संविधान कार्यान्वयनमा जिम्मेवार हुन कांग्रेसलाई पूर्व राष्ट्रपति यादवको सुझाव

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २७ गते ९:०५

काठमाडौँ,। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेको बताए ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवाद’ को बिहीबार यहाँ विमोचन गर्दै उनले काङ्ग्रेसको विचार र सिद्धान्तअनुसारको संविधान जारी भएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा काङ्ग्रेस नै बढी जिम्मेवार हुनुपर्ने बताए ।

उनले संविधानमा धर्म निरपेक्षताको व्यवस्था भए पनि मुलुकका विभिन्न भागमा धर्म परिवर्तनको क्रम तीव्र रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेकोे लोकतान्त्रिक समाजवाद आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै पूर्वराष्ट्रपति डा यादवले पार्टीभित्र गुटउपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव दिए । विकास निर्माणका ठूला पूर्वाधारले तराई र चुरे क्षेत्रको वन विनाश हुँदा भूक्षय र मरुभूमिकरण बढ्दै गएको भन्दै यसलाई संरक्षण गर्न ध्यान दिनुपर्ने उनको आग्रह थियो ।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले काङ्ग्रेस र कम्युनिष्टको समाजवादका सम्बन्धमा देखिएको विवाद र बहसको सन्दर्भमा आफूले पुस्तकमा काङ्ग्रेसको लोकतान्त्रिक समाजवादका सम्बन्धमा स्पष्ट पारेको बताए । विश्वमा राजनीतिक विचारधारा कमजोर भयो भने समाजमा अराजकता र विचलन हुने भन्दै उनले विचारकै प्रधानता हुनुपर्ने बताए । काङ्ग्रेसमा विचारको खडेरी नभई बहसको आवश्यकता रहेको उनको जोड थियो । पुस्तक जनता प्रसारण तथा प्रकाशन लिमिटेडले प्रकाशन गरेको हो ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले काङ्ग्रेसले भनेको समाजवाद लोकतान्त्रिक पद्धतिबाट प्राप्त हुने र कम्युनिष्टले चाहेको समाजवाद वर्ग सङ्घर्षबाट प्राप्त हुने बताउँदै काङ्ग्रेसले अवलम्बन गरेको लोकतान्त्रिक समाजवाद, उदार अर्थनीति, लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिष्ट दलहरु आउनु खुशीको कुरा हो भने ।

नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि काङ्ग्रेस नेतृत्वका सरकारले अवलम्बन गरेका नीतिबाट नै शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, व्यापारलगायत क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको उनले जानकारी गराए । केन्द्रीय सदस्य प्रदीप गिरीले ग्रामीण क्षेत्रका निमुखा जनताको हितमा काम गर्न गान्धी, माओ र बिपीका विचारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै जनतालाई समावेश नगरी गरिने विकास दिगो र प्रभावकारी नहुने बताए ।

प्रा डा लोकराज बरालले राजनीतिमा समाजवादका विभिन्न परिभाषा र नाम भए पनि निमुखा जनताको हितमा गरिने काम नै वास्तविक समाजवाद हो भने । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा र जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा विजय पौडेलले पुस्तकका प्रमुख विशेषताका बारेमा चर्चा गर्दै समाजवादको स्थापना र उद्देश्यका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

२०७५ मंसिर २७ गते ९:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर