नेपाल भ्रमण वर्ष सन् २०२० , के आउलान् त २० लाख पर्यटक ?

आजको खबर   |    प्रकाशित : २०७५ पुष ३ गते ४:३८

नेपाल पर्यटन बोर्डले १० लाख पर्यटक भित्रिएको अवसरमा एक साताअघि केक काटेर खुसियाली साट्यो। सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ, जसमध्ये प्रतिशत लक्ष्य पूरा भएको पाइयो। आगामी दुई वर्षको अवधिमा अर्को १० लाख पर्यटक भित्र्याउनु जति चुनौतीपूर्ण काम हो, त्यति नै नेपाली पर्यटन व्यवसायलाई विश्वव्यापी बनाउने अवसर पनि हो। पर्यटक यसै आउँदैनन्, त्यसका लागि गन्तव्य सुधार गर्नुपर्छ। नयाँ गन्तव्य पहिचान गरी प्रचारमा लैजानुपर्छ। घुम्न आउने पर्यटकका लागि हवाई उडान सहज बनाउनुपर्छ। पर्यटकको सुरक्षा र होटल व्यवस्था सुविधाजनक बनाउनुपर्छ र दक्ष गाइडको व्यवस्थापन पनि जरुरी हुन्छ। पर्यटकको संख्या मात्रै मुख्य होइन, गुणस्तरीय पर्यटन त्योभन्दा महत्वपूर्ण पक्ष हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिचान गरी घोषणा गरेको सय पर्यटकीय गन्तव्यलाई पनि अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छ। सात प्रदेश र ७७ जिल्लामा थप गन्तव्य पहिचान गरी तिनको वर्गीकरणसहित विकास गर्नुपर्छ। विदेशीलाई मात्र प्राथमिकता दिएर पनि पुग्दैन, आन्तरिक पर्यटक आकर्षणका योजना पनि बनाउनुपर्छ। सुविधासम्पन्न होटल, मनोरञ्जनदेखि आकर्षक गन्तव्यको विकास योजनाबद्ध रूपमा निर्माण नहुँदा महत्वाकांक्षी लक्ष्य हासिल हुनेमा शंका छ। पर्यटन व्यवसायी मात्रै होइन, विभिन्न मुलुकमा नियुक्त पर्यटन–दूतको अगुवाइ र मुखर भूमिका पनि भ्रमण वर्ष २०२० को सारथि बन्न सक्नुपर्छ।

संसारले नेपाललाई ‘हिमाली गन्तव्यको देश’ भनेर चिन्छ। सरकारले पहिचान गरेका चार सय १४ वटा हिमाल र त्यसमा आठ हजार मिटर अग्ला १४ वटा हिमालको प्रवद्र्धनको विशेष कार्यक्रम बनाउनु पनि उत्तिकै आवश्यक छ। अहिलेसम्म ५० देखि ६० वटा मात्र हिमाल आरोहण हुने गरेको छ, बाँकी हिमालको आरोहण र आरोहण हुन नसकेका ८६ हिमाललाई प्रवद्र्धन गरी गुणस्तरीय पर्यटक भिœयाउन सक्नुपर्छ। २० लाख पर्यटक भित्रिनु भनेको मानव आउजाउको संख्या मात्रै बढ्नु होइन, नेपाली आयस्तरमा समेत वृद्धि हुनु हो, आर्थिक उपार्जनले गति लिनु हो अनि रोजगार विस्तार हुनु पनि हो। यसका लागि नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, होटल व्यवसायी संघ, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ, साहसिक खेलसँग सम्बन्धित संस्थालगायत निजी क्षेत्रलाई परिचालन गर्ने कार्यक्रम ल्याउन र तोकेरै जिम्मेवारी दिन पनि सरकार हिच्किचाउनु हुँदैन।

अन्तर्राष्ट्रिय विमानस्थल एक मात्र हुँदा नेपाल घुम्ने इच्छा चाहेर पनि पूरा नहुन सक्छ। बन्दै गरेको पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिमा ढिलाइ हुनुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जामसँगै पार्किङ समस्या टड्कारो बनेको छ। सरकारले निर्माणाधीन विमानस्थल तत्काल सम्पन्न गर्ने भन्दै आए पनि नतिजा भनेजस्तो आउने देखिँदैन। त्रिभुवन विमानस्थल सुधार गरी अन्तर्राष्ट्रिय विमानका लागि चारवटा पार्किङ थप गरिने भएको छ। विमानस्थल सञ्चालन चार घन्टा थपेर २२ घन्टा पुर्‍याएपछि यात्रु संख्या सन् २०१७ को तुलनामा २०१८ मा ८७ हजार चार सयले वृद्धि भएर १० लाख ८६ हजार पाँच सय ९० पुगेको छ, यो सकारात्मक सूचक हो।

सन् २०३० भित्र ५० लाख पर्यटक पुर्‍याउने सरकारको अर्को महत्वाकांक्षी लक्ष्य छ। यो पूरा गर्न सरकार मात्र जिम्मेवार भएर पुग्दैन, पर्यटन व्यवसायी, होटल व्यवसायी, सञ्चारमाध्यमलगायतको भूमिका उत्तिकै रहन आवश्यक छ। गन्तव्यलाई सुन्दर, सुरक्षित र रमणीय बनाउनुका साथसाथै पर्यटकलाई कम्तीमा पाँच सय डलरसम्म खर्च गर्ने वातावरण पनि निर्माण गर्नुपर्छ। सबैको साझा प्रयत्नबाटै भ्रमण वर्ष २०२० सफल हुनेछ।

२०७५ पुष ३ गते ४:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर