नुवाकोट मिनीट्रक दुर्घटना : १८ जनाको मृत्यु, १६ घाइते

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २८ गते १५:५४

बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा आज साँझ मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइतेको उद्धार गरिएको छ ।

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसीपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।

उहाँको अनुसार दुर्घटनामा तीन महिला र १५ पुरुषको मृत्यु घटनास्थलमा नै भएको हो । मृतकमध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेँशीका रितेश पण्डितको पहिचान खुलेको छ ।

घटनास्थलबाट उद्धार गरिएकामध्ये सात जनालाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ भने बाँकीलाई यातायातका साधन नहुँदा उपचारको लागि पठाउन कठिनाइ भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए। अहिले पनि घटनास्थलमा उद्धारको कार्य भइरहेको छ । गाडीमा ४० भन्दाबढी व्यक्ति चढेका बताइएको छ ।

सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी बोकेर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो । कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा सडकबाट करीब ५०० मिटर तल तादी खोलामा पुगेको थियो ।

२०७५ मंसिर २८ गते १५:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर