विश्वमै उत्कृष्ठ मौलिक हक अधिकार भएको संविधान पायौँ अब पालो समृद्धिको : अध्यक्ष पुष्पकमल दाहाल

आजको खबर   |    प्रकाशित : २०७५ पुष २७ गते १७:५६

गोरखा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास र समृद्धिको कार्यसूची पूरा गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

गोरखाको आरुघाटमा शुक्रबार आयोजित दोस्रो आरुघाट महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपालमा ७० वर्ष लामो सङ्घर्षपछि प्राप्त राजनीतिक स्थायित्व राजनीतिक सहमतिका कारण नै सम्भव भएको भन्दै अब विकास र समृद्धि पनि राष्ट्रिय सहमतिबाट पूरा गर्न सकिने बताए ।

“विश्वमै उत्कृष्ठ मौलिक हक अधिकार भएको संविधान सहमतिबाट बनाउन सफल भयौँ” अध्यक्ष दाहालले भने, “तीनवटै तहको निर्वाचन पनि सहमतिबाट सम्भव भयो, अब विकास र समृद्धिको एजेण्डा पनि राष्ट्रिय सहमतिबाट पूरा गर्न सकिन्छ ।” काम गर्दै जाँदा हुने कमीकमजोरी सच्याउँदै जान आफूहरु तयार रहेको भन्दै उहाँले समृद्धिको अभियानमा हातेमालो गर्न काङ्ग्रेसलाई आग्रह गरे । “विकास र समृद्धिको लागि सहमति गर्न हामी तयार छौँ”, अध्यक्ष दाहालले भने ।

अध्यक्ष दाहालले राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम कसैले रोकेर नरोकिने बताए । उनले बुढीगण्डकी बहुउद्देश्यीय जलासययुक्तबाट सिङ्गो नेपाली जनताले लाभ लिन सक्ने भन्दै आयोजना निर्माणको काम तत्काल अघि बढ्ने बताए।

बुढीगण्डकी आयोजनाको डुुबान क्षेत्रका प्रभावितलाई मुअब्जा वितरण यसै वर्ष सक्ने गरी सरकारले काम अघि बढाएको उनको भनाइ छ । अध्यक्ष दाहालले मुअब्जा निर्धारण हुन बाँकी रहेको गोरखा र धादिङको आरुघाट र खहरे बजार क्षेत्रको तत्काल उचित मुअब्जा निर्धारण हुने बताए ।

२०७५ पुष २७ गते १७:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर