प्रधानमन्त्रीको गुनासो ‘शेरबहादुर देउवाकै नेतृत्वमा मलाई बोल्न दिइएन’

आजको खबर   |    प्रकाशित : २०७६ असार ४ गते १:११

काठमाडौं। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न नपाएका प्रधानमन्त्री केपी ओलीले मंगलबार अपराह्न पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलनको शुरुमै संसदमा बोल्न नपाएकोले पत्रकार सम्मेलन गरेको होइन भनेका प्रधानमन्त्री ओलीले आफ्नो धारणा राख्दा संसदमा मंगलबार भएका गतिविधिमै बोले ।

मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता वा प्रधानमन्त्री कसले पहिला सम्बोधन गर्ने भन्ने विषयमा सभामुख कृष्णबहादुर महराले पहिला प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न समय दिएपछि काँग्रेसले अवरोध गरेको थियो। काँग्रेसको अवरोधका कारण बैठक स्थगित भएपछि रोष्टममा पुगेका प्रधानमन्त्री बोल्न नपाएरै फर्किएका थिए।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओली काँग्रेस सभापति तथा प्रतिपक्षी संसदीय दलका नेता शेरबहादुर देउवाको नाम लिएरै गुनासो गरे। उनले भने, ‘मलाई आश्चर्य लाग्यो मेरा मित्र, शेरबहादुर देउवाजी आफैं प्रधानमन्त्रीले होइन, मैले पहिला बोल्नुपर्छ भनेर ह्वेल घेर्न नेतृत्व गर्नुभयो। आश्चर्यतकित भएँ म, उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने हो ।’

प्रायः विपक्षीप्रति आक्रामक देखिने प्रधानमन्त्री ओली मंगलबार पत्रकार सम्मेलनमा भने संयमित रुपमा प्रस्तुत भए । उनले कुनै आक्रामक शब्दको प्रयोग गरेनन्। गुनासो भने गरे।

ओलीले मंगलबार संसदमा भएका गतिविधिले यो व्यवस्थाको विरोधमा रहेका अवाञ्छित समूहहरुलाई प्रोत्साहन भएकोसमेत टिप्पणी गरे। उनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षडन्त्र भइरहेको भन्दै यो जोगाउने जिम्मेवारी सबैको भएको भन्दै प्रतिपक्षी काँग्रेलाई घेरे।

उनले आफु जनताबाटै अनुमोदित भएर प्रधानमन्त्री बनेको भन्दै काँग्रेसले त्यसलाई स्वीकार गर्न नसकेकोसमेत टिप्पणी गरे । काँग्रेसले आफु जित्दा ठिक र अरुले जित्दा गलत भन्ने दोहोरो चरित्र देखाएकोसमेत आरोप लगाए।

प्रधानमन्त्री ओलीले गुठी संस्थानले राम्रो काम गर्न नसकेकाले प्राधिकरण बनाउने तयारी भएको उल्लेख गर्दै गुठी विधेयकलाई लिएर दक्षिपन्थीहरु सलबलाएको बताए । उनले दक्षिणपन्थीलाई सहयोग पुग्ने गरी काँग्रेसले वर्तमान सरकारविरुद्ध गतिविधि गरेकोसमेत आरोप लगाए।

आफ्नो यूरोप भ्रमणबारे पनि धारणा राखेका प्रधानमन्त्री ओलीले नेपाललाई विश्वमा चिनाउन आफ्नो भ्रमण सफल भएको दावी गरे ।

२०७६ असार ४ गते १:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर