लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तार २० प्रतिशतमात्र, अदालतको आदेश नआउँदा काम ठप्प

आजको खबर   |    प्रकाशित : २०७५ पुष २७ गते २:५९

काठमाडौं। जिल्लाको सबैभन्दा व्यस्त सडकमा पर्ने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि यस सडकको काम रोकिएको थियो । अदालतले तत्काल काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले बताएको छ ।

अदालतको अर्काे आदेश नआउँदासम्म काम ठप्प नै भइरहने आयोजनाका इञ्जिनीयर विश्व विजयलाल श्रेष्ठले बताए। उनले भने, “ललितपुरका अरु चार ठाउँका सडक जस्तै यस ठाउँको सडक मुआब्जा विवादले गर्दा अघि बढ्न सकेको छैन ।” यो सडकमा स्थानीयवासीले घर र जग्गा दुवैको क्षतिपूर्ति माग गर्दै आएका छन् । पटकपटक अनुरोध गर्दासमेत विद्युतीय संरचना नहट्दा बाधा पुगेको छ । स्थानीयवासीले लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काउन मानेका छैनन् । सडक सम्पन्न हुनुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम नसकिएको आयोजनाले बताएको छ ।

यो सडकको निर्माण विसं २०७३ जेठमा शुरु भएको थियो । विसं २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले एक वर्ष थपेको थियो । थपिएको अवधिमा काम अघि बढेको छैन । उनले भने, “ठेकेदारले ढिलाइ गरेरभन्दा पनि अदालतको निर्णयले काम अघि बढ्न नसकेको हो ।” ललितपुरमा पाँच वटा सडकमा विस्तारको काम मुआब्जाकै कारण ठप्प छ ।

२०७५ पुष २७ गते २:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर