नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा परिवर्तन हुन्छ : मन्त्री अर्याल

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २० गते ५:४०

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा प्रवाह परिवर्तन हुने बताएका छन्।

प्रेस सङ्गठन पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नागरिकले राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै चित्त बुझाउने अवस्था नरहेको बताउँदै मन्त्री अर्यालले सरकारी सेवा प्रवाहलाई परिवर्तन गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुने धारणा राखे।

उनले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले मातहतका निकायमा नागरिकले काम कारवाही, व्यवहार र अनुभूतिमा परिवर्तन देख्न पाउने व्यवस्था गर्न लागेको बताए।

मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालयमा सरलीकृत फारम तथा अनलाइन प्रणालीको विकास भइरहेको र यी कार्यालयलाई ढिलो चाँडो कागजविहीन प्रणालीमा रुपान्तरण गर्ने मन्त्रालयको लक्ष्य रहेको जानकारी दिए। उनले अबको डेढ वर्षमा देशभरिका सबै मालपोत कार्यालयमा डिजिटल प्रणालीबाट सेवा प्रवाह गर्ने लक्ष्यका साथ काम भइरहेको बताए।

यसअघि छ वटा मालपोत कार्यालयलाई परीक्षणको रुपमा डिजिटल प्रणाली लागू गर्दा यी कार्यालयबाट छ महीनामा राजश्व सङ्कलन रु एक अर्ब ५० करोडले वृद्धि भएको दृष्टान्त पेश गर्दै मन्त्री अर्यालले सेवा प्रवाहलाई आधुनिक बनाउनुको विकल्प नरहेको बताए।

उनले सरकारी जग्गामा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, अतिक्रमित जग्गामा रहेको बसोबास हटाएरै छाड्ने दृढता व्यक्त गरे। मन्त्री अर्यालले बालुवाटारमा भएको जग्गा अतिक्रमणको विभिन्न तीन वटा निकायबाट छानबिन भइरहेको जानकारी दिए।

२०७६ जेठ २० गते ५:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर