नेकपा स्थायी कमिटी बैठक : सरकार र नेतृत्वको आलोचना

आजको खबर   |    प्रकाशित : २०७५ पुष ३ गते ७:१०

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई राजनीतिक, बैचारिक र सांगठनिक रुपमा एकतावद्ध बनाउन पार्टी नेतृत्वसँग माग गरेका छन्। केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको मंगलबारको बैठकमा पनि नेताहरुले पार्टीका सबै निकायहरुको एकीकरणको काम सम्पन्न गर्न ढिलाई भएकोमा पार्टी नेतृत्वको आलोचना गरेका थिए। उनीहरुले सरकारले जनअपेक्षा अनुसार पनि काम गर्न नसकेको भन्दै गुनासो गरे।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि मंगलबारको बैठकमा ८ जना नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रममा पार्टीलाई वैचारिक, राजनीतिक तथा सांगठनिक रुपले पनि एकतावद्ध बनाउन ढिलाई नगर्न नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। सोमबारको बैठकमा पनि नेताहरुले विधिसम्मत ढंगले पार्टी नचलेको र सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टी नेतृत्वको चर्र्को आलोचना गरेका थिए।

बैठकमा अध्यक्षद्धय ओली र दाहालको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा नेताहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले भाग लिएका थिए। सरकार र पार्टीको हालसम्मको काम कार्वाहीबारे नेताहरुले बैठकमा आ–आफ्नो धारणा राख्नु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

स्थायी समिति बैठक बुधबार पनि बस्नेछ। बुधबार बिहान ८ बजे बोलाइएको बैठकमा बाँकी नेताहरुले राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नेछन्। ४५ सदस्यीय नेकपा स्थायी समितिमा सोमबार १० जना र मंगलबार ८ जना गरी १८ जना नेताहरुले मात्रै बोलेकाले बैठक अझै केही दिन लम्बिन सक्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

शनिबारबाट सुरु भएको नेकपा स्थायी समिति बैठकमा सचिवालय सदस्य बामदेव गौतमले आफूप्रति पूर्वाग्रही दृष्टिकोण राखेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीका चर्को आलोचना गरेका थिए।

२०७५ पुष ३ गते ७:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर