पर्यटकीय गन्तव्य सौराहामा प्रदुषण डरलाग्दो रुपमा बढ्दै

आजको खबर   |    प्रकाशित : २०७५ पुष २५ गते ७:११

 सुरेन कुँवर

रत्ननगर,। चितवन राष्ट्रिय निकुञ्जको हरियालीबीच बगेको राप्ती नदी । काखैमा रहेको पर्यटकीय गन्तव्य सौराहा । सौराहा दुर्लभ एक सिङ्गे गैँडा, काँडे भ्याकुर र पाटे बाघको बासस्थान हो ।

यहीँको प्रकृतिसँग रमाउन दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । सौराहा हेर्दा रमणीय र स्वच्छ देखिन्छ तर, प्रदूषण मात्रा पनि यहाँ डरलाग्दो रुपमा बढिरहेको छ ।

हालै वन तथा वातावरण मन्त्रालय वातावरण विभागले हावामा धुलो मापन गर्दा देशकै प्रमुख पर्यटकीय गन्तव्य सौराहा क्षेत्र तेस्रो स्थानमा परेको छ । देशभरका १९ ठाउँमा गरेको मापनअनुसार काठमाडौँ पहिलो र लुम्बिनी दोस्रो स्थानमा छन् । विभागका प्रविधि उपसचिव शंकरप्रसाद पौडेलले भने – “हिउँदको समयमा लुम्बिनी जस्तै सौराहामा पनि प्रदूषण देखिएको छ । हावामा धुलोका मसिना कणहरु प्रशस्त पाइएको छ ।”

सौराहा क्षेत्रले चितवन जिल्लाकै प्रतिनिधित्व गर्ने हुनाले पूरै जिल्लाको हावामा अत्यधिक मात्रामा धुलोका कणको उपस्थिति रहेको आकलन गर्न सकिन्छ ।

“सौराहाको वातावरण सन्तोषजनक छैन, नजीकै वनजङ्गल, उद्योगहरु नभए पनि सौराहा प्रदूषणयुक्त देखियो,” उपसचिव पौडेलले भने – “तराईका जिल्लामा हुने आगलागी, चितवन राष्ट्रिय निकुञ्जमा लाग्ने डढेलोलगायतका कारण सौराहामा प्रदूषण बढी देखिएको हुनु्पर्छ ।”

सन् २०१७ को मापनअनुसार सौराहा क्षेत्रको हावामा वार्षिक औसतमा ९२ दशमलव १ धुलोको कण पाइएको थियो ।
विभागका अनुसार सौराहा क्षेत्रको वातावरणीय प्रदूषणलाई न्यून गर्न स्थानीय सरकारले उपयुक्त योजना तयार गरी कार्यान्वयनमा लैजान सक्ने वातावरणविद्हरु सुझाउँछन् ।

सौराहासँगै जोडिएको चितवन राष्ट्रिय निकुञ्जको कुल क्षेत्रफलको १२ प्रतिशत घाँँसे मैदानमा डढेलो लगाइन्छ । निकुञ्जका अनुसार दुर्लभ एक सिङ्गे गैँडालाई संरक्षण गर्ने उद्देश्यले पौष्टिक आहारयुक्त घाँस उत्पादन गर्न डढेलो लगाउने गरिएको हो ।

डढेलोले जलवायु परिर्वतनमा प्रतिकूल असर पार्नाका साथै स्थानीय वस्तीहरुमा प्रदूषण फैलाएको छ । यसको असर सौराहामा मात्र नभई पूरै जिल्लाभर फैलिएको छ । वातावरणविद्हरुका अनुसार निकुञ्जले प्रदूषणलाई न्यून गर्न ठूलो भूमिका खेलेको छ । निकुञ्जले प्रदूषणलाई कम नगरेको भए सौराहा आसपासका क्षेत्र मानिस बस्न लायक हुँदैन्थ्यो ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सौराहाको हावामा भेटिएको धुलोका कणको तथ्याङ्कले आफूलाई भस्काएको प्रतिक्रिया दिए ।

उनले भने – “जङ्गलमा डढेलो लाग्छ । खरानी सौराहामा आउँछ । त्यही बेलाको तथ्याङ्क विभागले लिएको हुनुपर्छ ।”

प्रमुख वनले सौराहामा पहिलो जस्तो प्रदूषण नभएको दाबी गरे । उनले भने – “रत्नगर नगरपालिकाले वातावरणमैत्री वडा घोषणा गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा प्लाष्टिक निषेध छ । सौराहाको वातावरण पवित्र बन्दै गएको छ ।”

प्रमुख वनले लोथरलगायतका खोलामा गाडी धुने गरेका कारणले पनि प्रदूषण बढेको बताए । उनले भने – “अब निश्चित ठाउँमा गाडी धुने व्यवस्था गरिनुपर्छ । जहाँ पायो त्यहीँ, अझ बस्तीको माझमा रहेको खोलामा गाडी धुन रोकिनुपर्छ ।” आफू रत्ननगरलाई ‘ग्रीन सिटी’ बनाउन लागिपरेको जानकारी पनि उनले दिए ।

जङ्गलमा पर्यटकलाई वन्यजन्तु देखाउने नाममा डढेलो लगाउने प्रचलन रोकिनुपर्ने र निकुञ्जका खर तथा झाडीहरुको व्यवस्थित कटानका लागि ‘ग्रास कटिङ’ को व्यवस्था गरिनुपर्ने उनको सुझाव छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली वनमा लागेका डढेलाले सौराहामा प्रदूषण बढाएको ठान्छन् ।

उनले भने – “वनमा डढेलो होइन, ग्रास कटिङ मेसिन ल्याएर खर र झाडीहरु फालिनुपर्छ ।”

प्रदेश २ का तराईका जिल्लामा भएको प्रदूषणको मार सौराहा क्षेत्रले खेप्नु परेको व्यवसायीहरुको भनाइ छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरे यो समस्यामाथि बेलैमा सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्ने बताउछन् । “सौराहा र चितवनकै अस्तित्व जोगाउन जनचेतना फैलाउनुपर्छ,” उनले भने – ‘वायु प्रदूषणका कारक डढेलो नियन्त्रण गर्न वैकल्पिक उपायहरु खोजिनुपर्छ । एक तर्फको संरक्षण गर्दा अर्को तर्फको विनाशमा ध्यान पुग्नुपर्छ ।”

निर्माण कार्यले प्रदूषण बढायो

चितवनको आकाश पछिल्लो समय धुलाम्ये बन्दै गएको छ । यसको मुख्य कारण हो पूर्वाधार निर्माणका गतिविधि । “केही वर्षअघि चितवनको आकाश यस्तो थिएन,” भरतपुर महानगरपालिका–९ का सुजन अधिकारीले भने – “जताततै बाटाको काम भइरहेको छ । सबै धुलो आकाशमा थुप्रिन गएको छ ।”

हिउँदको समय धुलो उड्ने भएकाले माक्सको प्रयोग गर्नै पर्ने अवस्था आएको छ । स्थानीय तहको निर्वाचनपछि चितवनका अधिकाँश सडकहरु अहिले चौडा पार्ने, स्तरोन्नति र कालोपत्र गर्ने कार्य भइरहेका छन् । निर्वाचनका समय मतदाताले सडक निर्माणलाई नै प्राथमिकतामा पारेकाले चितवनका सबै स्थानीय तहले अन्य क्षेत्रको बजेट पनि पूर्वाधार निर्माणमै लगाएका छन् । अहिले पूर्वी र पश्चिम चितवनमा नयाँ कालोपत्र थप्ने काम भइरहेका छ भने भरतपुर महानगरपालिकामा रहेको बाइपास रोड फराकिलो बनाइँदैछ । पछिल्लो समय चितवनमा देखिएको सवारी साधनको तीव्र वृद्धिले ध्वनि र वायु प्रदूषणलाई बढाएको प्रष्ट छ ।

शहरीकरणसँगै ध्वनि प्रदूषण

काठमाडौँको झल्को दिने यातायातको चाप यस जिल्लामा देखिन थालेको छ । नारायणगढको पुल चोक, शहीद चोक र लाइन्स चोकमा बाटो काट्न पनि मुश्किल हुन्छ । सर्वसाधारण जनताले बाटो काट्न आकाशे पुलको आवश्यकता महसुस गर्न थालेका छन् ।

सबै चोकहरुमा सवारी साधनको अत्यधिक चाप भएकै कारण दुई÷तीनजना ट्राफिक प्रहरी खटाइएका छन् । पुल चोकमा सवारी चाप व्यवस्थित गर्न प्रहरीलाई बिहान र बेलुकी दुबै समयमा हम्मेहम्मे परिरहेको दृश्य देख्न सकिन्छ । बढ्दो सवारी साधनसँगै ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न जिल्ला ट्राफिक कार्यालयले भरतपुर चक्रपथ क्षेत्रमा हर्न बजाउन निषेध गरिसकेको छ । भरतपुरको नारायणगढ, केन्द्रीय बसपार्क, आँपटारी हुँदै पुल चोकसम्मको चक्रपथ क्षेत्रमा हर्न बजाउन एक वर्षअघिदेखि प्रतिबन्ध लगाइएको छ । यस क्षेत्रमा आपत्कालीन अवस्थामा मात्र हर्न बजाउन पाइन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले सवारीको अत्यधिक चापसँगै उत्पन्न ध्वनि प्रदूषणलाई कम गर्न महानगरको चक्रपथमा हर्न बजाउन निषेध गरिएको जानकारी दिए ।

“धेरैले अर्काका गाडीलाई नाघेर जान अनावश्यक रुपमा धेरै समयसम्म हर्न बजाएका पायौं,” उनले भने – “ध्वनि प्रदूषण कम गर्न चक्रपथभित्र हर्न बजाउन निषेध गरेका छौं । हर्न बजाए जरिवाना गर्ने प्रावधान लागू गरेका छौं ।”

विस २०२२ सालमा चितवनमा बस्ती बस्दा बनेका सडकहरुको अवस्थामा बदलिएको छैन तर, जिल्लामा सडकको अनुपातमा सवारी साधन अकल्पनीय रुपमा बढेका छन् । फलतः ध्वनि प्रदूषण बढ्न पुगेको छ ।

अठहत्तरौँै जिल्लाको रुपमा समेत चिनिने चितवनमा जनघनत्वसँगै सवारी साधन पनि त्यही अनुपातमा वृद्धि हुँदै गएको पाइन्छ । यही कारण चितवनका मुख्य सडकभन्दा पनि भित्री सडकमा दुर्घटनाका घटनाहरु बढेका छन् । बढ्दो शहरीकरणसँगै यहाँ यातायातको व्यवस्थापनमा थप चुनौती सिर्जना भएको छ ।

२०७५ पुष २५ गते ७:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर