पुनः आन्दोलन गर्ने बौद्धवासीको चेतावनी

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ९ गते ९:१६

साँखु। निर्माण कम्पनीले गरेको ६ बुँदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ लगाएतले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्। टुसालदेखि बौद्ध गेटसम्म कालोपत्र गरेको भए पनि सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नुपर्नेमा ठेकेदारले आनाकानी गर्दै टार्न खोजेको बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले बताए।

सडक निर्माण नभएको भन्दै बौद्धवासीले बाटो अवरुद्ध गरेपछि गत वैशाख २६ गते भएको सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्मको सडकमा कालोपत्र गर्नुपूर्व गरिने सवबेस, बेस र साइड ड्रेनको काम वैशाख २७ गतेबाट शुरु गर्ने सहमति भएको थियो। ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले सहमतिअनुसार काम अगाडि नबढाएको भन्दै बौद्ध व्यापार सङ्घ, स्थानीयवासीले ठेकेदार कम्पनीलाई तत्काल काम अगाडि बढाउन पटक–पटक माग गरेका थिए।

आज बौद्ध व्यपार सङ्घ, स्थानीयवासी र युवासहितको टोलीले त्रिपुरेश्वरमा रहेको ठेकेदार कम्पनी युनाइटेड विल्डर्सको कार्यालयमा पुगेर सहमतिअनुसार काम नभएको भन्दै ध्यानार्कषण गराएका हुन्। अध्यक्ष चौलागाईं भन्छन्, “वैशाख २७ गतेबाट बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नका लागि त्यसपूर्वको गर्नुपर्ने सडकको काम अगाडि बढाउने सहमति भएको थियो। तर १४ दिन बितिसक्दा पनि ठेकेदार कम्पनीले कालोपत्र गर्ने काम अगाडि बढाएको छैन।

ठेकेदारले टुसालदेखि बौद्ध गेटसम्मको बाटो कालोपत्र गरेर पन्छिन खोजेको भन्दै सम्झौतापत्रमा भएको सहमतिअनुसार जोरपाटीसम्म कालोपत्र नगरे पुनः आन्दोलन गर्ने स्थानीयवासी बिनीता कोइराला बताउछिन्। सम्झौतापत्रमा ठेकेदार कम्पनी युनाइटेड विल्र्डसका प्रमुख तथा नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअध्यक्ष शकुन्तलालाल हिराचनले जोरपाटीसम्म कालोपत्र गर्ने, कालोपत्र गर्दा बिग्रेको खानेपानीको पाइप, ढल निर्माण गर्ने भन्दै हस्ताक्षर गरेका थिए।

यसअघि चाबहिल–साँखु सडकखण्डमा ठेकेदारले कालोपत्र नगरेको भन्दै ५०० को सङ्ख्यामा रहेका बौद्धका व्यापारी, स्थानीय र युवाले सो सडकखण्डको यातायात नै अवरुद्ध गरी आन्दोलन गरेका थिए।
सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्मको सडक २२ मिटर चौडा गरी चारलेनको बनाउने योजना ल्याएको थियो। योजनाअनुसार काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए। तर अहिलेसम्म उक्त सडकखण्डको निर्माण कार्य पुरा भएको छैन।

२०७६ जेठ ९ गते ९:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर