सरकारको कामकारवाही देखी राष्ट्रपती असन्तुष्ट

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते ५:०९

काठमाडौं ।  सरकारले गरेका निर्णयमा आफूलाई जोडेर तल्लोस्तरका टीकाटिप्पणी र आलोचना भइरहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले सामाजिक जीवनका विभिन्न व्यक्तिहरुसँगको अनौपचारिक भेटमा अनावश्यकरुपमा आफू र राष्ट्रपति संस्थालाई बदनाम गर्न खोजिएको गुनासो गरेकी छन् ।

विशेष गरी सरकारले विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु आउँदा समेत प्रयोग गर्न हुने गरी गाडी र कारगेड किन्न लागेकोसम्बन्धी समाचार र त्यसपछि समाजले पत्याएका र प्रतिष्ठित बुद्धिजीवीहरु समेत गालीगलौजमा उत्रिएको भन्दै राष्ट्रपतिले दुःख व्यक्त गरेको शीतलनिवास पुगेर फर्किएका एक बरिष्ठ पत्रकारले बताए ।

देशले पहिलो महिला राष्ट्रपति पाएको बेला आफूलाई महिलावादी भन्ने केही अभियन्तासमेत कुरै नबुझी चरित्र हत्यामा उत्रिएको राष्ट्रपतिले गुनासो गर्न थालेकी छिन् ।

राष्ट्रपतिका एक सहयोगीले भने- गाडी किन्ने निर्णय अघिल्लै सरकारले गर्‍यो । सरकारले गरेको निर्णयमा राष्ट्रपतिलाई दाइजो दिन लागिएजस्तो गरी प्रचार भएकोमा उहाँ दुःखित हुनुहुन्छ ।

सरकारले औपचारिकरुपमा आफ्ना निर्णयको बचाउ गर्नेबाहेक सत्तारुढ नेकपाका नेता र सांसदहरुबाट प्रतिरक्षा नभएकोमा पनि राष्ट्रपति कार्यालयले असन्तुष्टि व्यक्त गरेको स्रोतले बतायो ।

‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत अति विशिष्ठ व्यक्तिका लागि सेनाले किन्न लागेको हेलिकोप्टर पनि विद्या भण्डारीको निजी सवारी साधन किन्न लागिएको जसरी प्रचार हुँदा उहाँ दुखित हुनुहुन्छ’ उनलाई भेटेकी एक महिला अधिकारकर्मीले भनिन् ‘हरेक प्रचारको राष्ट्रपतिले जवाफ फर्काउँदै हिँड्न पनि नहुने भएकाले उहाँ चिन्तित हुनुहुन्छ’ ।

अहिले राष्ट्रपतिले सुख सुविधा र विलासिता खोजेको जसरी भइरहेका प्रचारबारे राष्ट्रपति कार्यालयले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

राष्ट्रपतिले नेकपाका कतिपय विवादास्पद एवं तल्लो स्तरका कार्यकर्तासँग बाक्लो भेटघाट गरेको समाचार बाहिर आउँछ, तर राष्ट्रपति कार्यालयका सल्लाहकारहरुले मिडियासँगको पहुँच दुरह बनाएर सेनाको मातहतमा राख्ने गरेको गुनासो बढेको छ ।

पत्रकारले तस्वीर लिँदासमेत राष्ट्रपति कार्यालयका सुरक्षाकर्मीहरुले पक्राउ गर्ने गरेका छन् । राष्ट्रपति आम जनताले नदेखिने र नभेटिने बन्दै जान थालेको गुनासो बढेको छ ।

२०७५ पुष ५ गते ५:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर