ह्वावेई विवादः अबदेखि नयाँ स्मार्टफोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम एप नहुने

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २५ गते ८:१९

बीबीसी । फेसबुकले आफ्ना एप ह्वावेईका स्मार्टफोनमा प्रि–इन्स्टल अर्थात् फोन उत्पादन गर्दा नै राख्ने व्यवस्था अन्त्य गर्न लागेको समाचार संस्था रोएटर्सले जनाएको छ।

त्यस्तो प्रतिबन्ध फेसबुकको मुख्य एपमा मात्र नभएर कम्पनीका भगिनीसंस्थाका रूपमा परिचित ह्वाट्सएप र इन्स्टाग्रामका एपमा पनि लागु हुनेछ।गत मे महिनामा अमेरिकाले आफ्ना देशका कम्पनीहरूलाई सुरक्षा जोखिम रहन सक्ने बताउँदै विदेशी दूरसञ्चार प्रदायकहरूसँग सहकार्य नगर्न निर्देशन दिएको थियो।

फेसबुकले यस्तो कदम उठाउनुको प्रमुख कारण उक्त निर्देशन नै रहेको बुझिएको छ। नयाँ फोनमा फेसबुकका एपहरू समावेश नगरिने भए पनि सर्वसाधारणले प्रयोग गरिरहेका ह्वावेई फोनमा भएका एपमा भने समस्या हुनेछैन। तर पुराना ह्वावेई फोनमा सफ्टवेअर अद्यावधिक गर्ने सुविधा उपलब्ध गराउने फेसबुकले जनाएको छ।

फेसबुकको यो निर्णयबारे ह्वावेईले केही टिप्पणी गरेको छैन। फेसबुकका एप ह्वावेई फोनमा प्रि–इन्स्टल नहुने भए पनि प्रयोगकर्ताहरू आफैँले भने एप डाउनलोड गर्न सक्नेछन्। तर अर्को अमेरिकी कम्पनी गुगलले प्ले स्टोरमा ह्वावेईको पहुँच हुन दिएमा प्रयोगकर्ताहरूले फेसबुक र अन्य एप डाउनलोड गर्न पाउनेछैनन्।

अहिले सबै प्रयोगकर्ताले प्ले स्टोर तथा गुगल एप प्रयोग गर्न सक्ने भए पनि गुगलले मध्य अगस्टदेखि ह्वावेईलाई महत्त्वपूर्ण एन्ड्रोइड सफ्टवेअरहरू प्रयोग गर्न नदिने घोषणा गरिसकेको छ। ह्वावेईका फोन र उपकरणको प्रयोगमा विभिन्न राष्ट्रहरूले प्रतिबन्ध लगाएका छन्।

२०७६ जेठ २५ गते ८:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर