प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, १ घाइते
आजको खबर | प्रकाशित : २०७६ जेठ ८ गते १:०३

टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताबीच मुठभेट भएको छ ।
हिजो दिउँसो भएको मुठभेटमा प्रहरीको गोली लागेर षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका सो समूहका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।
घिमिरेको खुट्टामा गोली लागेको छ । घिमिरलाई उपचारका लागि धरान लगिएको प्रजिअ खतिवडाले जानकारी दिए । घिमिरेको साथबाट हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायर गरेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए ।
हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ । केही दिनदेखि भोजपुर, खोटाङ र सोलुखुम्बुको सीमा क्षेत्र मैयुङ, दोभानेमा विप्लव समूहका कार्यकर्ता हतियारसहित रहेको प्रहरीले सूचना पाएको थियो । सोही सूचनाका आधारमा प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले चारैतिरबाट घेरा हालिरहेको थियो । घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रजिअ खतिवडाले जानकारी दिए ।