उपचारको क्रममा मृत्यु भएका ब्यक्तिको शव दुई दिनसम्म उठाइएन

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १८ गते ९:५०

बलेवा। धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बागलुङको निसिखोला गाउँपालिका–७ राजकुत मुदुङका ४५ वर्षीय लक्ष्मण विकको दुई दिनसम्म पनि शव उठाइएको छैन।

धेरै टाढाबाट उपचारको क्रममा अञ्चल अस्पतालमा श्रीमतीसहित आएका विकको मृत्यु पछि आर्थिक अभावका कारण अन्तिम संस्कारका लागि लैजान समस्या भएको परिवारले जनाएको छ। छरछिमेकीसँग ऋण गरी उपचारका लागि १४ फागुनमा उक्त अस्पताल आएका विक परिवारसँग भएको पैसा पनि उपचारको क्रममा सकिएकाले अहिले शव उठाएर घाटसम्म लैजान समस्या भएको मृतकका दाजु बलबहादुर विकले बताए।

‘‘कसैले सहयोग गरे त भाइको शव आफ्नै घाटमा लैजाने मन थियो’’ मृतका दाजु बलहादुर विकले भने, “नजिकै कालीगण्डकीमा लैजाने तथा दाउरा, चिनी र कोरा कपडा किन्न समेत पैसा छैन ।” भाइको मृत्यु खबर पाएलगत्तै गाडीभाडासमेत ऋण खोजेर बागलुङ बजार आएका विकले सबैसँग सहयोगका लागि अपिल गरेका छन् । “ भाइको मृत शरीरले समेत सुःख पाएन ” विकले थपे, “घाटमा पु¥याउन र काजकिरिया सक्न पनि ठूलो सकस भयो ।”

परम्परा अनुसार १३ दिन काजकिरिया गर्ने संस्कार रहे पनि आर्थिक अभावका कारण तीन दिनमै छोट्याउने तयारी गरिएको दाजु बलबहादुरले बताए। छिमेकीको शव उठाउन समस्या भएपछि स्थानीयवासीले सहयोग सङ्कलन गरी तत्कालको समस्या समाधान गर्ने तयारी गरेका छन्।

स्थानीय पत्रकार सज्जनकुमार सिंहले भने, “पीडित परिवारसँग पैसा नभएकाले स्थानीय सङ्घसंस्था र व्यक्तिसँग सहयोगका लागि अपिल गरेर शवलाई कालीगण्डकीसम्म लैजाने कोसिस भइरहेको छ।

२०७५ फागुन १८ गते ९:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर