गरे के हुन्न र ? दूध र तरकारी गरेर मासिक रु ५० हजार, दूध बोकेर घण्टौँ हिड्छन ७० वर्षीय बृद्द

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते ३:५७

बागलुङ। उज्यालो नहुँदै डोकोमा दूध बोकेर बजार हिँड्छन् ७० वर्षीय मोतीलाल सापकोटा । विसं २०५० देखि उनको दैनिकी यसरी नै चलेको छ । उमेर ढल्के पनि बागलुङ नगरपालिका–३ बोक्सेका सापकोटाको जाँगर भने उस्तै छ । दूध बोकेर बजार आउन डेढ घण्टा लाग्छ । दूधसँगै घरमा उब्जेको तरकारी पनि बिक्रीका लागि उहाँसंगै बजारमै आइपुग्छ । “बागलुङ बजारमा दूध बेच्न लागेको २५ वर्ष भयो”, सापकोटा भन्छन्, “दूध र तरकारी गरेर मासिक रु ५० हजार जति कमाइ हुन्छ ।”

सापकोटाको घरमा तीन भैँसी छन् र चार रोपनी जग्गामा तरकारी खेती हुन्छ । “दैनिक १० लिटर दूध बेच्छु”, उनि बताउछन, “दूधसँगै तरकारी पनि बेच्छु ।” बिहानै बजारका घर र डेरा गरी बस्नेका कोठाकोठामा उनि दूध पुर्याउने गर्छन। इच्छा हुनेले तरकारी पनि सापकोेटाबाटै किन्छन् ।

बजारमा उनीसंग दूध किन्ने नियमित ग्राहक छन् । कसैले एक लिटर त कसैले आधा लिटर दूध दैनिक राख्छन् । पैसा भने महीनाभरको एकैसाथ बुझाउँछन् । बिहानभर बजारमा दूध, तरकारी बेचेपछि खाना खाने समयमा सापकोटा घरै पुग्छन र बाँकी दिन भैँसी र तरकारीबालीको रेखदेख तथा स्याहारमै बित्छ ।

साधारण खेती किसानी बाउबाजेबाटै सिक्केका हुन्, दूध बेच्दा कमाइ हुन थाले पनि भैँसीपालनलाई व्यावसायिक बनाएक हो । “तीन÷चार वटा भन्दा धेरै भैँसी बढाएको छैन”, सापकोटा भन्छन, “मलाई यति नै ठिक्क छ, तरकारीबाट पनि राम्रै आम्दानी भइरहेको छ ।”

गोलभेँडा, साग, बन्दा, काउली, करेला, धनियाँलगायत तरकारी उब्जाउ गर्दै आएका उनलाई टनेल बनाउन केही वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुदान दिएको थियोे । केही समय काममा सघाउन एक मजदूर राखे पनि अहिले सापकोटा आफँैले सबै काम धान्दै आएका छन् । “श्रीमती र बुहारीले पनि सघाउँछन्, धेरैजसो काममा म आफँै खटिन्छु”, सापकोटा भन्छन्, “७० वर्षको भएँ, अझै मेहनत र परिश्रम गर्नुपर्छ भन्ने सोँच आउँछ ।” बुढ्यौलीमा पनि कृषि पेशाप्रति उनको लगाव देखेर अरु गाउँले पनि प्रेरित छन् ।

स्वास्थ्यले साथ दिउञ्जेलसम्म कृषि पेशा नै गर्ने सापकोटाको अठोट छ । व्यक्तिगत लगानी, श्रम र मेहनतकै भरमा उनि कृषिमा टिक्न सफल भएका हुन । “उनी संधै हँसिलो, फूर्तिलो देखिन्छन, ग्राहकसँग गर्ने व्यवहार पनि राम्रो छ”, बागलुङ बजारकी कुमारी पौडेल भन्छिन, “ सापकोटाले ल्याउने दूधमा कुनै मिसावट छैन, तरकारी पनि ताजा ल्याउछन् ।” श्रीमती दलदेवी, कान्छा छोरा प्रेम, बुहारी र नातिनातिनासँगै बस्दै आएका सापकोटाका जेठा छोरा रामकृष्ण र कान्छा छोरा प्रेम ‘पलम्बर’ हुन् ।

माइला छोरा लक्ष्मण जापानमा छन् । “मेहनत गर्न बुबाबाटै सिक्यौँ” रामकृष्ण बताउछन्, “बुबा अहिले पनि काममा उत्तिकै खटिनुहुन्छ, काममै एकमन दिनुहुन्छ ।” सापकोटा बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घका शेयर सदस्यसमेत रहेका छन् । सहकारीमै दूध पठाउन चाहे पनि दूधको गाडी चल्ने सडक पायकमा नपरेपछि डोकोमै बोकेर बजार ल्याउनुपरेको उनको भनाइ छ ।

२०७५ पुष ६ गते ३:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर