बुद्ध जन्मस्थल लुम्बिनीमा पटक पटक आगलागी हुँदा ४०० विघा जमिन जलेर नष्ट , सरोकारवालाको ध्यान गएन

आजको खबर   |    प्रकाशित : २०७५ पुष २५ गते १३:४०

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी भएको छ । एक हप्तादेखि भइरहेको आगलागीले लुम्बिनी विकास कोषको साढे ४०० बिगाहा क्षेत्रफल जलेर नष्ट भएको छ ।

लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र भएको आगलागीका कारण महत्वपूर्ण वनस्पति जलेर नष्ट भएका कोषका वनस्पती शाखा अधिकृत सब्बिर खानले जानकारी दिए । “दिनहुँ आगलागी भएको छ, विकास कोषसँग दमकल छैन, नगरपालिकाको दमकल बिग्रिएकाले आगलागी नियन्त्रण गर्न गाह्रो भएको छ,” उनले भने, “यसपालि आगलागीले विकराल रुप लिँदा समस्या भयो ।” आगो गए रातिबाट नियन्त्रणमा आएको उनले बताए ।

एक हप्तादेखि दिनहुँ आगलागी भए पनि कसरी आगो लाग्यो भन्नेबारे थाहा हुन सकेको छैन । उनले भने, “विकास कोष क्षेत्रमा चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ छन्, विकास कोषका सुरक्षा गार्ड छन् तर आगो कसरी लाग्यो भन्नेबारे केही जानकारी भएन ।”

अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभागृह, शान्ति स्तुपा क्षेत्रदेखि थाई विहार, जर्मनी विहार क्षेत्रसम्म आगो फैलिएको थियो । एक दिनमा तीन पटकसम्म आगलागी हुने गरेको विकास कोषले जनाएको छ । पटक पटक आगलागी हुँदासमेत यसको कारण खोज्न नसक्नु विकास कोषको कमजोरी भएको स्थानीयवासी बताउँछन् ।

लुम्बिनीका पर्यटन व्यवसायी लीलामणि शर्माले आगलागीको नैतिक जिम्मेवारी विकास कोषले लिनुपर्ने बताइ । उनले भने, “सशस्त्र, जनपथ, दङ्गा प्रहरी, कोषको सुरक्षा गार्डको दस्ता हँुदाहँुदै दिनहुँ आगलागी हुनु सुरक्षा लापरवाही हो ।” आगलागीका कारण विकास कोष क्षेत्रभित्रका पशुपंक्षी कीट पतङ्गहरु प्रभावित भएका छन् । आगलागीका कारण सारसको बासस्थान समेत जलेको छ । असुरक्षित महसुस गरेपछि सारस उडेर गएका स्थानीयवासीले बताएका छन् ।

सुरक्षा व्यवस्था चुस्तदुरुस्त नबन्दा समस्या आएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शङ्कर पोखरेलले बताए । कोेष भित्रको आफ्नै कमजोरीका कारण पनि प्रत्येक वर्ष आगलागी हुने गरेको उनले जानकारी दिए ।

२०७५ पुष २५ गते १३:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर