सरकारले लोकतन्त्रमाथि हमला सुरु गर्यो : सभापति देउवा

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १५ गते ८:५१

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन्।

सभापति देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको उल्लेख गर्दै त्यसको रक्षाका लागि तयारी अवस्था रहन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे।

गणतन्त्र दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले लोकतन्त्रको लागि लडेको काँग्रेसले नै यसको रक्षा गर्नुपर्ने जनाए। ‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्रनै हुँदैन,’ सभापति देउवाले भने, ‘प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता, कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ।’

सभापति देउवाले लोकतन्त्रका लागि फेरी संघर्ष गर्न नपरोस् भनेर आफ्नो पार्टीले राजतन्त्रको अन्त्य गर्ने कामको अगुवाई गरेको जनाए। उनले धेरै ठूलो लडाई, त्याग र तपस्याको प्रतिफल प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढने प्रतिवद्धता जनाए। ‘लोकतन्त्रका लागि काँग्रेसले हिजो पनि संघर्ष गरेको थियो, आज पनि गरिरहेको छ र भोलि पनि गर्नेछ’, उनले भने।

२०७६ जेठ १५ गते ८:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर