विदेशमा किन अलपत्र पर्छन् नेपाली श्रमिक ?

आजको खबर   |    प्रकाशित : २०७५ पुष २ गते १४:३७

काठमाडौं । वैदेशिक रोजगारका लागि विभिन्न खाडी मुलुकहरुमा नेपाली कामदारहरु समस्यामा पर्दै आएका छन् । जसमध्येमा पनि वैदेशिक रोजगारका क्रममा देश अनुसार नेपाली कामदारहरु समस्यामा पर्ने अबस्था हेर्दा मलेशियामा सबैभन्दा बढि नेपाली कामदारहरु समस्यामा पर्ने गरेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को एक तथ्यांकले देखाएको छ ।

पीएनसीसीले सन २०१३ देखि सन् २०१७ सम्म गरेको अलपत्र वा समस्यामा परेका नेपाली श्रमिकहरुको उद्धार अबस्था हेर्दा सबैभन्दा बढि मलेशियामा नेपाली कामदारहरु समस्यामा पर्ने गरेको पाइएको छ ।

पीएनसीसीले मलेशियाबाट पाँच वर्षको अबधिमा १ हजार ५ सयभन्दा बढि विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरुको उद्धार गरेको छ ।

मलेशिया पछि साउदीबाट १ हजारभन्दा बढि समस्यामा परेका नेपाली कामदारहरुलाई उद्धार गरेको जानकारी दिएको छ । तेस्रोमा कतार रहेको छ । कतारबाट ४ सयभन्दाबढि पीडित नेपाली कामदारहरुको उद्धार गरेको पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिए ।

वैदेशिक रोजगारका क्रममा जाने नेपाली श्रमिकहरुको हकहितमा सरकार र निजि क्षेत्र मिलेर अगाडी नबढेसम्म समस्या जस्ताको तस्तै रहने अध्यक्ष कार्कीले दावी गरे ।

विगत ५ वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा गएर समस्यामा पर्ने नेपाली कामदारहरु करीब ७ हजारभन्दा बढी छन् । यो तथ्यांक अन्तिम भने होइन । । पीएनसीसीले उद्धार गरेका नेपाली कामदारहरुको तथ्यांक मात्र हो ।

प्रवासी नेपाली समन्वय समितिले सन् २०१३ देखि २०१७ उद्धार गरेका नेपाली कामदारहरु मध्ये मलेशियाबाट सबैभन्दा बढि समस्यामा परेका नेपाली कामदारहरु उद्धार गरेको दावी गरेको छ ।

सो अबधिमा ६ हजारभन्दा बढि पुरुष कामदार र ४ सयभन्दा बढि समस्यामा परेका महिला कामदारहरु उद्धार गरेको पीएनसीसीले जानकारी दिएको छ ।

सोमबार १८ औँ विश्व आप्रवासन दिवसका अवसरमा आयोजित एक कार्यक्रममा पीएनसीसीले सबैभन्दा बढि मलेशियामा नेपाली कामदारहरु समस्यामा पर्ने तथ्यांक सार्वजनिक गरेको हो ।

खाडी लगायतका मुलुकमा नेपालीहरुले जुनसमस्या भोग्नु परेको छ । त्यो समस्या विदेशको नभएर नेपाल कै समस्या भएको र समस्या सुल्झाउन सम्बन्धित पक्षको ध्यान जान जरुरी रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका उपसचिव दिनबन्धु सुवेदीले बताए ।

वैदेशिक रोजगारीका क्रममा जाने नेपाली श्रमिकहरुको समस्या न्यूनिकरणका लागि सरकारले पहल गरिरहेको उपसचिव सुवेदीले दावी गरे ।

कार्यक्रममा बोल्दै राहदानी विभागका सहसचिव विजयकुमार राउतले धेरै नेपाली कामदारहरु ठूलो संख्यामा समस्यामा परेको बताए । उनले नेपाली कामदारहरु बढि संख्यामा ड्राइभिङ काममा जाने पुरुषहरु बिना लाइसेन्स ड्राइभिङ गर्नुपर्ने हुँदा उनीहरु र्दुघटनामा परेपछि गल्ति नभएपनि स्वतः गल्ति ठहरीने र नेपाली कामदारले ठूलो रकम ब्लडमनि तिर्नुपर्ने समस्या हुने बताए ।

राउतले ठूलो संख्यामा गएका नेपाली कामदारहरुले विदेशमा कमाएको रकम समेत थारै संख्यामा जेल परेका नेपाली श्रमिकहरुका लागि ब्लडमनि तिर्न बराबर हुने बताए ।

वैदेशिक रोजगारको क्रममा ज्यान गुमाउनेहरुको संख्या पनि उत्तिकै ठूलो छ । ५ वर्षको अबधिमा पीएनसीसीले वैदेशिक रोजगारको क्रममा मृत्यू भएका ७ सय ८३ जना नेपाली कामदारहरुको शव स्वदेश ल्याउन सहयोग गरेको छ । त्यस्तै अलपत्र परेका २ सय भन्दा बढि नेपाली कामदारहरुलाई परिवारसम्म ल्याउन सहयोग गरेको जनाएको छ ।

२०७५ पुष २ गते १४:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर