कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषध तस्कर पक्राउ

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ७ गते ७:२५

बाँके । लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो।

प्रदेश नं ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार भारतबाट नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई कुकुरले सुँघेर पहिचान गरेको थियो। लागुऔषध विज्ञ गौरी नाम गरेको पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको प्रहरी निरीक्षक थापाले बताए।

कुकुरको सहायतामा १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका अदिल मियाँलाई नियन्त्रणमा लिइएको छ।  प्रहरी निरीक्षक थापाका अनुसार सीमावर्ती भारतीय बजार रुपैडिहाबाट आउँदै गरेकी घोराही उपमहानगरपालिका–३ की लक्ष्मी खड्का र नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरिएको छ।

कुकुरको सहायतामा उनीहरुलाई नियन्त्रणमा लिएको थापाले बताए। यस्तै नेपालगञ्ज–१८ भुजइगाउँका किशोरकुमार धोवीलाई चार ट्याब्लेट नाइट्रोजन, १० क्याप्सुल स्पास्मो र एक बोत्तल अल्टोरेक्ससहित जमुनाहा नाकाबाट नियन्त्रणमा लिइएको छ।

प्रहरीले कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई ३९ ट्याब्लेट नाइट्रो भ्याटसहित पक्राउ गरेको छ। प्लाष्टिक झोलामा रहेको चनाभित्र लुकाएर रुपैडिहाबाट ल्याउने क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक थापाका अनुसार, रुपैडिहाबाट आउँदै गरेका थप दुई बालकका साथबाट चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको छ। ती दुवै बालकलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। सीमामा लागुऔषधको कारोबार बढिरहेका बेला प्रहरीले लागुऔषधसम्बन्धी विज्ञ कुकुर नै परिचालन गरेर नियन्त्रण शुरु गरेको हो।

२०७६ जेठ ७ गते ७:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर