वैदेशिक रोजगार : नेपालले के पायो, के गुमायो ?

आजको खबर   |    प्रकाशित : २०७५ पुष ४ गते ६:०२

निर्मला घिमिरे

काठमाडौं। नेपालमा श्रमको मूल्य र रोजगारको अवसर दुवै न्यून हुँदा नेपाली श्रमिक वैदेशिक रोजगारमा जानै पर्ने बाध्यता छ। केही समय अगाडि पुरुष कामदार मात्र वैदेशिक रोजगारमा जाने गरेको नेपालमा महिला कामदारसमेत रोजगारीका लागि उलेख्य संख्यामा जान थालेका छन्।

नेपालम पर्याप्त रोजगारका सिर्जना नहुनु र लगानी मैत्री वातावरण नहुनुले झन् झन् वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै गएको पाइएको छ।
नेपालले १ सय १० वटा मुलुकलाई संस्थागत रुपमा वैदेशिक रोजगारमा जानका लागि खुल्ला गरेको छ भन व्यक्तिगत श्रम स्विकृति लिएर १ सय ७२ वटा मुलुकमा नेपाली कामदार वैदेशिक रोजगारका लागि जान सक्ने प्रावधान छ।

मलेशिया लगायतका खाडी मुलुकमा ८६ प्रतिशत भन्दाबढी नेपाली कामदार जाने गरेको बताउँछन् वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ।

निर्देशक श्रेष्ठले वैदेशिक रोजगारमा जाने कामदारमध्ये १ दशमलव ५ प्रतिशत कामदार दक्ष, २४ प्रतिशत कामदार अर्धदक्ष र ७४ दशमलव ५ प्रतिशत नेपाली कामदारहरु अदक्ष रहेको विभिन्न अध्ययनले देखाएको बताए।

वैदेशिक रोजगारबाट नेपाललाई के फाइदा ?

वैदेशिक रोजगारबाट नेपाललाई हुने मुख्य फाइदा भनेको विप्रेषण (रेमिट्यान्स) नै रहेको छ। नेपाल राष्ट्र वैकंको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०५०/०५१ मा विप्रेषण आप्रवाह २ अर्ब १५ करोड रुपैयाँ रहेको थियो। आर्थिक वर्ष २०७२/०७३ मा विप्रेषण आप्रवाह बढेर ६ खर्ब ६५ अर्ब रहेको बैंकको तथ्यांकमा उल्लेख छ। जसको कुल गार्हस्थ उत्पादनसँगको अनुपात २९ दशमलब ६ प्रतिशत हुन आउँछ।

तेस्रो घर परिवार सर्वेक्षण २०११ अनुसार वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स मुलुकको ५५ दशमलव ८ घरधुरीमा पुग्ने गरेको उल्लेख छ।
मुलुकका करिब ३१ लाख घर परिवारले प्रतिपरिवार औसत ८० हजार ४ सयका दरले नियमित रुपमा रेमिट्यान्स प्राप्त गरिरहेको देखाउँछ।
वैदेशिक रोजगारबाट नेपाललाई हुने अर्को फाइदा भनेको सीपयुक्त जनशक्ति रहेको छ।

विदेशमा सिकेको सीप खास गरेर कृषि क्षेत्रमा विदेशबाट सिकेर आएको सीप अनुसारको काम गरी नेपाली कामदारहरु स्वदेशमै लाभान्वित हुँदै आएको एक तथ्यांकले देखाएको छ।

केही वर्ष अगाडि ३१ प्रतिशत नेपाली गरिबीको रेखामुनी रहेकोमा वैदेशिक रोजगारीका कारणले त्यो गरिबीको रेखामुनी रहेका नेपालीहरुको संख्या घटेर २३ दशमलव ८ प्रतिशतमा झरेको आर्थिक सर्वेक्षण प्रतिवेदन २०७१/०७२ ले देखाएको छ। यसरी गरिबी घट्नुमा विप्रेषण (रेमिट्यान्स) प्रमुख कारक तत्व रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।

समग्रमा हेर्दा नेपाल जस्तो विकासोन्मुख मुलुकमा वैदेशिक रोजगार धेरैका लागि बाध्यता र थोरैका लागि रहरको विषय भएपनि कामदारको जीवनस्तर उकास्नमा महत्वपूर्ण योगदान वैदेशिक रोजगारीले पुर्याएको छ।

गएका १० वर्षमा कति नेपाली कामदार विदेशिए ?

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विंस २०६५ सालदेखि सुरु गरेको वैदेशिक रोजगारमा जाने नेपाली कामदारको तथ्यांकमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या बढ्दै गएको पाइएको छ। आर्थिक वर्ष ०६५/०६६ मा वैदेशिक रोजगारमा २ लाख १९ हजार भन्दाबढी नेपाली कामदार वैदेशिक रोजगारमा गएका वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। त्यस्तै ०६६/०६७ मा २ लाख ९४ हजार भन्दाबढी नेपाली कामदार वैदेशिक रोजगारको लागि खाडी लगाएतका विभिन्न देशमा पुगेका छन्।

विंस ०६७/०६८ मा ३ लाख ५४ हजार भन्दाबढी नेपाली कामदार वैदेशिक रोजगारमा पुगेका छन्। ०६८/०६९ मा ३ लाख ८४ हजारबढी नेपाली कामदार वैदेशिक रोजगारमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ।

०६९/०७० मा ४ लाख ५३ हजार नेपाली कामदार वैदेशिक रोजगारका लागि गएको विभागको तथ्यांकले बताएको छ। विंस ०७०/०७१ मा कामको खोजिमा ५ लाख २७ हजार भन्दाबढी नेपाली युवाहरु विभिन्न देशमा गएका छन्।

०७१/०७२ मा अघिल्लो वर्षकै हाराहारिमा ५लाख २७ हजार नेपाली कामदार वैदेशिक रोजगारमा गएको वैदेशिक रोजगार विभागको तथ्यांक देखाउँछ । ०७२र०७३ देखि वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या घट्दै गएको पाइएको छ। ०७२/०७३ मा वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेर ४ लाखमा झरेको छ।

०७३/०७४ मा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ३ लाख १२ हजारमा झरेको विभागको तथ्यांकले नै देखाएको छ। वैदेशिक रोजगारमा जाने कामदारको संख्या घटेपनि विप्रेषण आप्रवाह भने बढ्दै गएको पाइएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। जीडिपीको अनुपात पनि बढ्दै गएको पाइएको छ । ०७४/०७५ को तथ्यांक अनुसार ३ लाख १२ हजार नेपाली कामदार वैदेशिक रोजगारका लागि पुगेका छन्।

नेपाल सरकारले वैदेशिक रोजगारका लागि विभिन्न देश पुगेर फर्किने नेपाली कामदारको तथ्यांक भने राख्न सकेको छैन। दश वर्षको अन्तरालमा ३७ लाख भन्दाबढी पुरुष र १ लाख ९७ हजार महिला कामदार वैदेशिक रोजगारका लागि विभिन्न देशमा पुगेको तथ्यांकमा उल्लेख छ।

एक दशकमा ६ हजार ७ सय कामदारको ज्यान गयो, १ हजार १ सय अंगभंग

नेपाली कामदारहरुले वैदेशिक रोजगारका क्रममा महंगो सामाजिक मूल्य र अमूल्य जीवन समेत चुकाउँदै आउनु परेको छ। वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै कामदारको आय, सुरक्षा र मर्यादित श्रमको वातावरण सिर्जना गर्न नसक्नु सरकारका लागि निकै चुनौतीको विषय रहेको छ।

वैदेशिक रोजगारको क्रममा विभिन्न मुलुकमा पुगेका ६ हजार ७ सय ८ जना नेपाली कामदारले ज्यान गुमाएका छन्। वैदेशिक रोजगारमा ज्यान गुमाउने नेपाली कामदारको वास्तविक संख्या भने यो होइन। वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएर वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट आर्थिक सहायता पाउनेको संख्यामात्र यो रहेको बोर्डले जानकारी दिएको छ। एकदशकमा अंगभंग हुनेहरुको संख्या पनि निकै ठूलो छ। वैदेशिक रोजगाको क्रममा १ हजार १ सउ ७८ जना महिला तथा पुरुष कामदार अंगभंग भएको बोर्डको तथ्यांकमा उल्लेख छ।

१० वर्षको अन्तरालमा सबै भन्दा बढी नेपाली कामदारले मलेशियामा ज्यान गुमाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकमा उल्लेख छ। मलेशियामा २ हजार ४ सय ९६ नेपाली कामदारहरुले ज्यान गुमाएका छन्। साउदीमा १ हजार ३ सय नेपाली कामदारले ज्यान गुमाएका छन्। धेरै नेपाली कामदारले ज्यान गुमाएका मुलुक मध्ये तेस्रोमा कतार रहेको छ। कतारमा १ हजार ३ सय ६७ कामदारले ज्यान गुमाएका छन्। संयुक्त अरब इमिरेट्समा ५ सय ४४ जना नेपाली कामदारले ज्यान गुमाएका छन्।

कुबेतमा २ सय २१ नेपाली कामदारले ज्यान गुमाएका छन्। कुबेतपछि दक्षिण कोरियामा १ सय ३ नेपाली कामदारले ज्यान गुमाएका छन्। त्यस्तै बहराइन, इजरायल, माल्दिभ्स, पोल्याण्ड, रसिया, लेबनान लगायत विभिन्न ३५ वटा देशहरुमा नेपाली कामदारले वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका छन्।

अंगभंग हुने कामदार पनि सबैभन्दा बढी मलेशियामा ५ सय ७ जना रहेका छन्। साउदीमा २ सय ७७ जना कामदार अंगभंग भएका छन्। कतारमा २ सय २३, संयुक्त अरब इमिरेट्समा १ सय ५१ र कुबेतमा ४६ नेपाली कामदार अंगभंग भएका छन्।

मकाउ, लेवनान, ओमान, साइप्रस, जोर्डन लगायतका विभिन्न १५ वटा देशहरुमा वैदेशिक रोजगारका क्रममा नेपाली कामदारहरु अंगभंग बनेका छन्। १ सय भन्दा बढी विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धार बोर्डले गरेको छ। १ सय ९१ वटा विदेशमा अलपत्र परेका शवहरु बोर्डले नेपाल झिकाएको छ। र ९ सय १७ वटा शवलाई मृतकको घर ठेगानसम्म ढुवानी गरेको बोर्डले जनाएको छ। डिसी नेपालबाट

२०७५ पुष ४ गते ६:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर