कलङ्की–महाराजगञ्जखण्ड विस्तार गरिने

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २८ गते २:३६

काठमाडौँ। चक्रपथको कलङ्की–महाराजगञ्जखण्डको बिस्तार प्रक्रिया अगाडि बढाइएको छ । दोस्रो चरणअन्तर्गत विस्तार गरिने चक्रपथको उक्त खण्डको सीमा क्षेत्रमा रहेका भौतिक संरचनाहरु हटाउन काठमाडौँ चक्रपथ सुधार योजनाले १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले चक्रपथको कलङ्की–महाराजगञ्जखण्डको विस्तार प्रक्रिया अगाडि बढाउन चक्रपथको उक्त खण्डको सीमा क्षेत्रमा परेका स्थायी तथा अस्थायी संरचनाहरु हटाउन १५ दिने सूचना जारी गरिएको जानकारी दिए।

चक्रपथको केन्द्रविन्दुबाट दायाँबायाँ ३१/३१ मिटरसम्मको सीमा क्षेत्रमा रहेका भौतिक संरचना हटाउन सार्वजनिक सूचना जारी गरिएको जानकारी योजना प्रमुख रिमालले दिए। चक्रपथको सोे खण्डको ‘साइट क्लियरेन्स’ का लागि समेत नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानी, ढल, वन विभागलगायतका सम्बन्धित निकायलाई पत्राचार भइसकेको जानकारी समेत उनले दिए।

चक्रपथको उक्त खण्डको भौतिक संरचना हटाउन तथा ‘साइट क्लियरेन्स’ का लागि आगामी आर्थिक वर्षमा ४५ करोड रुपियाँ विनियोजन गरिएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

करिब ८.२ किलोमिटर दुरी रहेको चक्रपथको सो खण्डको सीमा क्षेत्रमा पर्ने भौतिक संरचनाहरु निर्धारित समयावधिभित्र नहटाइएको खण्डमा आयोजनाले सार्वजनिक सडक ऐन अनुसार भौतिक संरचनाहरु आफैँ हटाउने सो वापत लाग्ने खर्च पनि सम्बन्धित संरचना धनीबाट नै असुल उपर गरिने जानकारी समेत योजना प्रमुख रिमालले दिए।

चीन सरकारको सम्पूर्ण आर्थिक र प्राविधिक सहयोगमा विस्तार गरिने चक्रपथको सो खण्डको सीमा क्षेत्रमा पर्ने स्थायी तथा अस्थायी संरचनाहरु सन् २०१८ को जुनसम्ममा हटाउन चीनले यसअघि नेपाल सरकारलाई आग्रह गरेको थियो ।

‘डीपीआर’ तयार हुँदैँ
सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्डको रुपमा रहेको कलङ्की–महाराजगञ्जको विस्तारको तयारी तीव्र गतिमा भइरहेको बताउँदै उक्त खण्डको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य भइरहेको जानकारी दिए।

डीपीआर निर्माण कार्यलाई यथाशक्य छिटो सम्पन्न गरी बुझाउन नेपालस्थित चिनियाँ राजदूतावासमा आगामी साता सडक विभागको एक प्रतिनिधिमण्डल गई आग्रह गरिने जानकारी समेत उाले दिए। चक्रपथको कलङ्की–महाराजगञ्ज–कोटेश्वर खण्डको विस्तारका लागि यसअघि नै नेपाल र चीनबीच समझदारी–पत्र (एमओयू) मा हस्ताक्षर भइसकेको छ।

“चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार गरिने यस खण्डको डीपीआरको काम चीनले शुरु गरिसकेको छ, आगामी आर्थिक वर्षको पहिलो चौमासिकभित्रमा नै डीपीआरको काम सम्पन्न हुनेछ” महाशाखाका प्रमुख थापाले भने, “डीपीआर तयार भइसकेपछि त्यसको प्रतिवेदन चीनले नेपाल सरकार बुझाउने छ र नेपाल पक्षसँग विस्तृत छलफलसँगै अन्तिम रुप दिएपछि विस्तार कार्यलाई अगाडि बढाइने छ।”

यसअघि, चिनियाँ प्राविधिकले कलङ्की–महाराजगञ्ज–कोटेश्वर खण्डको विस्तारको सम्भाव्यता अध्ययन समेत गरिसकेका छन् । चीन सरकारले उक्त सम्भाव्यता अध्ययनको प्रतिवेदनलाई समेत स्वीकृत गरिसकेको सडक विभागले जनाएको छ । कलङ्की–महाराजगञ्ज–कोटेश्वर खण्डको कुल लम्बाई १७ किलोमिटर रहेको छ।

प्रारम्भिक अध्ययन र डीपीआर निर्माणको क्रममा नेपालको सन्दर्भमा सडक चिह्न, आकाशे पुल, जेब्राक्रसिङलगायत विभिन्न ट्राफिक नियमका बारेमा विशेष ध्यान दिन चिनियाँ पक्षलाई सुझावको रुपमा आग्रह गरिएको बताउँदै सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख थापाले कोटेश्वर–कलङ्की खण्डमा देखिएका केही समस्या यस खण्डमा नआओस् भन्नेप्रति नेपाल पक्ष सचेत रहेको स्पष्ट पारे।  गाेरखापत्र दैनिकबाट

२०७६ जेठ २८ गते २:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर