हेलो सरकारः प्रधानमन्त्रीको चासोदेखि गुनासोको विश्व कीर्तिमान सम्म

आजको खबर   |    प्रकाशित : २०७६ असार ९ गते ७:५९

काठमाडौं। व्यक्तिगत रिस साँधेर वा होच्याउन हेलो सरकारको ट्विटर हेन्डल मेन्सन गरेर एउटा ट्विट आयो– नमस्ते @Hello_Sarkar, मानसिक अपाङ्गता जन्मजात हुँदैन। उमेर सँगै बौद्धिक शक्ति गुम्ने र मानसिक असन्तुलन देखिने बिमारीको पहिचान र उपचारमा सरकारले के गर्न सक्छ? वहाँ (ट्विटर हेन्डल) लाई आवश्यक मनोसामाजिक परामर्श तथा उपचारमा सहयोग गर्न सादर अनुरोध गर्दछु।

हेलो सरकारले जवाफ दियो– तपाईँको गुनासो ट्रयाक न. 01-2018-SZLAPE बाट महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय पठाइएको छ।

प्रधानमन्त्री मातहतको जिम्मेवार निकायबाट गुनासोको जाँच परख नगरीकन उडन्ते जवाफ आएपछि एकजनाले लेखे– ‘हल्लो सरकारमा काम गर्ने पागलहरुलाई पहिले उपचारको खाँचो छ।’

मजाक वा व्यक्तिगत रिस साँध्न आउने यस्ता ट्विट उपर हेलो सरकारले दिएका जवाफका कारण बेलाबेलामा निकै आलोचना हुने गरेको छ। हेलो सरकारका यस्ता गैरजिम्मेवार ‘ट्विट काण्ड’ अरू पनि थुप्रै छन्।

एकाध यस्ता नकारात्मक पाटाहरूलाई बिर्सने हो भने हेलो सरकार आमनागरिकहरूले गुहार माग्ने सहज र विश्वासको ठाउँ बनेको छ। दैनिक यहाँ सयौँको सङ्ख्यामा लिखित पत्र, इमेल, फोन, फेसबुक, ट्विटर र वेवसाइट मार्फत गुनासाहरू आउँछन् र ती उपर तत्काल कारवाही प्रकृया थालिन्छ। हेलो सरकार स्वयं कारवाही गर्ने निकाय त हैन, तर प्रधानमन्त्री मातहतको निकाय भएकोले यहाँ गुनासो गरेपछि सुनुवाइ हुन्छ भन्ने विश्वास छ।

विस्तार हुँदै हेलो सरकारः

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भुँई तलामा साँघुरो संरचनामा रहेको हेलो सरकारको भौतिक विस्तारसँगै कर्मचारी सङ्ख्या पनि थपिएको छ। प्रधानमन्त्री कार्यालयको भवनबाट अलग गरेर अहिले बेग्लै भवनमा हेलो सरकार थप विस्तारित भएको छ। गुनासाको चाप बढेसँगै करारमा कर्मचारीहरू थपिएको छ। सेवालाई थप प्रविधिमैत्री बनाउन यतिबेला एप निर्माणको काम पनि अन्तिम चरणमा छ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पहलमा जनताको गुनासा सम्बोधन गर्न ‘हेलो सरकार’को गठन भएको हो। सुरुवाती दिनमा निकै प्रभाव थयो। बीचका सरकारले पनि यसको निरन्तरता कायमै राखे। तर यसको प्रभावकारितामा भने ह्रास हुँदै गयो। पछिल्लो दिन यसको विस्तारलाई आधार मान्ने हो भने ओली नेतृत्वको सरकार यसको प्रभावकारिता बढाउने योजनामा देखिन्छ।

एप निर्माण अन्तिम चरणमा छ भने वेवसाइटलाई थप विस्तारित गरिएको छ। हेलो सरकारको गुनासो सञ्जालमा केन्द्रदेखि स्थानीयतहसम्मका सरकारी निकायहरू थपिदैछन्।

‘साउनको पहिलो हप्ताभित्र एप सार्वजनिक गर्ने तयारीमा छौं,’ हेलो सरकार शाखाका प्रमुख सहसचिव शेखर पौडेलले डिसी नेपालसँग भने, ‘एप सार्वजनिक भएपछि स्थानीय तहको गाउँपालिकासम्मका गुनासा सहजै हेलो सरकारसम्म आइपुग्नेछन्।’ उनका अनुसार केन्द्र, प्रदेश र स्थानीय तीनवटै सरकारका गुनासा सम्बोधन गर्ने तयारीमा हेलो सरकारको विस्तार हुँदैछ। अहिले २१ वटा मन्त्रालय र नेपाल टेलिकम जस्ता केही अन्य निकायका गुनासा उपर सोझै वेवसाइट मार्फत गुनासो सुनुवाइ हुँदै आएकोमा सेवा क्षेत्र विस्तारित भएर अब गाउँपालिकाको वडाकार्यालयसम्मै हेलो सरकार पुग्दैछ। यतिबेला तीनवटै सरकार मातहतका निकायका सूचनाहरू वेवसाइट र एपमा संकलन र अध्यावधि गर्ने काम चलिरहेको पौडेलले जानकारी दिए।

प्रधानमन्त्री ओलीले बेलाबेलामा हेलो सरकारबारे चासो राख्ने गरेका छन्। प्रधानमन्त्रीका सल्लाहकार र आइटी विज्ञले हेलो सरकारको विस्तार योजनाबारे बेलाबेलामा जानकारी लिने र प्रधानमन्त्रीसम्म पुर्याउने गरेका छन्।
धेरै गुनासो गरेर गिनिज बुकमा रेकर्ड

हेलो सरकारमा एकै व्यक्तिले एकै दिनमा सयभन्दा बढी गुनासा गरेपछि कर्मचारी हैरान भए। दैनिक यसरी गुनासो आउन थालेपछि गुनासोकर्तालाई फोन गरेर किन यसरी गुनासो गरेको भनेर सोधियो। ‘सर्वाधिक गुनासो गरेर गिनिज बुकमा रेकर्ड राख्ने’ जवाफ सुनेपछि हेलो सरकारका कर्मचारी तीन छक परे।

चितवनमा बसेर देशभरका गुनासा टिपाउने ती व्यक्ति हेलो सरकारको सिंहदरबारस्थित कार्यालयसम्मै आए। उनले आफ्ना गुनासा उपर कारवाही हुन छाडेको भनेर गुनासो पनि सुनाए। आफ्नो रेकर्ड राख्ने चाहाना पनि सुनाए।

‘हामीले राम्रोसँग सम्झाएर पठायौं अहिले उहाँका गुनासा कम भएका छन्,’ प्रमुख पौडेलले सुनाए ‘पत्रिकाका कटिङ राख्दै कारवाही होस् भन्दै पठाउँदै गर्नुहुन्थ्यो। चितवनको मान्छेले डोल्पा, डोटीका गुनासा गरेर कारवाही होस् भन्दै गुनासाको चाङ लाउने काम भयो।’
घर झगडादेखि सर्बोच्चको फैसलासम्म

हेलो सरकारमा आउने गुनासा तत्काल सम्बन्धित निकायलाई जानकारी गराएर कारवाहीको लागि पठाइन्छ। ‘नागरिकले राज्यबाट पाउनुपर्ने सेवा सुविधा नपाएका धेरै गुनासा हेलो सरकारमा आउँछन्,’ हेलो सरकार शाखा प्रमुख पौडेलले भने, ‘सर्वोच्च अदालतको फैसलामा चित्त नबुझेपछि वकिललाई निवेदन लेख्न लगाएर हेलो सरकारमा उजुरी दिन आएका घटना पनि छन्।’ उनले यसरी आउने गुनासालाई हेलो सरकारप्रतिको विश्वास बताए।

कतिपयले हेलो सरकारको फोन टाइमपास गर्ने माध्यम पनि बनाए। हैरान भएपछि कतिपय त्यस्ता फोन नम्बरलाई कालो सूचीमा राखेर फोन आउन बन्द (ब्लक) गरिएको छ।

घर झगडा र छिमेकीले साँध सीमा मिचेका गुनासा पनि हेलो सरकारसम्म आइपुग्छन्। ‘सरकारको बागडेर मेरो हातमा दिइयोस् म बनाउँछु देश, भन्नेदेखि फल्नालाई प्रधानमन्त्री बनाउन पहल होस् भन्ने सम्मका सुझाव पनि आउँछन्,’ पौडेलले सुनाए–‘ट्विटरमा आउने गुनासा र सुझाव त छिमल्नै नसकिने हुन्छन्।’

कुल २८ जनाको दरबन्दी रहेको हेलो सरकारमा एकजना उपसचिव, ६ जना अधिकृत, नासु र कम्यप्युटर अपरेटर ७ जना र १२ जना करार सेवाका कर्मचारी कार्यरत छन्।

२०७६ असार ९ गते ७:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर