि चीनले आपत्ति जनाएको छ ।अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरुको चिनीया कम्पनी हुवावेले उल्लङ्घन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

उनलाई अदालतको आदेश प्राप्त गर्नासाथ रिहा गरिनेछ । भ्यानकुभरमा उनका पति लिउ झाओझोङको निवासमा बस्न मेङलाई अनुमति दिइएको छ । अदालतमा उपस्थित मेङका समर्थकहरुले न्यायाधीशको आदेशपछि खुशीयाली मनाएका थिए । मेङलाई डिसेम्बर १ तारिखमा भ्यानकुभरमा प्रहरीले पक्राउ गरेको थियो । अमेरिकी अधिकारीहरुले मेङको गिरफ्तारी चीनसँगको व्यापार वार्तासँग सम्बन्धित नरहेको बताएका छन् ।

हुवावे प्रविधिको क्षेत्रमा चीनको विश्वव्यापी पहुँच रहेको मुख्य कम्पनी हो, तर हुवावेले उपलब्ध गराएका कतिपय सेवाहरुमाथि संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्यूजील्यान्ड र बेलायतले सुरक्षाको कारण दर्शाउँदै प्रतिबन्ध लगाएका छन् । हुवावेका संस्थापककी छोरी मेङमाथि इरान विरुद्धका अमेरिकी प्रतिबन्धहरुलाई बेवास्ता गरी व्यापारिक सम्बन्ध कायम राखेको र बैंकहरुलाई ढाँटेको आरोप लागेको छ । यदि मेङ दोषी ठहरिए उनलाई ३० वर्षभन्दा बढी जेल सजाय हुन सक्नेछ ।

आगामी फेब्रुअरी ६ बाट मेङलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया शुरु हुनेछ । तर कानुनी जटिलताका कारण यो प्रक्रिया पूरा हुन महिनौं, वर्षौं लाग्न सक्ने बताइएको छ ।

२०७५ मंसिर २६ गते ७:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर