गुठी विधेयक संविधानको अनुकूल छः मन्त्री अर्याल

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २७ गते ८:३९

काठमाडौं। भूमिसुधार मन्त्री पद्मा अर्यालले गुठी सम्बन्धी कानुन एकीकरण र संशोधन गर्न बनेको विधेयक धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरी नआएको दाबी गरेकी छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरी ल्याइएको विधेयकको विरोधमा भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरी दमन भएको भन्दै सरकारको जवाफ माग गरेपछि विभागीय मन्त्रीका दृष्टिबाट उनले विधेयकबारे जानकारी गराएकी हुन्। उनले हिजोको मर्म र भावनालाई प्रतिकुल पार्ने गरी विधेयक प्रस्तुत नभएको भन्दै विधेयकलाई गम्भीर रुपमा अध्ययन गर्न आग्रह गरिन्।

उनले भने, ‘संविधानलाई एकीकृत रुपमा बुझ्नुपर्छ। संविधानको एउटा धाराको व्याख्या मात्रै हेरेर, एउटा अनुसुची मात्रै हेरेर संविधानको प्रतिकुल हुन्छ कि अनुकुल हुन्छ भन्ने निष्कर्ष निक्लन्छ जस्तो लाग्दैन।’

संविधानको धारा २ सय ९० अनुसार विधेयक आएको भन्दै उनले संविधानलाई एकीकृत रुपमा बुझ्न आग्रह गरिन्। विधेयकमा गुठीमा जोडिएका किसानका हकहित, मठ मन्दिर, धर्म संस्कृतिलाई संरक्षण गर्ने विषयलाई प्रतिकुल पार्ने व्यवस्था नभएको भन्दै उनले विधेयकप्रति धेरै सन्देह प्रकट नगर्न आग्रह गरिन्।

उनले आइतबारको प्रर्दशनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको जनाइन्। मन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सचेतक पुष्पा भुसालले संसदीय मूल्य र मान्यता नियमावलि अनुसार संसद सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए।

गम्भीर विषयमा प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण गर्दै उभिएर विरोध गरिरहेको अवस्थामा सभामुखको निर्देशनबाट सत्तापक्षको सांसदबाट बोल्न दिने काम भएको भन्दै उनले त्यसकार्यप्रति घोर आपत्ति जनाइन्।

उनले माइतीघर मण्डलामा गुठीयारमाथि भएको धरपकडप्रति भूमिसुधार मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै गृहमन्त्रीको जवाफ माग गरिन्। मन्त्रीले धरकपड गरेको स्वीकार गरेको भन्दै उनले त्यसबारे गृहमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले सदन संचालन गर्न नदिने बताइन्।

२०७६ जेठ २७ गते ८:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर