नेपाल विश्वमै उत्कृष्ट गन्तव्य होः उपराष्ट्रपति

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १७ गते १:४२

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा रहेका हिमाल आरोहण गर्ने विदेशी पर्यटक नेपालका अतिथि मात्रै नभएर यसलाई संसारभर चिनाउने हिमाली दूत भएको बताएका छन्।

अन्तरराष्ट्रिय सगरमाथा दिवसका अवसरमा अष्ट्रियाको भियनास्थित नेपाली दूतावासले चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको पहिचान हिमाल र पर्वतारोहण भएको औँल्याए।

सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ शिखरमध्ये आठ वटा नेपालमै रहेको तथा हिमाल आरोहण र पदयात्राका साथै विभिन्न साहसिक खेल, वन्यजन्तु तथा पर्यावरणीय पर्यटनका साथै सम्पदा र संस्कृतिमा रुचि राख्नेका लागि समेत नेपाल विश्वमै उत्कृष्ट गन्तव्यका रुपमा रहेको उनले बताए।

उनले अष्ट्रियाली सगरमाथा आरोहीले नेपाल र अष्ट्रियाबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न भूमिका खेलेको बताए। विश्वको सर्वोच्च शिखर सगरमाथा र दुवै देशका उच्च पर्वतमाला नेपाल र अष्ट्रियाबीच आत्मीयता तथा सुमधुर सम्बन्ध विकास गर्ने प्रमुख कडी भएको उनको भनाइ थियो।

उनले भने, ‘अष्ट्रियाको समाजमा सगरमाथा आरोहीहरुको विशेष सम्मान तथा ख्याति रहेको थाहा पाउँदा मलाई निकै खुशी लागेको छ।’ उपराष्ट्रपति पुनले राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदानलाई वृद्धि गर्दै नेपालको पहिचानलाई विश्वमाझ अझै फैलाउनका लागि नेपालले भ्रमण वर्ष सन् २०२० मनाउन लागेको जानकारी दिँदै नेपाल भ्रमणका लागि अष्ट्रियालीलाई आग्रह गरे।

उपराष्ट्रपति पुनले ६० वर्ष पुग्न लागेको नेपाल र अष्ट्रियाबीचको कूटनीतिक सम्बन्ध सगरमाथा र सम्पदाका कारण जोडिएको बताउँदै दुई देशको जनस्तरको सम्बन्ध आगामी दिनमा अझै समुधुर हुने विश्वास व्यक्त गरे।

उनले अष्ट्रियाका राष्ट्रपति अलेक्जान्डर भान दे बेलेनले अग्रसरता लिएको जलवायुसम्बन्धी शिखर सम्मेलनमा नेपाललाई पनि जोडिने अवसर मिलेको बताउँदै वातावरण तथा जलवायु परिवर्तनका कुरा गर्दा नेपालका हिमालमाथि परेको प्रतिकूल पर्यावरणीय असरलाई पनि बिर्सन नहुने औँल्याए।

सो अवसरमा अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदीले धेरै अष्ट्रियालीले नेपाललाई माया गर्ने गरेको बताए। नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले नेपालको पर्यटन गन्तव्य र सम्भावनाका बारेमा जानकारी दिए।

पहिलो पटक अक्सिजनविना सगरमाथाको आरोहण गर्ने पेटेर हेबेलर, सगरमाथाको कीर्तिमानी आरोही उल्फगाङ नायर्ज र अर्का आरोही जोसेफ इन्वाल्नेरले अष्ट्रियालीलाई नेपाल भ्रमण गर्न आग्रह गरे।

कार्यक्रममा उपराष्ट्रपति पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अष्ट्रियाली सगरमाथा आरोहीलाई नेपालका तर्फबाट सम्मान गरे। कार्यक्रममा सगरमाथाको कीर्तिमानी आरोहणका नेता नायर्जलगायत सगरमाथा आरोही र नेपाली समुदाय तथा अष्ट्रियाली गरी करीब पाँच सय जनाको सहभागिता थियो।

२०७६ जेठ १७ गते १:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर