चिया एक : स्वाद अनेक

आजको खबर   |    प्रकाशित : २०७५ पुष २२ गते ८:०१

 किरण पौड्याल

इलाम,। चिया केका लागि पिइन्छ ? जवाफका लागि पर्खनु पर्दैन, स्वादका लागि । हरेक बिहान अधिकांश नेपालीका घरमा चिया पिइन्छ । धेरैले चिया स्वादकै लागि पिउँछन् । हामीले पिउने चिया पनि आ–आफ्नै छन् । कोही चियामा दूध मिसाएर त कोही नमिसाई । हरेक तरिकाले फरक–फरक स्वाद चियामा पाउन सकिन्छ ।

हामीले पिउने चिया दुईदेखि तीन प्रकारका छन् भने दाम पनि किलोको दुई सयदेखि एक हजारसम्म । तर इलामको एउटा प्रशोधन केन्द्रमा स्वाद र गुणस्तरअनुसार फरकफरक २५ प्रकारका चिया प्रशोधन गरिन्छ । इलाम नगरपालिका–४ को जस्बिरे टी प्रशोधन उद्योगमा बनाइने यी चियाको दाम सुन्दा धेरैलाई विश्वास नलाग्न पनि सक्छ । न्यूनतम रु चार हजारदेखि अधिकतम ३५ हजार प्रतिकिलोसम्म यिनको मूल्य रहेको छ ।

गत चार वर्षअघि देखि प्रशोधन गर्न थालिएका विविधतायुक्त यी चियाको बजार भने नेपाल नभई विदेश नै हो । प्रशोधन केन्द्रका प्रबन्ध निर्देशक शरद सुब्बाका अनुसार यी चियाको बजार जर्मनी, नेदरल्याण्ड्स, फ्रान्स र अमेरिका हुन् । उनका अनुसार यी चिया मौसमअनुसार ‘फुल फर्मेटेड’, ‘सेमी फर्मेटेड’ र ‘नन् फर्मेटेड’ गरी तीन तरिकाले बनाइन्छ ।

फुल फर्मेटेडअनुसार लामो समयसम्म अक्सिजनमा प्रशोधन गरेर यी चियाहरू बनाइन्छ । करीब १० घण्टादेखि तीन दिनसम्म रासायनिक प्रक्रिया गराएपछि यो चिया बनाउन सकिन्छ । सुब्बाका अनुसार यो तरिकाले ‘गोल्डेन टी’, ब्ल्याक टी’ लगायत चिया बनाइन्छ ।

यस्तै अर्को प्रकार हो, ‘सेमी फर्मेटेड टी’ । दुईदेखि तीन घण्टा मात्र प्रशोधन गरेर यो चिया बनाउने गरिएको सुब्बाको भनाइ छ । यस्तै अर्को प्रकार हो, ‘नन् फर्मेटेड टी’ । उनका अनुसार हरियो पत्ती चिया टिपेर खाँदा जस्तो स्वाद हुन्छ, त्यस्तै स्वादको चिया हो नन् फर्मेटेड टी ।

सुब्बाका अनुसार अन्य प्रकारका चियामा ‘येल्लो टी’, ‘ह्वााइट टी’, ‘सिल्भर टी’, ‘टिपी टू’, ‘रोस्टेट ग्रिन’, ‘स्पेशसन ग्रिन’, ‘मट्याङ्ग्रा टी’, ‘ब्ल्याक ओभल’, ‘ब्ल्याक पर्ट’, ‘एटम ब्ल्याक’, ‘गोल्डेन निडल’ लगायतका छन् । सुब्बाले यीमध्ये पनि सबैभन्दा महङ्गो चिया ‘ग्लोमिन टी’ रहेको जानकारी दिनुभयो । “यो चियाको मूल्य रु ३५ हजार प्रतिकिलो छ,” सुब्बाले थपे, “यो चिया नेपालमा त बिक्री हुँदैहँुदैन । यो चियालाई अत्यन्तै मिहिनेत गरेर हामीले हातले बनाउँछौँ ।” उनले उक्त चिया स्वास्थ्यका लागि पनि फाइदा हुने भएकाले विदेशमा ‘हारालुछ’ शैलीमा बिक्ने गरेको बताए ।

उनका अनुसार विदेशमा येल्लो टीलाई रु एक हजार पाँच सय, ह्वाइट टीलाई चार हजार, सिल्भर टीलाई दश हजार, रोस्टेड ग्रिनलाई दुई हजार, ब्लाक ओगललाई पाँच हजार, हिमालय गोल्डलाई पाँच हजार रुपैयाँ प्रतिकिलो पर्छ । सुब्बाले स्वादका लागि मात्र नभई विदेशीले स्वास्थ्यका लागि पनि चिया पिउने गरेकाले उद्योगबाट उत्पादित चिया औधी रुचाउने गरेको जानकारी दिनुभयो । “सरकारले नै यस्तो किसिमको चिया खाँदा उपयुक्त हुन्छ भनेर तोकिदिएको हुन्छ । त्यसैले महङ्गै भए पनि धेरैले किन्छन्,” सुब्बाले भने ।

महङ्गो र जानकारी नभएका कारण नेपालमा यो किसिमको चिया खपत नहुने गरेको सुब्बाको भनाइ छ । सरकारी तवरबाट जनचेतनामूलक काम नहुनु र सर्वसाधारणमा ‘चिया जस्तो भए नि उस्तै हो’ भन्ने धारणाले चिया नबिक्ने गरेको सुब्बाले बताए । उन्नाइस वर्षअघि देखि चियाको प्रशोधन थालेका सुब्बाले वार्षिक २० हजार किलो चिया प्रशोधन गर्छन् ।

२०७५ पुष २२ गते ८:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर