अनियमितता गर्ने संस्कृतिलाई नर्कादै निर्धारित समयभन्दाअघि नै पायो जलविद्युत आयोजनाले पूर्णता

आजको खबर   |    प्रकाशित : २०७५ पुष २४ गते ३:१८

भोजपुर । नेपालमा कुनै पनि आयोजना निर्धारीत समयमा सक्किएको खबर सायद कमै सुन्न पाउँछौ । आयोजना जुनसुकै प्रकृतीको होस् , त्यसमा अनियमितता भ्रष्टाचार भएको नै हुन्छ । काम ढिलो गर्ने , बिचमै काम छोडेर भाग्ने , कर छल्ने , गुणस्तरहिन् काम गर्नेजस्ता अनैतिक क्रियाकलाप ठेकेदारहरुको लागी सामान्य विषय हो । तर नेपालजस्तो अल्पविकशित देशमा यस्तो क्रियाकलापले जरा गाढेर बसेको छ र त्यसको सास्ती सरकार , समाज , स्थानिय निकाय तथा प्रत्येक नागरिकले भोग्नु परेको छ । तर भोजपुरमा एउटा यस्तो आयोजनाको काम तिव्र भइरहेको छ , जुन जसको उपलब्धिले पुरा जिल्ला उज्यालो हुनेछ । ठूलो ५ मेगावाट विद्युत क्षमताको इस्टर्न हाइड्रो पावर आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको छ । प्राविधिक कारणले झण्डै साढे पाँच वर्ष रोकिएको जलविद्युत आयोजनाको काम अहिले तीव्र गतिमा भैरहेको छ ।

१ अर्ब १४ करोडको लगानीमा बन्ने आयोजनाको पीपीएअनुसार २०७६ असार मसान्तसम्म सकिने सम्झौता भए पनि निर्माणको गति हेर्दा चालु आर्थिक वर्ष ०७५/७६ को फागुन अन्तिममा सकिने लक्ष्य आयोजनाले राखेको छ । आयोजनाको फेब्रिकेशन (कच्चा फलामका पातालाई पाइपका लागि जोड्ने, दोबार्ने, वेल्डिङ गर्ने काम), मुहान बाँधको निर्माणको काम भइरहेको इस्टर्न हाइड्रो पावर इञ्जिनियर रोशन साहले बताए । साहले भने, ‘आयोजनाको विद्युत गृहदेखि मुहानसम्मको ४ किलोमिटर एड्रेस पाइप बिछ्याउने, टर्बाइन राख्ने, फोर वे निर्माण, मुहानको बाँध बाँध्ने काम अन्तिम चरणमा पुगेको छ, विद्युत गृहमा टर्बाइन राख्ने काम बाँकी छ त्यसको लागि चीनको प्राविधिक टोली आएर जडान गर्ने छ ।’

२०६२ सालमा तत्कालीन समयका लागि नेपाल विद्युत प्राधिकरणसँग ४५ करोडको लगानीमा २ दशमलव ५ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेगरी सम्झौता अनुरुप आयोजनाको सर्भे गरिएको थियो । २०६७ सालबाट आयोजनाको निर्माण सुरु गरिए पनि सडक, विद्युत प्रसारण, इन्धन, नाकाबन्दी, भूकम्प, विविध राजनीतिक गतिरोधका कारण निर्माण ठप्प जस्तै भएको थियो । पछि २०७२ साल अन्त्यतिर आयोजनाको विद्युत क्षमता बढाएर ५ मेगावाट पुर्‍याइएपछि निर्माणको कामले तीव्रता पाएको इस्टर्न हाइड्रो पावरका आयोजना अधिकृत दिपेन राईले बताए । राईले भने ‘नेपाल विद्युत प्राधिकरणलाई ३५ वर्षका लागि हस्तान्तरण गरिने सम्झौता रहेको ५ मेगावाटको यो आयोजना आगामी फागुन महिनाबाट सर्वसाधरणमा वितरण गरिनेछ ।’

हाइड्रोपावरको कुल लागत एक अर्ब १५ करोडको प्राविधिक इस्टिमेटमध्ये आयोजनाबाट प्रभावित स्थानीय क्षेत्रमा कुल ६ करोड २० लाख बराबरको हिस्सामा शेयर आगामी माघबाट खुल्ने आयोजना अधिकृत दिपेन राईले बताए । राईले भने, ‘आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय पहिलो प्राथमिकतामा पर्ने भएकाले आयोजनाको कुल इस्टिमेटको १० प्रतिशत शेयरमा प्रभावित क्षेत्रका लागि शेयर खुल्ला गरिने छ ।’

आयोजनाको एनएमबी क्यापिटल लिमिटेडमार्फत धितोपत्र जारी गरी शेयर खुलाउने व्यवस्था गरिएको छ । कानुनी रुपमा वैधता रहने गरी भोजपुर जिल्लाको नागरिकता भएका प्रभावित क्षेत्रका उपभोक्ताहरुका लागि शेयर खुल्ला गरिने आयोजनाले जनाएको छ ।

२०७५ पुष २४ गते ३:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर